मुख्यमन्त्री लामाले गुमाए संसदीय दलको नेताको हैसियत

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् । अविश्वासको प्रस्ताव परेपछि मंगलबार भएको संसदीय दलको मत विभाजनमा प्रस्तावको पक्षमा बढी मत परेपछि लामा दलको नेताको हैसियत गुमाउन पुगेका हुन् ।अविश्वासको प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको कांग्रेस संसदीय दलका सचिव कृष्ण तामाङले जानकारी दिए । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा १८ को उपधारा २ बमोजिम अविश्वासको प्रस्ताव बहुमतले पारित भएको हो ।
अविश्वासको पक्षमा ईन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तमाङ, छिरि· दोर्जे लामा, मीना पराजुली, याड्ढिला शेर्पा, मीनकृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का, कृष्ण बहादुर तामाङले मतदान गरेका थिए ।
त्यसैगरी, अविश्वासको विपक्षमा बहादुरसिंह लामा तामाङ, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन, गीता गुरूङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल, समिता खड्गीले मतदान गरेका छन् ।अविश्वासको प्रस्ताव दर्ता गर्ने २१ मा मंगलबार थप एक जना थपिएका हुन् । श्यामबहादुर खड्काले मंगलबार मन्त्री पदबाट राजीनामा दिएर लामाको विपक्षमा देखिएका हुन् । लामाले संसदीय दलमा विश्वासको मत गुमाउँदा केन्द्रको छायाँसमेत देखिएको छ । केन्द्रीय नेता अनुसार सांसद्हरू विभाजित भएका छन् ।
महामन्त्री गगन थापा पक्षधरले लामालाई संसदीय दलबाट हटाउने पक्षमा देखिएका छन् । महामन्त्री गगन थापा निकट चिनिएका पुकार महर्जन, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ र श्रीराम लामिछाने संसदीय दलबाट लामा हटाउने पक्षमा देखिएका छन् । डा. शेखर कोइराला पक्षका रमेश महत र उत्तम जोशी अविश्वासको प्रस्तावको विपक्षमा देखिए ।
सभापति शेरबहादुर देउवातिरका सांसद् दुवैतिर विभाजित छन् । नेता प्रकाशमान सिंह पक्षका सांसद् पनि दुईतिर देखिएका छन् । सिंहनिकट प्रदेश सांसद् कञ्चनचन्द्र वादे र दीपेन्द्र श्रेष्ठ संसदीय दलका नेता लामालाई हटाउन साथ दिए भने त्यही पक्षकी सांसद् हरिप्रभा खड्गी अविश्वासको प्रस्तावको विपक्षमा देखिइन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत पक्षनिकट श्यामबहादुर खड्का अविश्वासको प्रस्तावको पक्षमा उभिएका छन् ।
मुख्यमन्त्री पद नछाड्ने लामाको अडान
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू संसदीय दलको नेताबाट हटेको भएपनि मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन् ।आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा फेल भएका लामाले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने र नदिने जिकिर गरेका हुन् । ‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नै छैन । सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो’, मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन । हटाउनुपर्ने पनि होइन । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन ।’
उनले आफूमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको पनि बताए । सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जालहरू रचिएको उनको भनाइ थियो ।‘मत विभाजन भयो । यो प्रक्रिया हो । प्रक्रियामा गएको हो । प्रक्रियामा जाँदा अविश्वासका प्रस्ताव लगाउँदा आरोप लगाइयो । जुन प्रपञ्च लगाइएको छ, नेपाली कांग्रेसलाई प्रपञ्च बनाइएको रहेछ । मैले त्यस्तो हेरेको थिइनँ’, लामाले भने, ‘सबैलाई मिलाएर जाऔं भन्दा विभिन्न किसिमका जालहरू रचिएको रहेछ । मलाई थाहा थिएन । मेरै मन्त्रीहरू पनि जालोभित्र रहेछ । कसैको प्रेसर पनि रहेछ । नेताहरू यसरी लाग्नु भनेको राम्रो पनि होइन । लोकतान्त्रिक विधिमा जानुपर्छ भन्ने हो । लोकतान्त्रिक विधि अनुसार प्रक्रिया सुरु हुन्छ ।’ आफू हिजोसम्म संसदीय दलको नेता भएपनि आजबाट नरहेको उनले बताए ।
‘मुख्यमन्त्री त फेर्नै सक्दैन । दलको नेता भएर हो । कोलेसन गभर्मेन्ट (गठबन्धन सरकार) हो । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन,’ उनले भने । उनले आफूले राजीनामा गर्नुपर्ने कुनै अवस्था नरहेको पनि बताए । ‘संविधानमा एउटा पूर्ण बहुमत भएको सरकारमा नेपाली कांग्रेस पूर्ण भयो भने संसदीय दलको नेता आवश्यक पर्छ । कोलेसन गभर्मेन्टमा कोलेसन भयो भने बहुमत पुग्छ’, लामाको तर्क छ ।यता, कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री लामाले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका छन् । मुख्यमन्त्री लामाले दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु तत्काल गर्न नमिल्ने सभापति बानियाँको भनाइ छ । कांग्रेस संसदीय दलका २१ सांसद्को हस्ताक्षरसहित शुक्रबार संसदीय दलमा लामाबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।