ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै किसान

साझाकुरा
२०८२ भाद्र ४, बुधबार ०९:३०

हेटौंडा- मकवानपुरका किसान पछिल्लो समय ड्रागन फ्रुट (सिउँडीफल) को व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरु यो खेतीतर्फ उन्मुख भएका हुन् । पदमपोखरीका कृषक फेन्चु लामाले १ बिघा क्षेत्रफलमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् । उनले रेड साइन र सी भेराइटी अमेरिकन ब्युटि र सेतो प्रजाति गरी चार जातका ड्रागन फ्रुट लगाएका छन् । यसको आयु १५ वर्षसम्म रहने बताइएको छ । ड्रागन फ्रुटको मुख्य सिजन वैशाखदेखि कात्तिक महिनासम्म रहने भएपनि वर्षभर नै उत्पादन सम्भव हुने भएकाले बजार सधैँजसो कायम रहने लामाको भनाई छ ।

लामाले आफ्नो फार्ममा दुई विधि प्रयोग गरेका छन् । टेलिसिस्टम र पोलिङ सिस्टमको प्रयोग गरेको बताएका छन् । टेलिसिस्टममा बढी स्याहारसुसार आवश्यक पर्छ भने पोलिङ प्रणाली तुलनात्मकरुपमा सजिलो र व्यवहारिक मानिन्छ । बोटहरु पोल टु पोल ३ मिटरको दूरीमा र ड्याङ ४ मिटर फराकिलो बनाएर रोप्नुपर्ने लामाले बताए । यो खेतीबाट उत्पादन हुने फल साइजअनुसार फरक मूल्यमा विक्री हुँदै आएको छ । ठूलो साइजको प्रतिकिलो ३ सय ५० रुपैयाँ र सानो साइजको ३ सय रुपैयाँमा विक्री हुने गरेको लामा बताउछन् । एउटा बिरुवाबाट वार्षिक औषत २ किलोसम्म फल फल्ने गर्दछ । जुन हरेक वर्ष क्रमशः बढ्दै जान्छ ।

बिगतमा एउटा पोलमा बिरुवा उत्पादन गर्न करिव चार हजार रुपैयाँ खर्च लाग्ने गरेको थियो । हाल एक पोलमा बिरुवा राख्न करिव २५ सय रुपैयाँ लागत लाग्छ । अहिले सय रुपैयाँमै बिरुवा पाइने भएकाले लागत घटेको लामाको भनाइ छ । लामाले वार्षिक २ हजार किलो ड्रागन फ्रुट उत्पादन गरिरहेका छन् । आगामी वर्षमा वार्षिक ५ हजार किलो उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । हाल १ किलो ड्रागन फ्रुट उत्पादनमा करिव २५० रुपैयाँ लागत पर्ने अनुमान गरिएको छ । बैंकबाट ऋण लिएर किस्ताबन्दीमा तिर्दै आएका लामा वार्षिक झन्डै ३० लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

सम्पूर्ण खर्च कटाएर र ऋण किस्ता तिरेपछि वार्षिक ५ देखि १० लाख रुपैयाँ नाफा हुने गरेको उनी बताउँछन् । लामाले आफ्नो फार्मलाई अनुसन्धान केन्द्रकारुपमा पनि उपयोग गरिरहेका छन् । कृषिक्षेत्रमा नयाँपुस्ताको सहभागिता बढाउने उद्देश्यले फार्मलाई भविष्यमा उद्योगका रुपमा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । तर, ड्रागन फ्रुट खेतीमा केही चुनौती पनि छन् । बढी वर्षा भएमा फंगल डिजिज (ढुसी रोग) देखिने, कमिला लाग्ने र बिरुवा कुहिने समस्या देखिने भएकाले विशेष सावधानी आवश्यक हुने लामाले बताए । स्थानीय सरकार विशेषतः हेटौंडा उपमहानगरपालिकाले लामालाई सिंचाईको लागि पानीको व्यवस्था, टनेल निर्माण तथा प्रांगारिक मलमा सहयोग गरेको छ ।

कृषि एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ । हाल मकवानपुरमा झन्डै एकसय जना कृषक ड्रागन फ्रुट खेतीमा संलग्न छन् । राजधानी काठमाडौं लगायत अन्य सहरमा यसको माग उच्च भएकोले किसानहरुमा अझ उत्साह बढेको देखिन्छ । देशमा सम्भावना छैन भनेर विदेशिने युवाका लागि लामा उदाहरण बनेका छन् । अरुको देशमा श्रम खर्चिनुभन्दा आफ्नै देशमा मिहेनत गरेर समृद्धि हासिल गर्न सकिन्छ भन्ने धारणा राख्ने लामाले गणितमा स्नातकोत्तर गरेर शिक्षण पेशा सुरुवात गरेका थिए ।

पछि भेटेनरी अध्ययन गरेपछि कृषिक्षेत्रमा लागेका उनी श्रीमतीसँगै फार्म सञ्चालन गरिरहेका छन् । श्रीमती कृषि जेटिए रहेकी छन् भने फार्ममा थप ४ जना कर्मचारी कार्यरत छन् । मकवानपुरको हटिया, हर्नामाडी, गढी, हाँडीखोला, बसामाडीमा ड्रागन खेती भएको पाइन्छ । करिव ७ वर्ष अघि मकवानपुरमा पहिलोपटक मनहरीका रामचन्द्र उप्रेती, हरिशरण अर्यालको समूहले ड्रागन फ्रुट्सको खेती सुरुवात गरेका थिए । हिजोआज प्राय घरका कौसीमा ड्रागनको बोट देख्न पाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*