एसईई नतिजाः हेटौंडामा ५८.१९ प्रतिशत ग्रेडेड, मनहरीमा एकतिहाई मात्र
हेटौंडा-माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा हेटौंडा उपमहानगरका ५८ दशमलब १९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सहभागी ३ हजार ३ सय ११ मध्ये २ हजार ४५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । एसईईमा हेटौंडाका ४ वटा संस्थागत विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् । हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका ९० जना, हेटौंडा–६ स्थित सुनगाभा इंग्लिस बोर्डिङ स्कूलका २१ जना, हेटौंडा–११ स्थित जेम्स स्कूलका १८ जना र हेटौंडा–१८ स्थित मकवानपुर बालविद्यासदनका १८ जनाले शतप्रतिशत नतीजा हासिल गर्न सफल भएका छन् ।
सामुदायिक विद्यालयतर्फ परीक्षामा सहभागी २ हजार १ सय १५ विद्यार्थीमध्ये १ हजार ६९ जना अर्थात् ५० दशमलब ५४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । संस्थागततर्फ १ हजार १ सय २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ९ सय ६९ जना अर्थात् ८६ दशमलब ३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । थाहा नगरका संस्थागत र सामुदायिक विद्यालयबाट एसईईमा ४४ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । नगरपालिकामा रहेका ६ वटा संस्थागत र ११ वटा सामुदायिक विद्यालयबाट ४ सय ९५ जना विद्यार्थीले परीक्षा दिएकोमा २ सय १७ जना उत्तीर्ण भएका हुन् ।
पालुङ मोर्डन इङ्लिस स्कूलका ४ जना विद्यार्थीले परीक्षा दिएकोमा सबै उत्तीर्ण भएका छन् । थाहा नगरकै सुन्दरीदेवी माविका साधारण धारतर्फबाट १९ जना विद्यार्थीले एसईई दिएकोमा सबै अनुत्तीर्ण भएका छन् । सुन्दरीदेवीबाट १७ जनाले प्राविधिक धारतर्फको परीक्षा दिएकोमा एकजनामात्र उत्तीर्ण भएका छन् । नगरका विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी गराएको बागेश्वरी माविबाट १५ जना विद्यार्थी ग्रेडेड भएका छन् । बागेश्वरी माविबाट ६९ जना विद्यार्थीले एसईई दिएका थिए ।
यसैगरी बागमती गाउँपालिकामा ४६ जना विद्यार्थी ग्रेडेड भएका छन् । पालिकामा ५ वटा विद्यालयबाट परीक्षामा सहभागी भएका २ सय ७७ जना विद्यार्थीमध्ये ४६ जना अर्थात् १६ दशमलब ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । गतवर्ष ३ सय ३९ जना विद्यार्थी एसईईमा सहभागी भएकामध्ये २७ जना मात्र उत्तीर्ण भएका थिए । गतवर्षको तुलनामा यसवर्ष नतिजा सामान्य सुधार भएको छ । राक्सिराङ गाउँपालिकामा ६ वटा विद्यालयबाट १२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । ६दमलब ४५ प्रतिशत विद्यार्थी
उत्तीर्ण हुँदा राक्सिराङका ६ मध्ये ३ वटा विद्यालयको नतीजा निल आएको छ ।
राक्सिराङ–४ स्थित कालिका मावि, राक्सिराङ–५ स्थित प्रजाजागृति मावि र राक्सिराङ–८ स्थित मावि देवीटारको नतीजा शून्य आएको हो । कालिका माविबाट १ जना, प्रजा जागृतिबाट २९ जना र मावि देवीटारबाट १७ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । अन्य तीन विद्यालयको नतीजा पनि सन्तोषजनक छैन । राक्सिराङ–३ स्थित सूर्योदय माविबाट ४० जना विद्यार्थी सहभागी हुँदा ५ जना (८ प्रतिशत), राक्सिराङ–६ स्थित राष्ट्रिय माविबाट ७१ जना विद्यार्थी सहभागी भएकोमा ३ जना (४.२२ प्रतिशत) र राक्सिराङ–९ स्थित कालिका माविका २८ जना विद्यार्थीमध्ये ४ जना (१४.२८ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । राक्सिराङ गाउँपालिकामा गतवर्ष २३ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका थिए ।
इन्द्रसरोवर गाउँपालिकामा ३८ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । पालिकाका ६ वटा विद्यालयबाट परीक्षामा सहभागी १ सय ५ जना विद्यार्थीमध्ये ३८ विद्यार्थी उत्तीर्ण भएका हुन् । गतवर्ष इन्द्रसरोवर गाउँपालिकाबाट ८४ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा १४ जना उत्तीर्ण भएका थिए । इन्द्रसरोवर गाउँपालिकामा यस वर्ष एसईईमा सहभागी सरस्वती बालबोधिनी माविका १२ मध्ये १०, पन्चकन्या माविका १८ मध्ये ३, वत्सलादेवी माविका १९ मध्ये ५, कालिका माविका ११ मध्ये ६, महाचुनी माविका २३ मध्ये ११ र कालीदेवी माविका २२ मध्ये ३ जना उत्तीर्ण भएका छन् ।
यसैगरी कैलाश गाउँपालिकामा ४५ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । पालिकामा ६ वटा विद्यालयबाट परीक्षामा सहभागी भएका १ सय ६१ विद्यार्थीमध्ये ४५ जना एवम् २७ दशमलब ९५ प्रतिशत विद्यार्थी उत्र्तीण भएका हुन् । गतवर्ष कैलाश गाउँपालिकाबाट १ सय ९९ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ११ जना (५.५२ प्रशित) उत्तीर्ण भएका थिए । कैलाश गाउँपालिकामा यसवर्ष एसईईमा सहभागी कालिका माविका ४५ मध्ये १३ जना, कमला माविका २८ मध्ये १२ जना, रत्नज्योति माविका १६ जनामध्ये ६ जना एसईईमा उत्तीर्ण भएका छन् । यस्तै भवानीका ४६ मध्ये ५ जना, धुवाङ माविका ९ जनामध्ये १ जना र व्यास माविमा ४७ मध्ये ८ जना उत्तीर्ण भएका छन् ।
मनहरी गाउँपालिकाबाट एकतिहाई विद्यार्थीमात्र उत्तीर्ण भएका छन् । गाउँपालिकामा ९ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयबाट एसईईमा सहभागी विद्यार्थीमध्ये ३३ दशमलव १ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण (ग्रेडेड) भएका हुन् । मनहरी गाउँपालिकाबाट परीक्षामा सहभागी भएका ४ सय २९ विद्यार्थीमध्ये एक सय ४२ जना उत्तीर्ण भएका छन् । गाउँपालिकाले सार्वजनिक गरेको विद्यालयको नतिजा विवरणअुनसार ३.६ देखि ४ जीपीएसम्म नतिजा ल्याउने विद्यार्थी ३ जना छन् । ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी २५ जना र जीपीए २.८ देखि ३.२ सम्म नतिजा ल्याउने विद्यार्थी ५० जना छन् । ५३ जना विद्यार्थीको नतिजा २.४ देखि २.८ जीपीए र ११ जना विद्यार्थीको नतिजा २ देखि २.४ जीपीएको बीचमा रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
मकवानपुरगढी गाउँ पालिकामा ४३ दशमलब ६६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । गाउँपालिकामा १० विद्यालयबाट एसईईमा सहभागी २ सय १३ जना विद्यार्थीमध्ये ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । गढीका १० वटा माध्यमिक विद्यालयमध्ये मकवानपुरगढी–५ स्थित शारदा माविको नतीजा शतप्रतिशत रहेको छ । शारदा माविबाट २५ जना विद्यार्थीले परीक्षा दिएकोमा सबै विद्यार्थी उत्तीर्ण भएका हुन् । बकैया गाउँपालिकाका १८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण (ग्रेडेड) भएका छन् । बकैयाका १२ वटा विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँदा २ वटा विद्यालयका एकजना विद्यार्थी पनि उत्तीर्ण भएनन् । बकैयाका १२ विद्यालयका ४ सय ११ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ७४ जना (१८ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
बकैया–२ स्थित कालिका मावि र बकैया–१० स्थित प्रसिद्ध माविका एकजना पनि विद्यार्थी उत्तीर्ण भएनन् । यसैगरी भीमफेदी गाउँपालिकामा २३ दशमलब ४ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका छन् । गाउँपालिकाको अनुसार एसईईमा सहभागी १ सय ९६ जना विद्यार्थीमध्ये ४६ जना मात्रै उत्तीर्ण भएका छन् ।







