मकवानपुरको थाहा नगर ‘पूर्णसंस्थागत सुत्केरी नगरपालिका घोषित’

हेटौंडा- मकवानपुरको थाहा नगरलाई पूर्णसंस्थागत सुत्केरी नगरपालिका घोषित गरिएको छ । पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुनेमा थाहा नगरपालिका मकवानपुरको पहिलो र प्रदेशको दोस्रो पालिका हो ।आइतबार एक कार्यक्रमका बीच नगरपालिकालाई पूर्णसंस्थागत सुत्केरी नगरपालिका घोषणागरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नगरपालिकालाई पूर्णसंस्थागत सुत्केरी नगरपालिका घोषणा गरेका हुन् । घोषणासभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पूर्णसुत्केरी पालिका घोषणा हुनुमा महिला स्वास्थ्यस्वयंसेवीका तथा स्वाथ्यकर्मीको मेहनतबाट सम्भव भएको बताए । प्रदेशको स्वास्थ्यक्षेत्र सुधारको लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
उत्तरीक्षेत्रको स्वास्थ्य, शिक्षा, पर्यटन र सडक विकासमा प्रदेश सरकारले उच्चप्राथमिकतामा राख्ने मुख्यमन्त्री बानियाँले बताए । मकवानपुर जिल्लामा मात्र नभई बागमती प्रदेशमै थाहा नगरपालिकाले स्वास्थ्यक्षेत्रमा उल्लेखनीय कार्य गरेको उनले दाबी गरे । मुख्यमन्त्री बानियाँले विकटक्षेत्रका जनतालाई जिल्लाको अन्य भूभागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए । रुट निर्धारण गरी ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ नामकरण सहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उनको भनाई छ । यो कार्य नगरपालिका तथा सम्बन्धित ३ वटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाको पूर्णसहमति लिएर मार्ग निर्माण प्रक्रिया अघि बढाउने उनले बताए ।
‘प्रदेश सरकारको पहलमा थाहा नगरपालिकालाई कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकासँग जोड्ने गरी ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्नेछौँ,’ उनले भने, ‘विकटक्षेत्रका जनतालाई जिल्लाको अन्य भूभागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले प्रदेश सरकारले सम्बन्धित पालिकासँग समन्वय गरेर मार्ग निर्माणको काम अघिबढाउँछौँ ।’ थाहा नगरपालिका ऐतिहासिक र विचारशील व्यक्तित्व रुपचन्द्र बिष्टसँग गहिरो रुपमा जोडिएको उनले बताए । रुपचन्द्र विष्टले समानता, समान अवसर र प्रजातन्त्रमा गहिरो विश्वास राख्ने गरेको मुख्यमन्त्री बानियाँले बताए । रुपचन्द्र बिष्टको दर्शन आज पनि सान्दर्भिक रहेको उनले बताए । उनका अनुसार गाउँमुखी, जनमुखी, सेवामुखी, न्यायमुखी, र विकासमुखी अभियान अन्तर्गतको सरकारले विकास र सेवाका योजना सफलतापूर्वक कार्यान्वयन गर्नेछ ।
कार्यक्रममा नेकपा एमालेका मुख्यसचेतक महेश बर्तौलाले थाहाले स्वास्थ्यक्षेत्रमा प्रशंसायोग्य कार्य गरेको बताए । यसैगर प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य मन्त्रालयले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर स्थापना गर्नुको साथै हवाई उद्दार गरिएको बताए । नागरिकलाई सहज ढंगले उपचार पाउन भन्दै बागमती प्रदेश सरकार अगाडि बढेको बताउँदै उनले प्रदेशभित्रका अस्पताललाई सुधार गर्दै प्रदेशभरका प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गर्दै सुरक्षित सुत्केरीको अभियानमा प्रदेश सरकार लागिपरेको र सुत्केरी आमालाइ हवाइ उद्दार कार्यक्रम प्रदेश सरकारले सुरु गरेको बताए ।
पछिल्लो ६ वर्षयता नगरपालिकाभित्रका सबै गर्भवती आमाले स्वास्थ्यसंस्थामै बच्चा जन्माएको र पूर्णसंस्थागत सुत्केरी घोषणाका सबै सूचक पूरा भएपछि नगरपालिकालाई पूर्णसंस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखाप्रमुख मेघराज बलामीले बताए । आर्थिक वर्ष २०८१÷८२ को अवधिमा पालिकाभर ३५६ जना आमाले बच्चा जन्माएको र उनीहरु सबैले स्वास्थ्यसंस्थामै बच्चा जन्माएको उनले बताए । थाहा नगरपालिकामा २०७५ सालदेखि पूर्ण संस्थागत सुत्केरी अभियान सञ्चालन भएको र ०७६ सालमा नेपालकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएपछिको यो अवधिमा अहिले अभियानले सार्थकता पाएको नगरप्रमुख बिष्णु बिष्टले बताए ।
आमा तथा शिशु मृत्युदरलाई शून्यमा झार्ने अभियान अन्तर्गत पालिकालाई पूर्णसंस्थागत सुत्केरी पालिका घोषणा गरिएको उनले बताए । पालिकाभरका गर्भवती आमाले स्वास्थ्यसंस्थामै बच्चा जन्माएको, गर्भवती आमाले नेपाल सरकारको मापदण्डअनुसार ८ पटक गर्भ जाँच गरेको, गर्भवती तथा सुत्केरी आमाले आइरन चक्की सेवन गरेको, सुत्केरीपछि आमाले स्वास्थ्य जाँच ४ पटक गरेको लगायत सूचक पूरा भएपछि गाउँपालिकालाई पूर्णसंस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखाप्रमुख बलामीले बताए ।
थाहा नगरपालिका प्रमुख बिष्टको सभाध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा प्रदेश सांसद कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, थाहा नगरउपप्रमुख भरत गोपाली, स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक डा. नरेन्द्रकुमार झा, थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजार, नेपाली कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा एमाले नगरअध्यक्ष सुरेन्द्रमान प्रधान, माओवादी केन्द्र नगरसदस्य निरज रायमाझी, राप्रपा नगरअध्यक्ष कुलमान तामाङलगायतको आतिथ्यता रहेको थियो ।
घोषणा कार्यक्रम विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शन गरिएको थियो भने पूर्णसंस्थागत सुत्केरी घोषणा कार्यक्रमलाई सफल तुल्याउन भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्य केन्द्रलाइ सम्मान गरिएको थियो । कार्यक्रममा थाहाका वडाअध्यक्षहरु, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेवीकाको उपस्थिति रहेको थियो । १२ वटा वडामा विभाजित थाहा नगरपालिकाले २०७६ साउन १७ गते ६ नम्बर वडालाई पहिलो पूर्णसंस्थागत सुत्केरी वडा घोषणा गरेको थियो । गत आर्थिक वर्ष थाहा नगरका विभिन्न स्वास्थ्यसंस्थामा ३ सय ५६ जना सुत्केरी भएका थिए । थाहा नगरपालिकामा १२ वटा स्वास्थ्य संस्था छन् ।