विश्वासको मत लिनुअघि सहमति हुने दाबी

बागमतीमा कांग्रेसभित्र देखिएको विवाद कायमै
साझाकुरा
२०८२ श्रावण २८, मंगलवार ११:३७

हेटौंडा- बागमती प्रदेशसभामा नेपाली कांग्रेसभित्र देखिएको विवाद अझै समाधान हुन सकेको छैन ।मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामापक्षबीचमा देखिएको तिक्तता अन्त्य गरी सहमति जुटाउने प्रयास भइरहेको नेताहरुले जानकारीगराएका छन् ।पूर्वमुख्यमन्त्री लामाले सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पक्षको विचार राखिसकेका छन् । लामासँगै सभापति देउवालाई भेटेका नेताहरुका अनुुसार मिलेर अघि बढ्न देउवाले निर्देशन दिएका थिए । साउन २७ गते आज मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुअघि नै दुईपक्षमा सहमति जुट्ने प्रदेश सांसदहरुले जानकारी गराएका छन् । पार्टीभित्रको आन्तरिक विषय भएको उल्लेख गर्दै प्रदेश सांसद हरिप्रभा खड्गीले भनिन्, ‘नेताहरुसँग छलफल भइरहेको छ । सायद मिल्छ होला । नमिलिकन त भएन नि ।’

पूर्वमुख्यमन्त्री लामाले नियुक्त गरेका तीन जनालाई मन्त्री बनाउने विषयले दुई पक्षमा तिक्तता उत्पन्न भएको थियो । लामा पक्षधरले उनले नियुक्त गरेर सपथ हुन नपाएका तीन सांसदलाई नवगठित मन्त्रिपरिषदमा सहभागी गराउनुपर्ने विषयलाई मूल माग बनाएको छ । धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेको भएपनि सपथग्रहणरोकिएको थियो । पूर्वमुख्यमन्त्री लामाले लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए । सरकार सञ्चालनमा आपसी सरसल्लाह अनुसार अघि बढ्नुपर्ने सुनिश्चिता मुख्यमन्त्री बानियाँसँग पूर्वमुख्यमन्त्री लामा पक्षले खोजेको छ ।

असन्तुष्ट पक्षले आफ्ना माग सम्बोधन नभए मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने र सामूहिक राजीनामा दिने चेतावनी दिएको थियो । लामाले मन्त्री नियुक्त गरेर सपथ लिन नपाएका सांसद गोविन्द लम्सालले आफ्नो समूहका १३ जनाले समूहको नेतृत्वकर्ता लामालाई राजीनामा बुझाएको दाबी गरे । मन्त्री बनिसकेकालाई सपथ गराऔं भनिएको तर, राजीनामा नै गर्ने चेतावनी नदिइएको प्रदेश सांसद खड्गीले भनिन् ‘राजीनामा दिने कुरा केही आएको छैन । त्यस्तो कुरा केही भएको छैन । कुरा मिलेन भने विश्वासको मत दिनलाई सोच्नुपर्छ कि भन्ने कुरा मात्र हो ।’ प्रदेशसभामा कांग्रेसका ३७ सांसदमा लामा पक्षका १४ जना छन् ।

सत्ता साझेदार कांग्रेस र एमाले दुबै दलले मुख्यमन्त्री बानियाँलाई मंगलबार विश्वासको मत दिन ह्वीप जारी गरिसकेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले मुख्यमन्त्री बानियाँले पार्टी सभापति देउबाले भनेको खण्डमा बहादुरसिंह लामाका तीनजना मात्र नभई बाँकी पाँचै मन्त्रालयमा उनकै पक्षका सांसदलाई मन्त्री बनाउने बताएको दावी गरे । उनले निवर्तमान मुख्मयन्त्री लामासँग भएको सहमतिको बिषयलाई लिएर केही पक्षले भ्रम सिर्जना गर्न खोजिरहेको दावी गरे ।

‘निवर्तमान मुख्यमन्त्री बाहादुरजीसँग भएको सहमतिको विषयलाई लिएर भ्रम सिर्जना गर्न खोजिएको छ,’ उनले भने, ‘मुख्यमन्त्री बानियाँले पार्टी सभापतिले भन्नुभयो भने तीनजना होइन बाँकी पाँचै मन्त्रालयमा बाहादुरजीका सांसदलाई मन्त्री बनाउँछु भन्नुभएको छ ।’ प्रवक्ता लामिछानेले जुनसुकै समूहको नाम आएपनि आखिर कांग्रेसकै सांसद भएकाले मुख्यमन्त्रीले त्यसमा कुनै आपत्ति नजनाएको दावी गरे । तर, मन्त्रिपरिषद् विस्तार भने २७ साउन विश्वासको मत लिएपछि मात्रे हुने उनले स्पष्ट पारे । सोहीअनुसार तयारी भइरहेको उनको दावी छ । ‘२७ साउनमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने कार्यक्रम छ । त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उनले भने ।

त्यसपछि पार्टीका सभापति लगायत शीर्ष नेतृत्वसँग बसेर मन्त्रिपरिषद् विस्तारको विषय टुंग्याउने प्रवक्ता लामिछानेले जानकारी दिए । ११० सदस्यीय प्रदेशसभामा सत्तारुढ दलहरुका प्रत्यक्ष र समानुपातिकतर्फका ६४ सांसद छन् । जसमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । प्रतिपक्षतर्फ माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*