मकवानपुरका सिडियो र एसपीविरुद्ध जनप्रतिनिधि आन्दोलित

डेक्स राखेर प्रशासन परिसरबाटै सेवा
साझाकुरा
२०८२ श्रावण ६, सोमबार ११:४७

हेटौंडा- हेटौंडा उपमहानगरका जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) विरुद्ध आन्दोलन सुरु गरेका छन् । कार्यशैलीका कारण पटकपटक विवादमा आएकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी उपरीक्षक विश्वराज खड्काविरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् । हेटौंडा उपमहानगरका प्रवक्ता एवम् १ नम्बर वडाअध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना वितिसक्दा पनि आक्रमणकारीलाई पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् । शान्तिसुरक्षाको प्रत्याभूति नभएको भन्दै नगरउपप्रमुख राजेश बानियाँसहित १० वटा वडाका अध्यक्षहरुले दुई घण्टासम्म परिसरमै डेक्स राखेर सेवा प्रवाह गरेका छन् ।

वडा कार्यालयभन्दा जिल्ला प्रशासन कार्यालय बढी सुरक्षित लागेकाले प्रशासनबाट नै सेवा प्रवाह गरिएको उपमहानगरका प्रवक्ता न्यौपानेले बताए । ‘आक्रमण भएको एक महिना बितिसक्दा पनि प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्नुको सट्टा अन्य सोझासाझा जनतालाई दुःख दिने काम गरेको छ’ उनको आरोप छ । आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा समेत प्रहरीले पक्राउ नगरेकोमा न्यौपानेले दुःख व्यक्त गरे ।

हेटौंडा उपमहानगरको कार्यालयसहित जिल्लाका राजनीतिक दलको साथ र सहयोग हुँदा पनि प्रहरी प्रशासनले नतिजा दिन नसक्नु दुःखद् भएको उनले बताए । आफूमाथि आक्रमण गर्नेहरु अब पक्राउ पर्ला र कानूनी कारबाहीको दायरामा आउला भन्ने विश्वास नभएको न्यौपानेको प्रतिक्रिया छ । त्यसैगरी हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँले अपराधी पक्राउ गर्न प्रहरी र प्रशासनले तदारुकता नदेखाएका कारण आफूहरु बाध्य भएर आन्दोलनमा आउनुपरेको बताए । स्थानीय तह स्वयम् सरकार र जनताको सेवक भएपनि आन्दोलन गर्नु बाध्यता भएको उनको भनाइ छ ।

यस विषयमा गृहमन्त्रीसम्म जानकारी गराइसक्दा पनि आक्रमणकारी पक्राउ गर्न नसक्नुमा प्रशासन र प्रहरीकै मिलोमतोरहेको आशंका उब्जिएको उनले बताए । जबसम्म आन्दोलनकारी पक्राउ पर्दैनन्, तबसम्म आन्दोलनका कार्यक्रम जारी रहने उपप्रमुख बानियाँले बताएका छन् । धर्नास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख
विश्वराज खड्काले आक्रमणकारी पक्राउका लागि प्रहरीले वास्तै नगरेको भन्न नमिल्ने जिकिर गरेका छन् । अनुसन्धानमा प्रहरी प्रशासन निरन्तर खटिरहेको उनको दाबी छ ।

अनुसन्धानका क्रममा नेकपा विप्लव समूहका कार्यकर्ता रहेको पाइएकोले घटनासँग सम्बन्धित केही व्यक्तिहरु पक्राउ परेको उनले बताए । आम सर्वसाधारणदेखि जनप्रतिनिधिको सुरक्षा दिनु प्रहरीको नैतिक कर्तव्य रहेको बताउँदै उपमहानगरसँग निरन्तर समन्वयमा प्रहरीले अनुसन्धान गर्दै आइरहेको उनको भनाइ छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कँडेलले भने अनुसन्धानमा केही प्रगति देखिएपनि जुनरुपमा अनुसन्धान हुनुपर्ने हो, त्यो रुपमा हुन नसकेको स्वीकार गरेका छन् । घटना घटेको सुरुदेखि नै जिल्ला प्रशासनले दृश्य अदृश्यरुपमा अनुसन्धान कार्य अघि बढाइरहेको उनले बताए ।

घटनाप्रति शून्य सहनशीलता लिएको उल्लेख गर्दै जनप्रतिनिधिले आवश्यक ठानेमा जिल्ला प्रशासन कार्यालय सुरक्षाकर्मी खटाउन तयार रहेको उनले बताए । उपमहानगरका वडाअध्यक्षहरुले आइतबार र सोमबार जिल्ला प्रशासन कार्यालय परिसरबाट सेवाप्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने तयारी गरेका छन् । १९ वटा वडा रहेको हेटौंडा उपमहानगरका १० वटा वडाका जनप्रतिनिधि आन्दोलनमा सहभागी थिए । आन्दोलनमा एमालेबाट निर्वाचित वडाअध्यक्ष भने सहभागी भएका थिएनन् । आन्दोलनको कार्यक्रम तय गर्दा सामूहिक निर्णय नगरिएको भन्दै उनीहरु आन्दोलनमा उपस्थित नभएको बताइएको छ ।

वडा कार्यालयमा काम गरिरहेको अवस्थामा हेटौंडा उपमहानगरका प्रवक्ता एवम् १ नम्बर वडाका अध्यक्ष न्यौपानेमाथि गत असार ४ गते आक्रमण भएको थियो । यस आन्दोलनलाई नेपाली काँग्रेसले पनि समर्थन जनाएको छ । काँग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीले प्रमुख जिल्ला अधिकारीको कमजोरीकै कारण प्रहरीको क्षमता हुँदाहुँदै पनि आक्रमणकारीहरु अहिलेसम्म पक्राउ नपरेको आरोप लगाएका छन् ।

करिब एक महिना अगाडि हेटौंडाको मध्यबजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँदा र वडाअध्यक्षमाथि आक्रमण हुँदा पनि प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखविरुद्ध व्यवसायी आन्दोलित भएका थिए ।कार्यशैलीले पटकपटक विवादमा सिडिओआफ्नै गृहजिल्ला (माइती) रहेको मकवानपुरको प्रजिअ बनेर आएदेखि नै श्रेष्ठ आफ्नो कार्यशैलीका कारण विवादमा तानिएकी छन् । कमजोर समन्वयकारी भूमिका र रवाफिलो कार्यशैलीले उनलाई पटकपटक विवादमा तानेको छ । हेटौंडा अस्पतालविरुद्धको रचनात्मक आन्दोलनलाई दबाउन राज्यशक्तिको दुरुपयोग गर्दै धरपकडमा उत्रिएकी श्रेष्ठविरुद्ध सडकमै नाराबाजी लागेको थियो ।

सडकमै टायर बालेर विरोध भएको थियो । उनीविरुद्ध नेपाली कांग्रेसलगायतका दलहरुले प्रशासन बाहिर आन्दोलन नै गरेका थिए । पत्रकारलाई रोक्न उनले परिसरको गेटसम्मै फोटो र भिडियो खिच्न मनाही रहेको पोष्टर टाँस्न लगाएकी छन् ।पत्रकारलाई कार्यकक्षमै फोटो र भिडियो खिच्न रोक्दै अभद्र व्यवहार गरेपछि पत्रकार महासंघ मकवानपुरको बैठकले उनलाई क्षमायाचना गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*