लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु
हेटौंडा- बागमती प्रदेश सरकारले लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु गरेको छ । अभियान बागमती प्रदेशका १३ वटै जिल्लामा सुरु भएको हो । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–१ मा आयोजित एक कार्यक्रमकाबीच कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले खोप अभियानको उद्घाटन गरे । अभियानअन्तर्गत प्रदेशका १३ जिल्लाका १ लाख २० हजार पशुलाई खोप लगाउने लक्ष्य राखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका वरिष्ठ पशुविकास अधिकृत डा. रामप्रकाश प्रधानका अनुसार सबैभन्दा बढी चितवनको पशुसेवा कार्यालयलाई ३० हजार डोज खोप उपलब्ध गराइएको छ ।
त्यसैगरी, जिल्ला पशुसेवा कार्यालय मकवानपुरका लागि २५ हजार, काभ्रेलाई १४ हजार, नुवाकोट र सिन्धुलीलाई १२÷१२ हजार, धादिङलाई ११ हजार, ललितपुरलाई १० हजार र दोलखाको पशुसेवा कार्यालयलाई ६ हजार डोज खोप उपलब्ध गराइएको छ । खोपको व्यवस्थापन संघीय सरकारले गरेको छ भने खोप लगाउन लाग्ने खर्च बागमती प्रदेश सरकारले व्यहोर्ने डाक्टर प्रधानले जानकारी दिएका छन् ।
बागमती प्रदेशमा असार र साउन महिनामा मात्रै लम्पी स्किन रोगका कारण ७४ पशुचौपायाको मृत्यु भएको छ । १ हजार ६ सय ३३ पशुमा रोगको संक्रमण देखिएको छ । विशेषगरी मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा यो रोगको संक्रमण बढी देखिएको छ । लम्पी स्किन रोग लागेका पशुमा उच्च ज्वरो आउने, शरीरको छालामा ५० मि.मि.सम्मको गोलो गाँठाहरु देखापर्ने, ती गाँठा फुटेर घाउमा परिणत हुने, मुख तथा नाकको भित्रि भागमा घाउहरु देखिने, खुट्टाको जोर्नीहरु सुन्निने जस्ता लक्षण देखिने पशु चिकित्सकले बताएका छन् । यो रोग लागेमा पशुको दुध उत्पादन ६५ प्रतिशतसम्म घट्ने गरेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार बागमती प्रदेशभर कुल गाईको संख्या ६ लाख ९४ हजार २१७ रहेको छ भने भैँसीको संख्या ५ लाख ४९ हजार १८२ रहेको छ । ती पशुले वार्षिकरुपमा जम्मा ४ लाख ८१ हजार ७७१ मेट्रिकटन दूध उत्पादन गर्ने गरेका छन् । जिल्लागतरुपमा हेर्दा चितवनमा सबैभन्दा बढी दूध उत्पादन हुने गरेको देखिन्छ, जहाँ सात स्थानीय तहमा ९२ हजार २ सय ५६ गाई र ७२ हजार २ सय भैँसी छन् । त्यहाँको दूध उत्पादन ९५ हजार १ सय ४१ मेट्रिकटन रहेको छ ।
त्यसैगरी, काभ्रेपलाञ्चोकमा १३ वटा स्थानीय तहमा ७३ हजार ९३६ गाई र ६६ हजार ९९ भैँसी पालिएको छ भने ८० हजार २८० मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । धादिङ जिल्लामा ७६ हजार ६ सय ३ गाई र ८० हजार १ सय ४४ भैँसी छन्, जसबाट ५० हजार ३८ मेट्रिकटन दूध उत्पादन हुन्छ । मकवानपुरमा ८७ हजार ७ सय ६४ गाई र ४७ हजार ६ सय ६९ भैँसी रहेका छन्, यहाँको दूध उत्पादन ५० हजार ३२० मेट्रिकटन रहेको छ । ललितपुरमा ६ वटा स्थानीय तह छन्, जहाँ २९ हजार ३०७ गाई र २९ हजार ७५ भैँसी छन् । त्यहाँको दूध उत्पादन २८ हजार ८४० मेट्रिकटन रहेको छ ।
काठमाडौंमा ११ वटा स्थानीय तहमा ३९ हजार १ सय गाई र १९ हजार ४ सय ४ भैँसी रहेका छन्, जसले २६ हजार ३९५ मेट्रिकटन दूध उत्पादन गर्छन् । भक्तपुरमा चार स्थानीय तहमा २२ हजार ९ सय ९२ गाई र ७ हजार ५ सय ८५ भैँसी छन्, र त्यहाँको दूध उत्पादन १३ हजार ५५७ मेट्रिकटन रहेको छ । यस्तै, नुवाकोटमा ३० हजार ६५२ गाई र ६१ हजार ९ सय २० भैँसी छन्, जहाँबाट ३६ हजार ८५० मेट्रिकटन दूध उत्पादन हुन्छ । रामेछापमा ५२ हजार ६ सय ६५ गाई र ३६ हजार ३ सय ३७ भैँसी रहेका छन् भने त्यहाँको दुध उत्पादन २१ हजार २ सय ३१ मेट्रिकटन रहेको छ ।
रसुवामा पाँचवटा स्थानीय तहमा ११ हजार ७ सय २ गाई र ८ हजार २ सय ३३ भैँसी छन्, र त्यहाँ ४ हजार ५३ मेट्रिकटन दुध उत्पादन हुने गर्दछ । सिन्धुलीमा ९ वटा स्थानीय तह छन्, जहाँ ९२ हजार ३ सय १६ गाई र ४७ हजार २ सय १५ भैँसी छन् । त्यहाँ ३४ हजार ९११ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह छन्, जहाँ ४४ हजार ५ सय ९ गाई र ४६ हजार १ सय ३५ भैँसी छन् र २३ हजार ३९१ मेट्रिकटन दूध उत्पादन भएको देखिन्छ ।
बागमती प्रदेशमा वार्षिक ४ लाख ८१ हजार ७ सय मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेशका ७१ हजार ९ सय ७७ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको थियो । आर्थिक वर्ष २०८०÷८१ मा ४८ हजार ३ सय ६४ पशुलाई खोप लगाइएको थियो ।







