द्रुतमार्गको भौतिक प्रगति ४२ प्रतिशत : लागत बढेर दुई खर्ब १२ अर्ब रुपैयाँ पुग्यो
हेटौंडा-राष्ट्रिय गौरवको आयोजना काठमाडौँ– तराई÷मधेश द्रुतमार्गको भौतिक प्रगति ४२ प्रतिशत रहेको छ ।वि.सं २०८३ भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको द्रुतमार्ग आयोजनाको भौतिक प्रगति २०८२ असार मसान्तसम्म ४२ दशमलब १३ प्रतिशत पुगेको छ । नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांक अनुसार द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसन सहित वित्तीय प्रगति भने ४४ प्रतिशत भएको छ । द्रुतमार्गको लागि हालसम्म ८० अर्ब ५४ करोड रुपैयाँ खर्च भइसकेको नेपाली सेनाका सूचनाअधिकारी तथा सहायकरथी राजाराम बस्नेतले जानकारी दिएका छन् । सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि द्रुतमार्गको अहिले लागत बढेर दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
जम्मा १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका साथै द्रुतमार्गको सुरुविन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय हुन बाँकी रहेकाले खरिद प्रक्रिया सुरु हुनै बाँकी रहेको नेपाली सेनाले जनाएको छ । यो खण्डमा पर्ने जग्गाको मुआब्जा वितरणका लागि सम्बन्धित जग्गाधनीसँग समन्वय भइरहेको छ । साथै जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानका लागि सम्भावित विकल्पको डिजाइन कार्य अगाडि बढिरहेको नेपाली सेनाका सूचनाअधिकारी बस्नेतले जानकारी दिए ।
हालसम्म स्वीकृत डिपीआर अनुसार खोकना–डुकुछाप क्षेत्रमा मूल्यनिर्धारण भई अधिग्रहण हुन बाँकी जग्गा १६०–०–२–१.६७ तथा मूल्यनिर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी रहेको छ । द्रुतमार्गको सुरुविन्दु यकिन तथा अन्य डिजाइन परिमार्जन बमोजिम अधिग्रहण गर्न बाँकी जग्गाको परिमाणमा परिमार्जन हुनसक्ने देखिएको नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । आयोजना अन्तर्गतका सातवटा सुरुङमार्गको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको छ ।
सुरुङमार्गको प्याकेज नं. १ अन्तर्गत महादेवटार सुरुङको जम्मा लम्बाई तीन किलोमिटर ३५५ मिटरमध्ये हालसम्म तीन किमि ३२२ मिटर दायाँ टनेलको दुई किमि २९ मिटर अर्थात् ६१ प्रतिशत खन्ने कार्य सम्पन्न भएको छ भने तीन किमि ३८६ मिटरको बायाँ टनेलको दुई किमि २८६ मिटर अर्थात् ६८ प्रतिशत खन्ने कार्य सम्पन्न भइसकेको जनाएको छ । त्यस्तै प्याकेज नं. २ अन्तर्गत एक किमि ६९० मिटर लम्बाइ रहेको धेद्रे सुरुङमार्ग र प्याकेज नं. ३ अन्तर्गत एक किमि ६२२ मिटर लम्बाइ रहेको लेनडाँडा सुरुङ भने ब्रेकथ्रु भइसकेको छ ।
दुई किमि २५० मिटर लम्बाइ रहेको चन्द्रामभीर सुरुङको ९९ मिटर निर्माण प्रगति भएको छ । सूचना अधिकारी बस्नेतका अनुसार ५८३ मिटर लम्बाइ रहेको मौरीभीर सुरुङ, एक किमि मिटर लम्बाइरहेको देवीचौर सुरुङ र ३९० मिटर लम्बाइ रहेको सिसौटार सुरुङको पोटल निर्माणको कार्य भइरहेको छ । आयोजनाअन्तर्गत जम्मा ८९ स्थानमा रहेका पुलमध्ये ८५ स्थानका पुल निर्माणको चरणमा रहेका छन् । निर्माणाधीन अधिकांश पुलको फाउन्डेसन कार्य सम्पन्न भई सुपरस्ट्रक्चरको कार्य भइरहेको छ ।
५१ स्थानका पुलको फाउन्डेसन निर्माण सम्पन्न भएको छ । २६ स्थानका पुलको संरचना तथा छ स्थानका पुलको माथिको भागको संरचनासम्मको कार्य सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । ९.३ किलोमिटर सडकको सब–बेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडकको कालोपत्रे कार्य सम्पन्न भएको छ । द्रुतमार्गको निजगढ क्षेत्रमा जनावरका लागि अन्डर पासको सबस्ट्रक्चरको कार्य सम्पन्न भएको छ । त्यस्तै द्रुतमार्गको २४.८ किलोमिटरदेखि ७०.९७ किलोमिटरसम्ममा पर्ने जग्गाको अधिग्रहण सम्पन्न भई निर्माण भइरहेको छ ।
निर्माणका क्रममा रेखांकन अनुकूलन तथा परिमार्जित डिजाइनबमोजिम पूर्वनिर्धारित मार्गाधिकारभन्दा बाहिरको थप जग्गा अधिग्रहण तथा रुख कटानका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति गर्ने गरिएको छ । द्रुतमार्गको ३५ किलोमिटरदेखि ४९ किलोमिटरसम्म पर्ने रानीसेरा तथा बुदुनेखण्डको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन २०८१ वैशाख ७ गतेको वन तथा वातावरण मन्त्रालय मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको थियो । प्रस्थानविन्दु खोकना र अन्तिमविन्दु निजगढ रहेको काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७० किमि ९७७ मिटर रहेको छ । विसं २०७४ मा चारवर्षभित्र काम सक्ने गरी सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।







