बागमती कांग्रेस संसदीय दलको बैठक आज बस्ने

साझाकुरा
२०८२ श्रावण १४, मंगलवार ११:५२

हेटौँडा- सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बागमती प्रदेशको कांग्रेस संसदीय दलको बैठक बस्दै नबसी स्थगित भएको छ ।संसदीय दलका नेता एवम् मुख्यमन्त्री बहादुरसिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार आह्वान गरिएको संसदीय दलको बैठक मंगलबार बिहान १० बजे बस्ने गरी स्थगित भएको हो । मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि विवाद मिलाउन हेटौंडा आएका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी, मुख्यमन्त्री लामा र कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ सँगको संयुक्त छलफलपछि बैठक मंगलबारका लागि सारिएको हो ।

लामाविरुद्ध कांग्रेसका २१ जना संसदले अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरेका थिए । केही सांसद् हेटौंडा बाहिर रहेकाले मंगलबार विहानको लागि बैठक सार्न मुख्यमन्त्री लामाले आग्रह गरेका थिए । मंगलबारको बैठकमा अविश्वासको पक्ष र विपक्षको मतभार टुंगो लगाउने तयारी छ । सरकार गठन गर्दा १० महिनासम्म नेतृत्व गर्ने र १० महिना पूरा भएपछि लामाले बानियाँलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको दाबी गरिएको छ ।

इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेतामा पराजित गर्दा लामाले २१ मत पाएका थिए । त्यतिबेला बानियाँ १६ मतमा सीमित बने । मुख्यमन्त्रीको कार्यशैलीकै कारण अहिले परिस्थिति फेरिएको छ । अहिले बानियाँको पक्षमा २१ सांसद्ले हस्ताक्षर गरेका छन् । यो संख्यालाई मतदान प्रकृयासम्म टिकाई राख्न बानियाँलाई समेत चुनौतीछ । सत्ताको लोभमा ३ सांसद्ले क्याम्प परिवर्तन गरे भने १९ मतसहित लामा संसदीय दलको नेता कायम रहनेछन् । संसदीय दलको नेता परिवर्तन नभएसम्म लामालाई मुख्यमन्त्रीबाट हटाउन सहज छैन ।

कांग्रेस संसदीय दलको विधानअनुसार दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत सांसद्को हस्ताक्षर भए पुग्छ । आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ल्याएको बजेटमाथि पार्टीभित्रै असन्तुष्टि छ भने अन्य दलहरूले पनि विरोधगरेका छन् । असार १६ गतेदेखि २३ गतेसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि बागमतीको बजेटबारे कुरा उठेको थियो ।

अराजक शैलीमा बजेट ल्याइएको भन्दै केन्द्रीय सदस्यहरूले आलोचना गरेका थिए ।प्रदेशसभा विघटन जस्तो सुझाव एमाले दि“दैनः पौडेलमुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशसभा विघटन गर्न सक्ने आफूसँग विकल्प रहेको प्रतिक्रिया दिएपछि एमालेले ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री लामाले एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै प्रदेशसभा विघटन गर्ने आफूसँग विकल्प रहेको र सत्ता साझेदार दल नेकपा एमालेसहित सत्ता साझेदार दलहरूले पनि सोही अनुसारको सुझाव दिएको बताएपछि एमालेले आपत्ति जनाएको हो ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले प्रदेशसभा विघटन गर्ने जस्तो घातक सुझाव नेकपा एमालेले कहिल्यै नदिएको र नदिने जानकारी गराए । त्यस प्रकारको गलत समाचारको कडा प्रतिकारका साथ एमालेले खण्डन गर्ने सचेतक पौडेलले बताए ।‘एमाले संधै राजनीतिक स्थायीत्व र सुशासनका लागि संघर्षरत् पार्टी हो । हाम्रो दल सोही उदेश्यका लागि नेपाली कांग्रेससँग मिलेर वर्तमान संयुक्त सरकारमा सामेल भएको हो । तसर्थ त्यस प्रकारको गलत र प्रतिगामी सुझाव नेकपा (एमाले) ले नदिएको व्यहोरा जनसमक्ष जानकारी गराउँदै उक्त कपोलकल्पित र भ्रामक सन्देशको कडा प्रतिवादको साथ खण्डन गर्दछौं’, पौडेलले भने ।

उनले नेपाली कांग्रेससँगको सहकार्य निरन्तर जारी रहने पनि जनाए । ‘कांग्रेसबाट को मुख्यमन्त्री हुन्छ भन्ने हाम्रो सरोकारको विषय होइन । नेपाली कांग्रेसबाट जो मुख्यमन्त्री हुन्छ हामी तोकिएको समयसम्म सहयोग र समर्थन गर्छौं’, उनले भने, ‘तर, एमालेले प्रदेशसभा विघटन गर्ने घातक सुझाव कहिल्यै दिन सक्दैन र दिँदैनौं पनि ।’ बागमती प्रदेशमा कांग्रेस र एमालेको गठबन्धनको सरकार छ । सरकारमा कांग्रेसले मुख्यमन्त्रीसहित आठ मन्त्रालयको नेतृत्व गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*