हेटौंडा अस्पतालमा सेवाग्राही लामो लाइन बस्न बाध्य
हेटौंडा-गुणस्तरीय स्वास्थ्यसेवा सहजरुपमा पाउनु नागरिकको नैसर्गिक अधिकार भएपनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा सेवालिन आउने बिरामीले लामो समयसम्म कुर्नुपर्ने बाध्यता रहेको एक सर्वेक्षणले देखाएको छ ।साक्षी पोलिङ एण्ड एनालाइटिक्स नेपालले गरेको अध्ययनअनुसार हेटौंडा अस्पतालमा उपचारसेवा पाउनका लागि ४५ मिनेटभन्दा बढी समय लाग्ने गरेको बिरामीले बताएका छन् । सर्वेक्षणमा सहभागी ५६ दशमलव ८० प्रतिशत बिरामीले ४५ मिनेटभन्दा बढी समय पर्खनु परेको बताएका थिए । कतिपयले उपचारका लागि घण्टौंसम्म कुर्नुपर्ने अवस्था रहेको गुनासो गरेका थिए । यसले हेटौंडा अस्पतालप्रति आमनागरिकको विश्वास घट्दै गएको देखिएको छ । अस्पतालमा सबैभन्दा बढी बिरामी ओपीडीमा जाने गरेका छन् ।
त्यस्तै, हेटौंडा अस्पतालबाट प्राप्त हुने निःशुल्क औषधिको गुणस्तरमा पनि प्रश्न उठेको छ । ५१ प्रतिशत उत्तरदाताले औषधि गुणस्तरहीन भएको प्रतिक्रिया दिएका थिए । लामो समयदेखि बहसको विषय बनेको हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिएको विषयमा ४५ प्रतिशतले कुनै प्रतिक्रिया दिन चाहेनन् । बाँकीमध्ये २४ प्रतिशतले हेटौंडा अस्पताललाई प्रतिष्ठानमा समाहित गराउनुपर्ने राय दिए भने २९ दशमलव ३२ प्रतिशतले अस्पताल स्वतन्त्र हुनुपर्ने बताएका थिए ।
प्रतिष्ठानअन्तर्गत आएपछि हेटौंडा अस्पतालको सेवा गुणस्तरमा सुधार आएको ४७ दशमलव ६५ प्रतिशतले प्रतिक्रिया दिएका थिए । सर्वेक्षणमा सहभागीमध्ये ८० प्रतिशतले हेटौंडा अस्पतालको सेवामा सुधारको आवश्यकता औंल्याएका छन् । ७५ प्रतिशतले प्रशासन सुधारको आवश्यकता देखाएका छन् । हेटौंडाका ८२ प्रतिशतले हेटौंडा अस्पतालबाट सेवा लिने गरेका छन् भने १८ प्रतिशतले सेवाको गुणस्तर राम्रो नभएको र टाढा भएका कारणले अस्पताल नगएको बताएका छन् ।
सर्वैक्षण अनुसार, हेटौंडाका ६१ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध रहेका छन् । २०८२ जेठ २४ गतेदेखि असार ४ गतेसम्म हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका १ हजार ९३ जनामा स्थलगतरुपमा गरिएको सर्वेक्षणको नतिजा बिहीबार सार्वजनिक गरिएको हो । प्रतिष्ठानअन्तर्गत रहेको हेटौंडा अस्पतालको सेवा, सुविधा र एकीकरणको विषयलाई लिएर बिहीबार प्यानल छलफल गरिएको छ । साक्षी पोलिङ एण्ड एनालिटिस्कले गरेको प्यानल छलफलमा हेटौडा अस्पतालका नवजातशिशु तथा वालरोग विशेषज्ञ डाक्टर हरिबहादुर खड्का, सामाजिक अभियन्ता बिशालराज महत र औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठ प्यानलिष्टका रुपमा थिए ।
पत्रकार सुरेस श्रष्ठले कार्यक्रमको सहजिकरण गरेका थिए । छलफलमा डा. खड्काले हेटौंडा अस्पतालको स्तरउन्नतिसँगै सेवा सुविधामा उल्लेख्य प्रगति भएको दाबी गरे । अस्पतालको सकारात्मक छविलाई उजागर गर्न आवश्यक रहेकोमा उनको भनाइ थियो । डाक्टर कुट्ने अस्पतालको पहिचान बोकेको हेटौंडा अस्पताल अहिले बिरामीलाई सर्वसुलभ रुपमा विशेषज्ञ उपचारसेवा दिनसक्ने भएको डा. खड्काले बताए । २०६८÷६९ सालतिर डाक्टर सरुवा भएर आउनै नमान्ने अवस्थाको स्मरण गर्दै अहिले बिरामीले उपचारमा विश्वास गरको डा. खड्काले बताए ।
अस्पतालले २८ दिनसम्मका नवजातशिशुको उपचारमा निशुल्क सेवा, मुटुरोग उपचारसेवा, एमआरआई, डायलासिस सेवा लगायत सेवा प्रदान गरिरहेको उनले बताए । २०६८ सालसम्म दुईजना मात्र विशेषज्ञ चिकित्सक सेवा रहेकोमा हाल १० जना विशेषज्ञ चिकित्सक कार्यरत रहेको उनले जानकारी गराए । कोभिडको समयमा अन्य निजी स्वास्थ्य संस्थाले ढोका बन्द गर्दा हेटौंडा अस्पतालले निरन्तर सेवा दिएको तथ्यलाई बिर्सन नहुने डा. खड्काको भनाइ छ । अस्पतालमा एनआइसियु र पीआइसियुको सुविधा नहुँदा बिरामीहरु भरतपुर जान बाध्य रहेको बताउँदै हेटौंडा उपमहानगरपालिकासँगको सहयोगमा छिट्टै एनआइसियु सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए ।
सामाजिक अभियन्ता महतले बागमती प्रदेश सरकारले ऐन बनाएर प्रतिष्ठानमा गाभ्ने कार्यको दूरगामी असरबारे चिन्ता व्यक्त गरे । संविधानले दिएको निःशुल्क उपचारसेवाको सुविधा सरकारी अस्पतालले मात्रै दिनसक्ने भन्दै प्रतिष्ठानले दिन नसक्ने महतको जिकिर थियो । ऐनका केही बुँदाहरु शंकास्पद रहेको उल्लेख गर्दै उनले सरकारी सम्पत्ति व्यक्तिसरह किनबेच गर्न पाउने व्यवस्थाले भविष्यमा समस्या निम्त्याउन सक्ने चेतावनी दिए ।
औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्रेष्ठले राज्यले स्वास्थ्य बीमाका औषधि न्यूनदरमा टेण्डर गरेर बिक्री गर्दापनि सबै बिरामीले औषधि नपाउनु दुःखद भएको बताए । यसले बिरामीको उपचारमा कठिनाइ उत्पन्न भएको र स्वास्थ्य सेवामाथि नै प्रश्नचिन्ह खडा गरेको उनको भनाइ थियो ।







