असार २८ गते ‘मकवानपुर कोरा–२०२५’ हुने

साझाकुरा
२०८२ असार २४, मंगलवार ११:१३

हेटौंडा-यही असार २८ गते शनिबार हेटौंडामा हुने धार्मिक साइक्लिङ यात्रा ‘मकवानपुर कोरा–२०२५’ को रुट आयोजक हिमालयन राइडर्स सोसाइटीले सार्वजनिक गरेको छ ।आयोजकका अनुसार यसपटकको यात्रा हेटौंडा–४ स्थित भुटनदेवी स्कुल प्रांगणबाट सुरु हुनेछ । त्यसपछि यात्रा शीतलमहल चोक, हुप्राचौर हुँदै पशुपति मन्दिर, ओम्याक्स हलरोड हुँदै थाहाचोकतर्फ अघि बढ्नेछ । रजतजयन्ती स्तम्भ हुँदै मेनरोडको बुद्धचोक, कान्तिराजपथ, चौघडा बजारमा मोही खानको लागि केहीबेर रोकिने कार्यक्रम तय भएको छ । साइकल यात्राले चुच्चेखोला, गैरीगाउँ, शिवम् सिमेन्ट, हटिया, चिसापानी हुँदै रंगशालालाई बायाँ पारेर नागसोतीतर्फ प्रस्थान गर्ने आयोजकले जनाएको छ ।

त्यहाँबाट कमानेमा पुनः मोही खानको लागि विराम लिइनेछ । त्यसपछि नमूनाचोक, बज्रगुरु मेडिकल हुँदै उत्तर ओरालो झरी शान्तिनगर, भैरवरोड,कान्तिराजपथ, बुद्धचोक हुँदै चौकीटोल ओरालो झरेर हिमालयन दरबार होटल पुगिनेछ ।त्यहीँ प्रमाणपत्र वितरण तथा खानाखाने कार्यक्रमका साथ ‘मकवानपुर कोरा– २०२५’ को समापन गरिने आयोजक संस्थाका अध्यक्ष राजु थापामगरले जनाएका छन् । हालसम्म कोरामा सहभागी हुनका लागि एकसय ५० जनाले फर्म भरिसकेका छन् ।

मकवानपुर कोरा–२०२५ मा सहभागी हुनका लागि बाराको निजगढ, सिमरा र रौतहटबाट सहभागी हुने भएका छन् । कोराका लागि हेटौंडा–४ वडा कार्यालयले सहयोग गरेको सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले जानकारी दिए । बुद्ध मेडिकलले साइकलयात्रीको स्वास्थ्यमा आउन सक्ने समस्यामा सहयोग गर्ने भएको छ । कोरामा सहभागी हुन सइकल सौन्दर्यका लेखक डा. तारालाल श्रेष्ठले पनि सहभागिता जनाउने भएका छन् । सहभागी साइकलयात्रीको दुर्घटना बीमा गरिएको सोसाइटीका अध्यक्ष थापामगरले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*