मकवानपुरको निर्यात व्यापारमा थोरै सुधार

साझाकुरा
२०८२ श्रावण ७, मंगलवार १२:२४

हेटौंडा- मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०÷८१ को अनुपातमा गत आर्थिक वर्ष २०८१÷८२ मा निर्यातमा वृद्धि भएको हो । गत आर्थिक वर्षमा मकवानपुरबाट निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले गरी ४० करोड ४२ लाख ७९ हजार ९४३ रुपैयाँ बराबरको निर्यात गरेको उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा ३५ करोड ४५ लाख ७४ हजार छ सय रुपैयाँ बराबरको निर्यात भएको थियो । संघका अनुसार गत आवमा भएको निर्यात आव २०७८÷७९ मा भन्दा कम हो ।आर्थिक वर्ष २०७८÷७९ को तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको थियो । संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले निर्यातजन्य उद्योगलाई प्रोत्साहित गर्ने सरकारको नीतिको अभावमा निर्यात व्यापार अपेक्षा अनुसार नबढेको बताएका छन् । उनले लगानीमैत्री वातावरण बनाएर निर्यात व्यापार वृद्धि गर्न निर्यातजन्य उद्योगलाई सरकारले थप सुविधा दिनुपर्नेमा जोड दिए । आर्थिक वर्ष २०७९÷८० मा मकवानपुरका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले एक अर्ब १५ करोड २१ लाख ६० हजार ५६६ रुपैयाँ बराबरको निर्यातगरेका थिए ।

संघका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा यस जिल्लाबाट उद्योग र व्यावसायिक प्रतिष्ठानले गरी एक अर्ब ५५ करोड ५६ लाख ८० हजार १२९ रुपैयाँ बराबरको निर्यात गरेका थिए । गत आर्थिक वर्षमा मकवानपुरबाट थप दुई उद्योगले निर्यात गरेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा छ वटा उद्योगले निर्यात गरेमा गत आवमा आठ वटा उद्योगले आफ्नो उत्पादन निर्यात गरेका हुन् । बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड र सिद्धिश्री इन्डस्ट्रिज प्रालिले आफ्नो उत्पादन निर्यात गरेका हुन् । युनिलिभर नेपाल लिमिटेडले लामो समयको अन्तरालपछि आफ्नो उत्पादन भारत निकासी गरेको हो ।

बिर्को निर्यात गर्दै आएको प्याक्ट ग्रुप क्लोजर सिस्टम इन्टरनेसनल (नेपाल) प्रालिको यस जिल्लाबाट हुने निर्यातमा ठुलो हिस्सा रहेको छ । भारतसहित तेस्रो मुलुक फिजी र अस्ट्रेलियामा निर्यात गर्दै आएको उद्योगले गत आर्थिंक वर्ष ३२ करोड ५४ लाख एक हजार ७१५ रुपैयाँ बराबरको निकासी गरेको संघले जनाएको छ । प्याक्ट ग्रुप क्लोजरपछि नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि र इभान्स लाइफ साइन्सेस प्रालिको निर्यात व्यापारमा बढी योगदान रहेको छ । नेपाल इकरातले ट्रान्सफर्मर र इभान्स लाइफ साइन्सेसले लोठसल्लाको पाउडर निकासी गर्दै आएको छ ।

अघिल्लो आर्थिक वर्ष पफ भारत निर्यात गरेको खजुरीको नेपाल प्रालिले गत आर्थिक वर्ष निकासी गरेन । भारत, अस्ट्रेलिया, फिजी, बंगलादेश, भुटान र संयुक्त अरब इमिरेट्समा गत आवमा निकासी भएपनि सबैभन्दा बढी भारततर्फ निर्यात भएको संघको तथ्यांक छ । आर्थिक वर्ष २०७८÷७९ मा एक व्यापारिक प्रतिष्ठान र चारवटा उद्योगले भारत र तेस्रो मुलुकमा खाद्यपदार्थसहित औद्योगिक उत्पादन निर्यात गरेका थिए । संघले सिराहा जिल्लामा रहेको आफ्नो उत्पादन भारत निकासी गर्ने हिमालयन कत्था उद्योग प्रालिका लागि समेत उत्पत्तिको प्रमाणपत्र हेटौंडाबाट नै जारी गर्दै आएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*