निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेको छ–प्रदेशप्रमुख देवकोटा

साझाकुरा
२०८२ श्रावण ८, बुधबार ११:०४

हेटौंडा-राज्यको लगानीबिनै निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्नु प्रशंसनीय कार्य भएको बागमती प्रदेशका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले बताएका छन् । राज्यको लगानीबिनै निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्नु प्रशंसनीय कार्य भएको देवकोटाले बताए । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रमका प्रमुखअतिथि प्रदेशप्रमुख देवकोटाले शिक्षाप्रणालीमा निजी तथा सामुदायिक विद्यालयबीच भेदभाव गर्नु अनुचित भएको उल्लेख गरे । शिक्षाको मापन गुणस्तरीयताले गरिनुपर्नेमा देवकोटाको जोड थियो ।

प्रदेशप्रमुख देवकोटाले शिक्षा केवल परीक्षा पासगर्नु मात्र नभई जीवन बुझ्ने कला भएको बताए । विद्यार्थीको उपलब्धिमा गुरुजन, अभिभावक, विद्यालय प्रशासन र उनीहरुले झेलेका कठिनाइको पनि महत्वपूर्ण भूमिका रहेको उनले बताए । अभिभावकले दिने संस्कार, शिक्षकले दिने शिक्षा र विद्यार्थीको अथक परिश्रमको सन्तुलनबाट मात्र सफलता हासिल गर्न सकिने देवकोटाको भनाइ थियो । विद्यार्थीभित्रको क्षमताको पहिचान गर्न सके अभिभावकहरु खुशी हुने उनले बताए । परिवार, समाज र राष्ट्रले विद्यार्थीबाट धेरै अपेक्षा राखेको उल्लेख गर्दै सफलतालाई स्थायी बनाउन अबको बाटो अझ चुनौतीपूर्ण हुने धारणा उनले राखे ।

आजका विद्यार्थी भोलिका वैज्ञानिक, नीति निर्माता र समाजसुधारक बन्नसक्ने अपार सम्भावना बोकेका नागरिक रहेको बताउँदै अथक मेहनतले मात्र दीर्घकालीन सफलता सम्भव हुने उनको भनाई थियो । प्याबसन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्याबसनका केन्द्रीय उपाध्यक्ष आषिश श्रेष्ठ, प्रमुख सल्लाहकार मदन दाहालले संस्थागत विद्यालयलाई राज्यले बिभेद गरिरहेको बताए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ । कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, ४ जिपिए ल्याउने विद्यालय तथा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई सम्मान गरिएको हो ।

४ जिपिए ल्याएर सर्वोत्कृष्ट विद्यार्थीहरु अनुप्रस्था देवकोटा, अनुषा उप्रेती, विमर्श श्रेष्ठ, सचिनकुमार यादव र अस्मित घिमिरेलाई जनही नगद पाँच हजार सहित सम्मान गरिएको हो । त्यस्तै, ४ जिपिएका साथै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल बालजागृति इग्लिस सेकेन्डरी स्कुल, जिपिए ४ ल्याउने नवोदय शिशुसदन, सोलिडारिटी इग्लिस स्कुल र सामुदायिक विद्यालयतर्फ मकवानपुर जिल्लामा नै पहिलोपटक ४ जिपिए ल्याउन सफल बालज्योति मावि पिप्लेलाई सम्मान गरिएको थियो ।

बालज्योति माविबाट अस्मिता घिमिरेले ४ जिपिए ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक भरत अर्यालले जानकारी दिए । यसैगरी, मकवानपुर जिल्लाबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई पनि सम्मान गरिएको थियो । यसवर्षको एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ शारदा माध्यमिक विद्यालय र संस्थागत तर्फ बालजागृति, सुनगाभा शिक्षा निकेतन, मकवानपुर बालविद्यासदन र जेम्स मिडियम इग्लिस स्कुल रहेका छन् । उनीहरुलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष श्रेष्ठ तथा सहकोषाध्यक्षमा ग्रेस श्रेष्ठ निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरकी शाखाअधिकृत उन्नति ढकाल, प्याब्सन सल्लाहकार रघुनाथ खराल, वरिष्ठ पत्रकार प्रताप विष्ट, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरका अध्यक्ष रमिला सापकोटालगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*