मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौ वार्षिकोत्सव

नाम जुन नेताको राखेपनि काम जनताको गर्नुपर् छ : मुख्यमन्त्री लामा
साझाकुरा
२०८२ असार १५, आईतवार ११:०९

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संघीयतापछि स्वास्थ्यक्षेत्रमा उल्लेख्य सुधार आएको बताएका छन् ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार हेटौंडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले एकल अधिकारको रुपमा प्रदेश सरकारले स्वास्थ्यक्षेत्रमा काम गरिरहेको बताए । ‘प्रदेशको १३ वटा प्रादेशिक अस्पताल सुधारोन्मुख भएर अगाडि बढेको छ’ उनले भने । प्रतिष्ठानको कुलपति समेत रहेका मुख्यमन्त्री लामाले विगतमा संघ सरकारको मातहातमा रहेका अस्पताल अहिले डाक्टर, नर्स उत्पादन गर्ने थलोमा परिणत भएको बताए ।

‘हेटौंडा अस्पतालको ३ सय बेडको भवनबाट सेवा सुचारु गर्ने प्रक्रिया अन्तिमचरणमा रहेको छ’ मुख्यमन्त्री लामाले भने, ‘बाहिरी जिल्लाका बिरामीको पनि सहजै स्वास्थ्यसेवामा पहुँच पुग्नु गौरवको विषय हो ।’ राजनीतिक दलका नेताको नाम राख्दैमा अनावश्यक विवाद गर्न नहुने उनको भनाई छ । नाम जुनसुकै नेताको राखेपनि काम सबै जनताको गर्नुपर्ने मुख्यमन्त्री लामाले बताए । मुख्यमन्त्री लामाले प्रतिष्ठान र हेटौंडा अस्पतालको सम्बन्ध कुनै पनि द्विविधा नरहेको जिकिर गरे । विगतमा रहेका द्विविधालाई ऐन कानुनमार्फत हल गरिएको उनले बताए ।

मुख्यमन्त्री लामाले प्रतिष्ठानलाई आफ्नो गतिविधि अगाडि बढाउन प्रदेश सरकारले बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री लामाले प्रतिष्ठानबाट उत्पादन भएका जनशक्तिले प्रदेशको गौरव देशमै उँचो हुनेगरी काम गर्नुपर्नेमा जोड दिए । देशको दुर्गमक्षेत्रमा आफ्नो कला र कौशलता देखाउन उनले आग्रह गरेका छन् । मुख्यमन्त्री लामाले लोकतन्त्र र प्रजातन्त्र आएपछि डाक्टर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको बताए । देशको सबै क्षेत्रमा निजीक्षेत्रको सहभागिता प्रतिष्ठान, विश्वविद्यालय मार्फत डाक्टर, इन्जिनियर उत्पादन हुन थालेको उनको धारणा छ ।

सरकारी विद्यालयमा पढेका विद्यार्थीमात्र उच्चओहोदामा पुगेको उनको दाबी छ । मुख्यमन्त्री लामाले आफूले विगतमा डेढदुई घण्टा हिँडेर चकटीमा बसेर पढेको उदाहरण दिँदै वर्तमानमा गरिएको दुःख भविष्यको लागि मार्गदर्शक बन्ने बताए । जति धेरै अनुभव बटुल्यो त्यति नै कार्यक्षमतामा निखार आउने उनको बुझाई छ । मुख्यमन्त्री लामाले लोकसेवामा बागमती नतिजा कमजोर भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सुदुरपश्चिम प्रदेशको नतिजा उत्कृष्ट हुने तर, संघीय राजधानी समेत भएको बागमतीको नतिजा भने कमजोर भएको उनको भनाई छ ।

त्यसैगरी प्रतिष्ठानका संस्थापक कुलपति एवम् प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको मर्मलाई बुझ्न नसक्नेहरुले प्रतिष्ठान र हेटौंडा अस्पतालको बीचमा विवाद सिर्जना गरेको बताए । संघीयतापछि सम्पूर्ण जिल्ला अस्पताल प्रादेशिक अस्पतालमा रुपान्तरण भएको उनको धारणा छ । प्रथम मुख्यमन्त्री पौडेलले विगतमा प्रतिष्ठानले विभिन्न मुद्दामामिला झेल्दै अहिलेको अवस्थामा आइपुगेको बताए । ‘देशभरि नै प्रतिष्ठानको बारे नकारात्मक सन्देश जाँदा गतवर्ष नै पाउनुपर्ने एमबिबिएसको प्रोग्राम एकवर्ष ढिलो हुन गयो’ उनले भने ।

वर्तमान समस्या प्रतिष्ठान विवादमुक्त भएको बताउँदै उनले कसैले पनि प्रतिष्ठानको बारेमा द्विविधा नपाल्न आग्रह गरेका छन् । प्रतिष्ठानले एउटा गति लिइसकेको र त्यो अन्तिम गन्तव्यमा नपुगेसम्म नरोकिने उनको भनाई छ । १० वर्ष अगाडि ड्राइभर, खलासीको सहर भनेर चिनिने हेटौंडा अहिले शिक्षा र स्वास्थ्यको हब भएको उनले दाबी गरे । निकट भविष्यमै प्रतिष्ठानलाई मदन भण्डारी स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रुपान्तरण गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।

उनले प्रतिष्ठानमा विश्वास राखेर पढ्न आउने विद्यार्थीले मदन भण्डारीको इज्जत राख्नेगरी पढ्न र प्राध्यापकले पनि त्यसैगरी प्रध्यापन गराउनुपर्नेमा जोड दिए । हेटौंडामै विशिष्ट स्वास्थ्यसेवाहरु सञ्चालन गर्नुपर्छ भनेर आफ्नो नेतृत्वको सरकारले प्रतिष्ठानको अवधारणा ल्याएको उनले बताए । समारोहमा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रतिष्ठान, विश्वविद्यालयले प्रदेशको औचित्यलाई पुष्टि गर्ने गरेको बताए । प्रदेशको स्वास्थ्यमन्त्री किरण थापाको अनुपस्थितिमा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री महर्जनले प्रतिष्ठानलाई व्यवस्थित गर्न ऐन, कानुनलाई संशोधन गरिएको उल्लेख गरे ।

भुगोलको हिसाबले पनि हेटौंडा उपयुक्त ठाउँ भएकोले हेटौंडालाई मेडिकल सिटीको रुपमा अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । मन्त्री महर्जनले प्रतिष्ठानले नेपाली युवालाई मात्र नभई अन्य देशका युवालाई समेत आकर्षिक गरी विदेशीमुद्रा आर्जन गर्नसक्ने क्षमता राख्नुपर्ने बताएका छन् । कार्यक्रममा उपकुलपति प्रा.डा. प्रदीप ज्ञवालीले प्रतिष्ठानले गरेका गतिविधिबारे प्रस्तुतीकरण राखेको थिए । प्रतिष्ठानले यसबर्षदेखि ८ सिट प्राप्त गरी स्नातकोत्तर तहका विभिन्न ७ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको कुलपति प्रा.डा. ज्ञवालीले जानकारी दिएका छन् ।

एमडी र एमएसतर्फका नवआगुन्तक ८ जना विद्यार्थीलाई स्वागत गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, प्रतिष्ठानका संस्थापक उपकुलपति विश्वराज जोशी, हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, पूर्वनगरप्रमुख हरिबहादुर महतलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो । २०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानमा हाल ३ सय ६६ जना विद्यार्थी अध्ययनरत् छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*