क्षतिग्रस्त माण्डु हाइड्रोपावरको विद्युत् उत्पादन सुरु
हेटौंडा-गत असोज ११ र १२ गतेको अविरल वर्षाले बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको माण्डु हाइड्रोपावर कम्पनीले पुनः विद्युत् उत्पादन सुरु गरेको छ । पुनर्निर्माणको कार्य सकेर माण्डु हाइड्रोपावरले मंगलवारदेखि पुनः विद्युत् उत्पादन सुरु गरेको हो । पहिलो चरणमा क्षमताको ५० प्रतिशत मात्र विद्युत् उत्पादन गरिएको छ । माण्डु हाइड्रोपावरको विद्युत् उत्पादन क्षमता २२ मेगावाट रहेका छ । ‘पुनर्निर्माणकार्य सकेर पहिलोचरणमा ११ मेगावाट विद्युत् उत्पादन गरिरहेका छौं,’ माण्डु हाइड्रोपावरका वरिष्ठ प्राविधिक मनोज सिंहले भने, ‘अब छिट्टै पूर्णक्षमताका साथ विद्युत् उत्पादन गर्नेछौं, केही प्राविधिक समस्या भएकाले क्षमताको ५० प्रतिशत मात्र विद्युत् उत्पादन गरेका हौं ।’
बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको हाइड्रोपावरको पुनर्निर्माणकार्य गत मंसिर महिनादेखि सुरु गरिएको थियो । नेपाली प्राविधिक र कामदारहरु सम्मिलित टोलीले हाइड्रोपावरको प्राविधिक एवम् भौतिक कार्यहरु गरेका थिए । पुनर्निर्माण कार्यमा नेपाली प्राविधिक र कामदार गरेर सरदर दैनिक ६० जना भन्दा बढी खटिएका थिए । मकवानपुरस्थित भीमफेदी गाउँपालिका–८, बागमती दोभानमा उत्पादनगृह राखेर विद्युत् उत्पादन गर्दै आएको माण्डु हाइड्रोपावरको बागमती खोलाको बाढी र पहिरोले हेडवक्र्स, पावर हाउस, पेनस्टक पाइप, विद्युत प्रसारणको टावर क्षतिग्रस्त बनाएको थियो ।
आयोजनाको हेडवक्र्स तर्फ फ्लड वाल, इन्टेक वेयर, ग्राभल ट्रयाप, खोल्सी क्रसिङ, अप्रोच क्यानल, डिस्याण्डर, हेडपोण्ड वक्स, कलभर्टका सिभिल संरचना साथै सम्पूर्ण गेट तथा होस्ट, ट्रेस ¥याक, ट्रेस ¥याक सफा गर्ने मेशिनलगायत टनेलभित्र लेदो, ढुंगा, बालुवा, गिट्टीसहित पसेको र पावर हाउसतर्फ स्वीच याड पावर हाउस तथा पावर हाउसका सम्पूर्ण उपकरणहरु पूर्णरुपमा क्षति भएको थियो । यस्तै, पेनस्टक पाइप, वाइफर्केशन, कर्मचारी आवास, स्टोर भवन, पानी तान्ने पम्पहरु, ६६ केभी प्रसारण लाइनको १ नं.टावर, तार, जेनेरेटर, ११ केभीको प्रसारण लाइन, ट्रान्सफर्मर, तारका साथै एक थान मोटरसाइकल, आयोजनामा जाने पहुँच मार्गलगायत पावर हाउसमा भएका सम्पूर्ण उपकरण पूर्णरुपमा क्षति भई विद्युत् उत्पादन अवरुद्ध भएको थियो ।
२०७५ सालदेखि २२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको माण्डु हाइड्रोपावरलाई बागमतीको बाढीले करिब १ अर्बभन्दा बढी क्षति पु¥याएको प्रमुख सञ्चालक अधिकृत सुन्दर श्रेष्ठले बताए । ‘बागमतीमा आएको बाढीले हाइड्रोपावरलाई कल्पनै नगरेको क्षति पु¥यायो, त्यसको मर्मतसम्भार कार्य गरेर पुनः विद्युत् उत्पादन सुरु गरेका छौं,’ उनले भने ।सिस्नेरी बजारदेखि आयोजनास्थल पुग्ने सडक नै बाढीले क्षतविक्षत बनाएको थियो ।
माण्डु हाइड्रोले सडकको मर्मतसम्भार गरेर आयोजनास्थलसम्म पुग्ने बाटो खोलेर गत मंसिरको पहिलो सातादेखि पुनर्निर्माणको कार्य सुरु गरेको थियो । बागमती नदीमा आएको बाढीले ६०० मिटर पेनस्टकमध्ये १०० मिटर पेनस्टक पाइप क्षतिग्रस्त बनाएको थियो । २ हजार ४२४ मिटर लामो मुख्य सुरुङमा वालुवा र लेदो पसेर क्षति पु¥याएको थियो । काठमाडौंबाट फोहोर बटुल्दै बग्ने बागमती खोलाको पानीबाट मकवानपुरको भीमफेदी गाउँपालिका–८, इपा पञ्चकन्याको वगरबेसीस्थित विद्युत्गृहबाट विद्युत् उत्पादन हुँदै आएको थियो ।







