द्रुतमार्गको काम तोकिएको समयमा सम्पन्न हुने मन्त्रीकै आशंका
हेटौंडा-रक्षामन्त्री मानवीर राईले २०८३ भित्रै काठमाडौं–तराई–मधेश द्रुतमार्गको काम सकिनेमा आशंका व्यक्तगरेका छन् ।बिहीवार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको हो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अहिले सरकार फास्ट ट्रयाकमा केन्द्रित रहेको र नेपालमा अन्तर्राष्ट्रियस्तरको बाटो बनिरहेको बताएका छन् । उनले २०८३ सम्म बन्छ भन्ने विश्वास नलागेको तर, मेलम्चीको जस्तो लामो समय नलाग्ने बताए ।
सडक निर्माणका क्रममा नेपालमा जमिनको समस्या हुने गरेको पनि उनले बताए । अन्य देशमा जमिन सरकारको नाममा हुने भएकाले कुनै समस्या नहुने तर, नेपालमा व्यक्तिको नाममा जमिन हुँदा विभिन्न अवरोध हुने गरेको मन्त्री राईले उल्लेख गरे । ‘फास्ट ट्रयाकमा हामी केन्द्रित छौँ । नेपालमा अन्तर्राष्ट्रियस्तरको बाटो बन्दैछ । नेपालको जमिन व्यक्तिको नाममा दर्ता छ । छिमेकी देश चीनलगायतमा जमिन सरकारी हुन्छन्, निजी हुँदैनन् । डिजाइन गर्न अप्ठ्यारा हुँदो रहेनछ । तर, काम गर्दै जाँदा सकिँदो रहेछ । बाटो राम्रो हुँदोरहेछ, सुरुङमार्ग बन्दा रहेछन् भन्ने प्रमाणित भइसकेको छ‘ उनले भने, ‘जमिन र जंगल समस्या हो ।
जंगलको कानून मन्त्री परिषद्ले समेत क्रस गर्न सक्दो रहेनछ । हामीले सच्यायौँ । त्यसबेला ठूला पार्टीले जंगल पनि बेचेर खाने भए भन्ने आरोप खेप्नुप¥यो । तर, त्यो झन्झटबाट मुक्त भयौँ । २०८३ साल नआइकन सकिँदैन भन्न त नमिल्ला, निकै कठिन भएको छ । म यति भन्न चाहन्छु, मेलम्चीको आयोजना जति लम्बिँदैन । यति धेरै लामो समय लाग्दैन ।’ मन्त्री राईले नेपाली सेना जुनसुकै कालखण्डको सरकारमा पनि सरकारप्रति अनुशासित ढंगले अघि बढिरहेको बताए ।
प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं–तराई–मधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिवद्धता जनाएका छन् । उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गरे । प्रधानसेनापति सिग्देलले २०८३ को चैतसम्म सक्नुपर्ने दायित्व रहेको र अझै पनि काम सक्ने विश्वास रहेको बताए । उनले अब बनाउनुपर्ने कामहरु छिटो सकिने किसिमका रहेकाले द्रुतगतिमा काम अघि बढ्ने उल्लेख गरेका छन् । ‘हाम्रो भनाइ र सोचाई काम समयमा सक्नुपर्छ भन्ने हो ।
२०८३ को चैत्र अन्तिमसम्म सक्नुपर्ने दायित्व छ । त्यसमा हामी प्रतिवद्ध छौँ । अहिले करिव करिव ४३ प्रतिशत काम सकिसकेको छ । अब हुने काम छिटो सकिने खालका छन् । धेरैजसो समय इआइए गठन, टेण्डरको सम्झौता सम्मको समयमा धेरै समय गएको छ । समस्या समाधान हुने हो भने काम नसकिने भन्ने होइन । अब रफ्तार लिनसक्छ । काम धेरै सहज खालका छन्’ उनले भने, ‘नेपाली सेनाले समयमा काम सक्छ भनेर मानिदिनुहुन आग्रह छ । त्यसैअनुसार हामी काम गर्दछौँ । खोकना प्रस्थान बिन्दु पनि हो । ६.५ किलोमिटरसम्म लम्बाई छ । ऐतिहासिक र धार्मिक हिसावले महत्वपूर्ण ठाउँ छ । सिकाली मन्दिरक्षेत्र र दाहसंस्कार गरिसकेपछि क्रियापुत्री बसने ठाउँहरु छन् । त्यसलाई छोडेर नै नयाँ डिपिआर तयार पारेका छौँ ।’
प्रधानसेनापति सिग्देलले फास्ट ट्रयाक बाहेकका अन्य योजना खोकनामा नआउने ग्यारेन्टी भए धेरै बाधा स्थानीबाट नहुने बताएका छन् । अहिले बनेका संरचनाले धेरै हदसम्म प्राकृतिक विपद्बाट सुरक्षित रहेको पनि उनले दाबी गरे । प्रधानसेनापति सिग्देलका अनुसार हालसम्म द्रुतमार्गको ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ । द्रुतमार्गको लागि हालसम्म ८० अर्ब ५४ करोड रुपैयाँ खर्च भइसकेको सेनाले जनाएको छ । सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि द्रुतमार्गको अहिले लागत बढेर दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
आयोजनाअन्तर्गत जम्मा ८९ स्थानमा रहेका पुलमध्ये ८५ स्थानका पुल निर्माणको चरणमा रहेका छन् । निर्माणाधीन अधिकांश पुलको फाउन्डेसन कार्य सम्पन्न भई सुपरस्ट्रक्चरको कार्य भइरहेको छ । ५१ स्थानका पुलको फाउन्डेसन निर्माण सम्पन्न भएको छ । २६ स्थानका पुलको संरचना तथा ६ स्थानका पुलको माथिको भागको संरचनासम्मको कार्य सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । ९.३ किलोमिटर सडकको सब–बेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडकको कालोपत्रे कार्य सम्पन्न भएको छ । कालोपत्रे गरिएको क्षेत्र बारा जिल्लामा पर्छ ।प्रस्थानविन्दु खोकना र अन्तिमविन्दु निजगढ रहेको काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७० किलोमिटर ९७७ मिटर रहेको छ । वि.सं २०७४ मा चार वर्षभित्र काम सक्नेगरी सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।







