सीडीओ र एसपीविरुद्ध आन्दोलन गर्दै हेटौंडाका जनप्रतिनिधि

सुरक्षाअवस्था इतिहासकै सबैभन्दा कमजोर : न्यौपाने
साझाकुरा
२०८२ श्रावण ५, आईतवार १०:०५

हेटौंडा- हेटौंडा उपमहानगरका जनप्रतिनिधिले मकवानपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरीप्रमुख विरुद्ध आन्दोलन गर्ने भएका छन् ।हेटौंडा उपमहानगरका प्रवक्ता एवम् १ नम्बर वडाअध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना वितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित हुने अवस्था सृजना भएको हो । उनीहरुले आइतबारबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरमा टेवल राखेर सेवाप्रवाह गरी आन्दोलनको सुरुवात गर्ने भएका हुन् । वडामा काम गरिरहेको अवस्थामा न्यौपाने माथि असार ४ गते दिउँसो करिब पौने ४ बजेको समयमा आक्रमण भएको थियो । घटना भएको एक महिनासम्म पनि प्रहरी–प्रशासनले कसैलाई पनि पक्राउ नगरेपछि जनप्रतिनिधि आन्दोलित हुने भएका हुन् ।

हेटौंडा उपमहानगरका वडाअध्यक्षहरुले दुईदिन जिल्ला प्रशासन कार्यालय परिसरभित्र टेवल राखेर सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने भएका हुन् । ‘वडा अध्यक्षमाथि आक्रमण भएको एक महिना भैसक्दा पनि आक्रमणकारीलाई पक्राउ गर्न नसक्नु मकवानपुरको प्रहरी प्रशासनको लाचारीपन हो’, हेटौंडा–१६ नम्बर वडाअध्यक्ष रामकृष्ण कोइरालाले भने, ‘जनप्रतिनिधि त सुरक्षित छैनन् भने यस्तो प्रहरी प्रशासनबाट जनताले के अपेक्षा राख्ने ?’ वडाअध्यक्षमाथि आक्रमणको घटना भएको एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न नसकेपछि जिल्लाको सुरक्षा अवस्था ज्यादै कमजोर भएको भन्दै विरोध भइरहेको छ ।

वडाअध्यक्ष न्यौपानेमाथि आक्रमण हुनुअघि हेटौंडा–१० राप्तीरोडमा रहेको दास ईम्पोरियम कपडा पसलका सञ्चालक विन्दल दासमाथि आक्रमण भएको थियो । यस विषयमा हेटौंडा उपमहानगरका मेयर, उपमेयरसहित वडा अध्यक्षहरु र जिल्लाका राजनीतिक दलले आक्रमण गर्नेलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने माग गरेका थिए ।प्रहरीले वडाअध्यक्ष न्यौपानेमाथि आक्रमण गर्नेको खोजीकार्य गर्न छोडेको आरोप लागेको छ ।

प्रहरीले आक्रमणकारी पक्राउ नगर्दा अन्य जनप्रतिनिधिले समेत खतरा महसुश गर्न थालेको प्रतिक्रिया दिएका छन् । हेटौंडा–१ का वडाअध्यक्ष न्यौपानेले मकवानपुरको सुरक्षाअवस्था इतिहासकै सवैभन्दा कमजोर रहेको बताएका छन् ।न्यौपानेले आफूमाथि आक्रमण गर्नेलाई प्रहरी–प्रशासनले कारबाहीको दायरामा ल्याउने विश्वास लिएपनि एक महिना बित्दा पनि कोही पक्राउ नपरेसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘जिल्लाका प्रहरी र प्रशासक निकम्मा देखियो । हामी जनप्रतिनिधिले एक महिनासम्म समय दिँदा पनि प्रहरी र प्रशासनले कुनै नतीजा दिएनन् । यस्तो अवस्थामा जनताले शान्तिसुरक्षाको अनुभूति गर्न सक्दैनन् । यो प्रहरी र प्रशासनको अकर्मण्यता हो’, उनले भने । ‘घटना भएको एक महिना भैसकेको छ ।

एकहप्ता भित्र आक्रमणकारीलाई कानूनी दायरामा ल्याउने वचन प्राप्त भएको थियो । मैले आजसम्म कुनै जवाफ पाएको छैन’, न्यौपानेले भने, ‘मकवानपुरमा जनप्रतिनिधिले त न्याय पाउँदैन भने जनताको अवस्था के होला ?’ हेटौंडा उपमहानगरपालिकाको कार्यालयसहित जिल्लाका राजनीतिक दलको साथ र सहयोग हुँदा पनि प्रहरी प्रशासनले नतिजा दिन नसक्नु दुःखद् भएको उनले बताए ।

आफूमाथि आक्रमण गर्नेहरु अब पक्राउ पर्ला र कानूनी कारबाहीको दायरामा आउला भन्ने विश्वास नभएको न्यौपानेको प्रतिक्रिया छ ।जिल्ला प्रहरीप्रमुख प्रहरीउपरीक्षक विश्वराज खड्का र प्रमु्ख जिल्ला अधिकारी स्किम श्रेष्ठले आफूहरुले काम गरिरहेको पटकपटक बताएपनि आफूलाई विश्वास लाग्न छाडेको वडाअध्यक्ष न्यौपानेले बताए । ‘काम गरेको भए सफलता हात परिहाल्थ्यो नि । कामै गरेको होइन रैछ भन्ने त प्रमाणित भएको छ ?’, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*