प्रदेशको ६४ स्थानमा १ सय २० सिसिक्यामेरा जडान
हेटौंडा- बागमती प्रदेशको १० जिल्लामा सिसिटिभी जडान भई सञ्चालनमा आएको छ । मंगलबार बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमको बीच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सिसिटिभी जडान तथा सञ्चालन कार्यक्रमको समुद्घाटन गरेका हुन् ।सार्वजनिक सुरक्षालाई सुदुढीकरण गर्न, निगरानी र अपराध रोकथामको प्रभावकारिताको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा १० जिल्लाको ६४ स्थानमा १ सय २० वटा क्यामरा जडान गरिएको हो ।
जडान गरिएको क्यामरालाई ३८ वटा प्रहरी युनिटबाट नियमित रुपमा निगरानी गर्ने गरी व्यवस्था मिलाइएको छ । अन्तरप्रादेशिक सीमाना तथा राष्ट्रिय राजमार्गका सम्वेदनशील ३ स्थान नारायणगढ (चितवन), भिमान (सिन्धुली) र रातमाटे (मकवानपुर) मा अत्याधुनिक प्रविधियुक्त एएनपिआर क्यामरा र राडारप्रणाली जडान गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठउपरीक्षक संजय थापाले जानकारी दिए ।
ट्राफिक व्यवस्थापन तथा अपराध नियन्त्रणमा ठोस योगदान दिने उनले विश्वास व्यक्त गरे । ‘प्रविधियुक्त सुरक्षा प्रणाली स्थापना गर्नु प्रदेश सरकारको दुरदृष्टि रहेको छ’ उनले भने, ‘सोही दुरदृष्टि अनुसारको यस पहलले वस्तुनिष्ठ तथा प्रमाणमुखी अपराध अनुसन्धान तथा सुरक्षा कार्यलाई थप सहज, गतिशील र प्रभावकारी बनाउन मद्दत मिल्नेछ ।’ सिसिटिभी निगारानी मापदण्ड अनुसार क्यामरामा कम्तिमा ९० दिनको डाटा भण्डारण क्षमताको व्यवस्था रहेको र विद्युत अवरोधको अवस्थामा पनि सिस्टम बन्द नहुने गरी पावर ब्याकअपको व्यवस्थागरिएको उनले बताए ।
क्यामरा जडानको लागि मन्त्रालयबाट २ करोड ९७ लाख रुपैयाँको स्वीकृति लिई नेक्सट् जेन आइटी सोलुसन प्रालिसँग २ करोड ८४ लाखमा जेठ १० गते सम्झौता गरिएको थियो । जडान गरिएका क्यामराको वारेन्टी २ वर्षको रहेको र यो अवधिमा कम्पनीले प्राविधिक मर्मत र सेवासमेत उपलब्ध गराउने छ । निकट भविष्यमा सिसिटिभी सम्बन्धी तालिम दिएर प्राविधिकको व्यवस्था गरिने उनले बताए । थापाका अनुसार यस योजनालाई दीर्घकालीनरुपमा भुकम्प, प्राकृतिक विपद्, राजनीतिक परिस्थितिको असहजता जस्ता सम्भावित जोखिम व्यवस्थापन सुनिश्चित गर्न बीमा समेत गरिएको छ ।
क्यामरा जडानबाट प्रदेशको शान्तिसुरक्षालाई सुव्यवस्थित गर्न सहयोग पुग्नेछः मन्त्री लामिछानेकार्यक्रममा मन्त्री लामिछानेले क्यामरा जडानबाट प्रदेशको शान्तिसुरक्षालाई सुव्यवस्थित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रहरी कार्यालयहरुको लागि नयाँ भवन बनाउन, भएका भवनको संरचना सुधार गर्न, थप क्यामरा जडानको लागि थप ३ करोडको बजेट विनियोजन गरिएको उनले जानकारी दिए । मन्त्री लामिछानेले प्रदेश सरकार स्थापनाको ७ वर्षसम्म पनि प्रहरी समायोजनको विषय पेचिलो बन्दै गएको बताएका छन् ।
त्यसैगरी कार्यक्रममा बागमती प्रदेश प्रहरीप्रमुख अरुण पौडेलले पछिल्लो समय प्रविधिको तीव्रतर विकासले सुरक्षामा ठुलो चुनौती थपिँदै गएको बताएका छन् । सुरक्षा उपकरणको प्रयोग गरी सुरक्षाको निगरानी गर्नुपर्ने आजको आवश्यक रहेको उनको भनाई छ । प्रहरीप्रमुख पौडेलले सीमित जनशक्तिबाट प्रहरी संगठनले काम गरिरहेकोले थप जनशक्तिको व्यवस्था गर्नुपर्ने बताए । प्रदेशमा अझै पनि २ सय ५० वटा सिसिटिभीको आवश्यकता रहेको बताउँदै उनले आगामी वर्षमा थप १ सयवटा क्यामरा जडान गरिने उल्लेख गरे ।
कार्यक्रममा मध्यपृतना हेडक्वाटर सुपारेटारका उपरथि हरेन्द्र पाठक, मन्त्रालयका सचिव कृष्णबहादुर शाही, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । प्रदेशको राजधानी हेटौंडामा पनि पर्याप्त सिसी क्यामेरा नहुँदा सुरक्षा चुनौती बढेको छ । जनघनत्व बढ्दो अवस्थामा हुनु र सवारीसाधनको चाप पनि उत्तिकै रहँदा पर्याप्त सिसी क्यामेराको अभावमा सुरक्षा चुनौती थपिएको हो । हेटौंडाको मुख्य सडकचोक र राजमार्गमा पर्याप्त सिसी क्यामेरा नहुँदा र भएका सिसी क्यामेरा पनि मर्मतसंभारको अभावमा बिग्रिएका कारण समस्या भएको छ । विभिन्न निकायबाट सिसी क्यामेरा मर्मत र नयाँ जडानको काम गर्ने प्रतिबद्धता आएपनि काम अघि बढ्न सकेको छैन ।







