मन्त्री देवकोटाद्वारा सीमखोला बेलिब्रिजको अवलोकन
हेटौंडा- बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले सीमखोला बेलिब्रिजको स्थलगत अनुगमन गरेका छन् ।इन्द्रसरोवर गाउँपालिका–२, सीमखोलामा हेटौंडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत निर्माणाधीन बेलिब्रिजको काम अन्तिमचरणमा पुगेको उनले बताए । अबको केही दिनभित्र सवारीसाधन आवतजावत यसै पुलमार्फत् सञ्चालनमा ल्याइने उनले बताए । बिहीबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.देवकोटा सहित नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक इन्जिनियर नवीनकुमार सिंह सहितको टोलीले निर्माणस्थलमै पुगेर पुलको प्रगतिको स्थिति अवलोकन गरेका थिए । निरीक्षणपछि निर्माणपक्षसँग छलफल गर्दै बाँकी कार्य शीघ्र सम्पन्न गरी समयमै सञ्चालनमा ल्याउन मन्त्री डा. देवकोटाले निर्देशन दिएका छन् ।
‘पुलको सामान्य फिनिसिङको काम बाँकी रहेको छ । रङरोगन र नालाको व्यवस्थापनको काम सकेर चलाउने तयारी हो’ उनले भने, ‘हामीले डाइभर्सनबाट हिंड्नुपर्ने बाध्यता हटाइसकेका छौं । थप सहजता दिलाउने विषयमा केही काम गर्ने तयारी छ । भारवहन क्षमता समेत नाप जाँच गरेर यात्रा सहज बनाउने गरी काम गर्न निर्देशन गरेको छु ।’
हेटौंडा काठमाडौं जोड्ने सडकलाई वर्षाको समयमा पनि निरन्तर चलाउन मिल्ने गरी बनाउने विषयमा निर्देशन दिएको मन्त्री डा. देवकोटाले बताए । छोटो समयमा सडकमा धेरै काम भएको र त्यसको दीर्घकालीन व्यवस्थापनको विषयमा काम गर्नुपर्ने अबको अवस्था रहेको उनले बताए । केही स्थानमा पहिरोका कारण समस्या रहेकाले त्यसको नयाँ प्रविधिबाट व्यवस्थापन गर्न छलफल गरी तयारी गर्न निर्देशन दिएको उनले बताए । उनका अनुसार विशेषगरी वर्षायाम सुरु भएकाले विपद् व्यवस्थापनको पूर्वतयारी, सडक सञ्चालन, मेसिनरीऔजारको व्यवस्थापनमा लाग्न निर्देशन गरिएको उनले बताए ।
गत असोजको वर्षाका कारण कुलेखानी जलाशय मुनी रहेको सीमखोला पुलको दायाँबायाँ (पहुँचमार्ग) नै बगाएको थियो । भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फलो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सीमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । अहिले खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको छ । सीमखोलामा बेलिब्रिज हाल्नका लागि भैंसे–भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर लामो र मान्डुखोलामा रहेको ५० मिटर लामो बेलिब्रिज झिकेर लगिएको थियो । सीमखोलामा ६४ मिटर लामो बेलिब्रिज हाल्ने काम भएको निर्देशक सिंहले बताए । उनका अनुसार बेलिब्रिज राख्न, पक्की पहुँच मार्ग बनाउन र पुल वरिपरिको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियर्स प्रालिले एक करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता
गरेको थियो ।







