बागमती ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८२’ लागू
हेटौंडा- बागमती प्रदेश सरकारले ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८२’ लागू गरेको छ । प्रदेशमा मनसुन भित्रिसकेकाले मन्त्रालयले विपद्बाट उत्पन्न हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रतिकार्य कार्ययोजना लागू गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । गत असार ९ गते बसेको विपद् कार्यकारी परिषद् र विपद् व्यवस्थापन समितिको बैठकले कार्ययोजना पारित गरेको हो । गतवर्ष मनसुनजन्य विपद्बाट बागमती प्रदेशमा मानवीय र भौतिक क्षति उच्च देखिन्छ । जलवायु परिवर्तनको प्रभाव र अस्थिर भूधरातलीय संरचनाका कारण पहिरो, बाढी, डुबान, चट्याङ, र भारी वर्षाका घटना वृद्धि भएको मन्त्रालयको तथ्यांक छ ।
यसवर्ष मनसुनजन्य विपद्बाट बागमती प्रदेशमा ३ लाखभन्दा बढी नागरिक प्रभावित हुनसक्ने अनुमान गरिएको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयको मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार बागमती प्रदेश मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको निष्कर्षसहित ७४ हजार ९१४ घरपरिवारका ३ लाख २७ हजार ३ सय ७६ नागरिक प्रभावित हुने अनुमान गरिएको हो । विशेषगरी चितवन, दोलखा, सिन्धुपाल्चोक र काठमाडौं जिल्ला उच्च जोखिममा रहने आंकलन मन्त्रालयको छ । यसैगरी प्रदेशको रामेछाप, धादिङ, नुवाकोट र ललितपुर जस्ता जिल्लामा मध्यमस्तरको जोखिम रहेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार २०८१ को मनसुन अवधिमा ४३३ वटा विपद्का घटना भएका छन् । जसमा २७६ जनाले ज्यान गुमाएका छन् भने ४५ जना अझै बेपत्ता छन् । सबैभन्दा बढी क्षति पहिरोका कारण भएको मन्त्रालयको तथ्यांक छ । पहिरोका २४४ घटनामा २३१ जनाको मृत्यु भएको छ भने ४५ बेपत्ता छन् । घटनामा १६६ जना घाइते भएका छन् ।
पहिरोबाट ५ हजार ३२२ परिवार प्रभावित भएका छन् भने ५ हजार २१९ घरमा क्षति पुगेको छ । बाढीका ८७ घटनामा ३३ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता र ११८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । मनसुन अवधिमा भारी वर्षाले ६ जना घाइते हुनुको साथै २ हजार ६५५ परिवारलाई असर गरेको छ । चट्याङका कारण ५ जनाको मृत्यु र २९ परिवार प्रभावित भएका छन् । २०८१ को मनसुनजन्य विपद्बाट ३२ वटा पुल, ५२ वटा गोठ र ४४ हजार ५७७ वटा पशुचौपायामा क्षति पुगेको छ । मनसुनजन्य विपद्का कारण २०८१ असार २८ गते भरतपुर–२९ सिमलताल नजिकको खहरेको गेग्रान बहावमा परेर २ वटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए भने असोज १० देखि १२ सम्मको भारी वर्षासँगैको बाढी र पहिरोले प्रदेशका अधिकांश भाग प्रभावित भएको थियो । यो समयमा प्रदेशभरका ४६ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिएको थियो ।
मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका लागि मन्त्रालयलेयोजना तथा रणनीति निर्माण गरेर अघि बढेको जनाएको छ । मन्त्रालयका विपद् महाशाखा प्रमुख सुरेश खनालका अनुसार विपद् पूर्वतयारी र प्रतिकार्यका लागि मन्त्रालयले निर्माण गरेको कार्ययोजना अनुसार प्रभावकारी बनाउन सरकारी संरचनालाई तयारी अवस्थामा राखिएको छ । मनसुनजन्य विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले विभिन्न तहका संयन्त्र परिचालनमा गर्नेगरी योजना निर्माण गरेको उनले बताए । प्रदेश मनसुनजन्य विपद् व्यवस्थापन परिषद्ले नीति निर्धारण र सरोकारवालासँग समन्वयको जिम्मेवारी अनुसार काम गरिरहेको उनले बताए ।
विपद् व्यवस्थापन कार्यकारी समितिले राहत तथा उद्दार सामग्रीको व्यवस्थापन, भण्डारण, वितरण तथा अनुगमन गर्ने तथा विपद् कोष सञ्चालन समितिले आवश्यक बजेट व्यवस्थापन गर्ने र कोष परिचालन गर्ने गरी मन्त्रालयले काम गरेको उनको भनाइ छ । विपद् व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको उनले बताए । उनकाअनुसार खोज तथा उद्दारकार्यका लागि तालिम प्राप्त जनशक्ति, उपकरण र हेलिकप्टर लगायत साधन तयारी अवस्थामा रहेको छ । बाढी र पहिरोको जोखिमको विश्लेषण गरी प्रभावित क्षेत्रको पहिचान गरी सुरक्षा युनिटलाई खटाइएको उनले बताए ।
मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरुलाई मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पार्न निर्देशन गरिएको उनले बताए । आवश्यक राहत सामग्रीको तयारी, खोज तथा उद्दार टोली परिचालन, क्षतिग्रस्त क्षेत्रमा सूचनाको अद्यावधिक र जनशक्ति परिचालनलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।







