थाहानगरका १ र ३ नं. बालमैत्री वडा घोषित
हेटौंडा-उत्तरी मकवानपुरको पर्यटकीय नगरीको रुपमा चिनिने थाहा नगरका २ वटा वडालाई बालमैत्री वडा घोषणागरिएको छ ।पालिकाको १ र ३ नं. वडालाई नगरप्रमुख विष्णुबहादुर विष्टले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका हुन् । स्थानीय तहमा बालअधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको हो । सरकारले कार्यान्वयनमा ल्याएको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७९ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश र थप दुईवटा सूचक पूरा गरेसँगै वडालाई असार २९ गते जिल्ला समन्वय समितिले बालमैत्री वडा प्रमाणिकरण गरेकोमा असार ३२ गते नगर कार्यपालिकाले बालमैत्री वडा घोषणा गर्ने निर्णय गरेको थियो ।
तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ ।बालमैत्री घोषणा गर्दै नगरप्रमुख विष्टले नेपालले अन्तराष्ट्रिय सन्धी महासन्धीमा उल्लेख भएका र नेपालको प्रचलित कानूनबमोजिम बालबालिकाको क्षेत्रमा काम गर्ने धारणा व्यक्त गरे । नगरप्रमुख विष्टले नेपालले राखेको दिगो विकासका लक्ष हासिलका लागि तोकिएको अवधि सन् २०३० सम्म पालिकालाई नै बालमैत्री घोषणा गरी यसको निरन्तरताको कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रमुख विष्टले नगरको अरु १० वटा वडालाई पनि क्रमशः तोकिएको सूचकहरु पूरा गरी घोषणाको प्रक्रियामा जाने प्रतिवद्धता जनाए । विष्टले भने–‘घोषणासँगै कार्यान्वयनको चरणलाई प्राथकिमतामा राखिनेछ ।’
थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले नेपाल सरकारले जारी गरेको निर्देशिका बमोजिम ८० प्रतिशत बढी सूचकमा सफलता पाएपछि घोषणा संभव भएको बताए । उनले बाँकी वडा घोषणाका लागि सबैको सर्वपक्षीय सहयोग भए सहज हुने धारणा राखे । कार्यक्रममा नेपाली काँग्रेसका थाहानगर सभापति प्रमोदकृष्ण जोशीले नगरपालिकाको दुईवटा वडा बालमैत्री हुनु बाल बालिकाको क्षेत्रका लागि महत्वपूर्ण भएको उल्लेख गरे । नेकपा एमालेका थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले अरु १० वटा वडालाई बालमैत्री घोषणाका लागि आफ्नो क्षेत्रबाट हुने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
थाहा नगरस्तरीय बालक्लब सञ्जालकी सदस्य अनुष्का तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझीले वडाको मात्र नभई वडामा रहेका बालक्लबदेखि विभिन्न संघसंस्थाहरु र सरोकारवलाको सहयोगकै कारण बालमैत्री वडा घोषणा गर्न सकिएको बताए । कार्यक्रममा वडा नम्बर १ का कार्यबहाक वडाध्यक्ष सरोज प्रधानले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकांश सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबु अर्याल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर जोनसन विश्वकर्मा, कुन्छाल फाँट टोलविकास समितिका अध्यक्ष नीराजन गोपाली, सशस्त्र प्रहरी बल नेपाल अस्थाई मनसुन प्रतिकार्य बेश कुन्छालका प्रमुख कृष्णनन्दन यादव, शिखर बचत तथा ऋण सहकारी संस्था शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझी, नयाँबस्ती आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख सिसम विडारी, कुन्छाल बचत तथा ऋण सहकारी संस्था लि.का सुविन्द्र गोपाली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा थाहा खैजडी भजन समूह किटेनीका महिलाले बालअधिकारमा आधारित भजन गाएका थिए । घोषणासभा अघि वडा नम्बर १ को सुनौला माविदेखि ¥याली गरिएको थियो । बालबालिकाको ¥याली शिखरकोट हुँदै गोपाली गाउँबाट पालुङ जेसीज सभाहलमा घोषणासभामा परिणत भएको थियो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७९ ले तय गरेको ५१ वटा सूचकमा गर्भवती महिला, नवजातशिशुको स्वास्थ्य जाँच, टीटी विरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ ।
त्यसैगरी एक वर्षभित्रका बालबालिकालाई पूर्णखोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कमतौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको संख्यामा कमी हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाह मुक्त क्षेत्र भएको हुनुपर्ने व्यवस्था छ । बालबालिकाविरुद्ध हुने हिंसा, बेचबिखन, शोषण, दुव्र्यवहारमा कमी आएको हुनुपर्ने निर्देशिकामा व्यवस्था छ ।छाउपडी, कमलरीजस्ता सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका विद्यालय गएको हुनुपर्ने, सडक बालबालिका शून्य, बाल सञ्जाल गठन, प्रत्येक विद्यालयमा खानेपानीको सुविधासहित छात्रछात्राका लागि अलगअलग शौचालयको व्यवस्था भएको हुनुपर्ने, विद्यालय व्यवस्थापन र स्वास्थ्य व्यवस्थापन समितिमा बालक्लब सञ्जालको प्रतिनिधित्व भएको हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।







