सातवटै प्रदेशप्रमुखले राष्ट्रपतिलाई भेटे

हेटौंडा- सातवटै प्रदेशका प्रदेशप्रमुखले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । बुधवार राष्ट्रपति भवन शितलनिवासमा सातवटै प्रदेशका प्रदेशप्रमुखले शिष्टाचार भेट गरेका हुन् । कोशी प्रदेशप्रमुख परशुराम खापुङ, मधेश प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेशप्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेशप्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेशप्रमुख नजिर मियाँले राष्ट्रपति पौडेललाई भट गरेका हुन् । आफूले भोग्नुपरेका कठिनाई, कानुन नियममा रहेका अन्यौलताको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराईदिन राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेका थिए ।
त्यसैगरी राष्ट्रपति पौडेलले पछिल्ला आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका छन् । उनले लोकतन्त्रलाई सफल बनाउन प्रदेश सफल हुनुपर्ने धारणा राखेका छन् । ‘प्रदेशहरु सुदृढ भए यो व्यवस्था सुदृढ हुन्छ, संविधानको सम्पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाट संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ’, राष्ट्रपति पौडेलले भने ।
प्रदेशप्रमुखहरु प्रदेशको प्रमुखका साथै केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ताका रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले प्रदेश प्रमुखहरु संघीयताको सेतुकारुपमा रहेका उल्लेख गरे । ‘सोही कारणले राष्ट्रपति र प्रदेश प्रमुखबीच निरन्तर सम्पर्क, संवाद र समन्वय हुन जरुरी छ’, उनले भने । राष्ट्रपति पौडेलले प्रादेशिक कानुन निर्माण प्रक्रिया सम्पन्न गरेर शीघ्र कार्यान्वयनमा लैजाने गरी काम भइरहेको बताए । ‘प्रादेशिक कानुनमा जति छिटो लाग्छौं, त्यति सहज हुन्छ । परिवर्तनको लाभ जतिसक्दो चाँडो नागरिकको आँगनमा पु¥याउन सक्यो त्यति जनतामा व्यवस्थाप्रतिको भरोसा अभिवृद्धि हुन्छ, यसमा विलम्ब नगरी सरोकार भएका सबैलाई आफ्नो तर्फबाट झक्झकाउने काम गरौँ’, उनले भने ।
‘प्रदेशको संरचनाले मात्र राजनीतिक महत्व स्थापित हुँदैन, यसको चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउन जरुरी छ, चरित्रको परिवर्तन हुनु मुख्य विषय हो । राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोडौं, प्रदेश–प्रदेशबीच स्वस्थ्य प्रतिस्पर्धा गरौँ, साथसाथै अन्तरप्रदेश सहकार्य र समन्वयमा जोड दिऔँ, एकापसको सहकार्यले सबैलाई लाभ पुग्नेछ भन्ने मलाई लाग्छ’, राष्ट्रपति पौडेलले भने । उनले प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँनयाँ योजना बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता औँल्याए ।
नागरिकको सम्मान, स्वाभिमान र समृद्धि भएकाले यसमा प्रदेश प्रमुखले सम्पूर्ण प्रदेशलाई केन्द्रित गर्न झक्झकाउने काम गर्नुपर्ने उनको भनाइ छ । ‘मेरो जोड सुशासन, जनतामा प्रभावकारी सेवाप्रवाह र लोकतन्त्रको सुदृढीकरणमा केन्द्रित छ, जनस्तरमा लोकतन्त्रप्रति भरोसा जगाउन बौद्धिक वर्ग, नागरिकसमाजका अगुवालाई सम्पर्क तथा छलफल गरी सहकार्य र समन्वयबाट मार्ग निकाल्न पहल गर्नुपर्छ’, राष्ट्रपति पौडेलले भने ।विकास निर्माण, सुशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृतिलगायत क्षेत्रको विकास, विस्तारमा सुझाव दिने र यी क्षेत्रमा सम्पर्क तथा सम्बन्ध विस्तार गर्ने काममा लाग्न उनले प्रदेशप्रमुखलाई सुझाव दिए । राष्ट्रपति पौडेलले हामी सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेतर्फ लागौँ भन्ने आग्रह गरे ।