बागमतीका मुख्यमन्त्री बानियाँ र मन्त्रीहरुबीच कार्यसम्पादन करार

साझाकुरा
२०८२ भाद्र १९, बिहीबार १०:१६

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता भएको छ । प्रदेश सुशासन ऐन २०७७ को दफा १९ तथा प्रदेश नियमावली २०७७ को नियम ९ बमोजिम मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता भएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार भएको कार्यक्रममा चालु आर्थिक वर्ष २०८२÷८३ मा मन्त्रीहरुले सम्पादन गर्ने कार्य र जिम्मेवारीका बारेमा मुख्यमन्त्री बानियाँले १३ जना मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।

मुख्यमन्त्री बानियाँले कृषि तथा पशुपन्क्षी विकास मन्त्री मधुसुदन पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, स्वास्थ्य मन्त्री किरण थापामगर, भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटा, युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।

त्यसैगरी सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, खानेपानी, उर्जा तथा सिचाई मन्त्री कृष्णकुमार तामाङ, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलसँग करार सम्झौता भएको हो । कार्यसम्पादन करार सम्झौतामा मन्त्रीहरुले चालु आर्थिक वर्षमा गर्नुपर्ने काम, कार्ययोजना, समयसीमा लगायत उल्लेख गरिएको छ । सम्झौतापछि कृषि तथा पशुपन्क्षी विकास मन्त्री पौडेलले आजको सम्झौता एउटा औपचारिक सम्झौता भएको बताएका छन् । कार्यसम्पादन सम्झौताको आधारमा जति काम गर्न सक्यो त्यति नै संघीयता पनि बलियो हुने उनको भनाई छ ।

मन्त्री पौडेलले संघीयताको बारे आइरहेको नकारात्मक टिप्पणीलाई भाषणले भन्दा पनि कामले जवाफ दिनुपर्ने बताए । सम्झौतामा उल्लेख भएको बाहेक जनअपेक्षा अनुसारका अतिरिक्त काम पनि गर्ने मन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी मुख्यमन्त्री बानियाँले राम्रो काम गर्नेलाई पार्टी र जनताले निरन्तरता दिने व्यवस्था लोकतन्त्रमा मात्रै सम्भव भएको बताएका छन् । जनताको हितमा सुशासन कायम हुने गरी पारदर्शीता र जवाफदेही ढंगले काम गर्न उनले मन्त्रीहरुलाई निर्देशन दिए । मुख्यमन्त्री बानियाँले सबै मन्त्रीले आफ्नो कार्यविभाजन अनुसार काम गर्नेमा विश्वास रहेको बताए ।

विगतको सरकारको राम्रो कामलाई निरन्तरता दिएर हुने बाँकी रहेका कामलाई नियम, कानुन बनाएर यथाशीघ्र गर्नुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री बानियाँले मन्त्री र सचिवहरुलाई एकअर्कामा दम्भ नदेखाएर सहकार्य गरेर काम गर्न निर्देशन दिए । सबै पक्षले एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री बानियाँले प्रदेश गणतन्त्रको मेरुदण्ड भएको बताएका छन् । संघ सरकारको काम नीति बनाउने र स्थानीय तहको काम डेलिभरी भएकोले विकासको लागि प्रदेश अपरिहार्य भएको उनको भनाई छ । प्रदेश सरकारले एकल र साझा अधिकारको विषयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने उनले उल्लेख गरे । मुख्यमन्त्री बानियाँले प्रदेशको औचित्यलाई पुष्टि हुने गरी मन्त्रीहरुले काम गर्नुपर्ने बताएका छन् ।

अब मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवसँग पनि कार्यसम्पादन सम्झौता गर्नेछन् । सम्झौता बमोजिमका कार्यको मासिक कार्यसम्पादनको प्रगति मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ । मुख्यमन्त्रीबाट हुने नियमित अनुगमन, मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति र प्रदेश विकास समस्या समाधान समितिका निर्णयहरु तथा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प्रणालीमार्फत् प्राप्त हुने वार्षिक कार्ययोजनाको मासिक तथा वार्षिक प्रतिवेदन एवम् सोको समीक्षाको आधारमा अनुगमन गरिने प्रमुखसचिव भुपाल बरालले बताएका छन् । यस सम्झौता अवधिभर मन्त्रीको पदरिक्त भएमा नयाँ नियुक्त हुने मन्त्रीले यस सम्झौता बमोजिमको बाँकी काम सम्पन्न गर्नुपर्ने प्रमुख सचिव बरालले बताए ।

बागमती प्रदेशमा पहिलो पटक नतिजा सूचक प्रणालीमा आधारित ढाँचामा कार्यसम्पादन करार गरिएको हो । चालु आर्थिक वर्ष २०८२÷८३ मा मन्त्रीहरुले सम्पादन गर्ने कार्य र जिम्मेवारीबारे भएको कार्यसम्पादन करार सम्झौतामा अनुगमन तथा निरीक्षण, कार्यक्रम कार्यान्वयन, वित्तीय खर्च, गुनासो फर्छोट, तथ्यांक, नागरिकका गुनासा सुनुवाइ, मन्त्रालय र मातहत निकायको लागि आवश्यक नीति निर्माण लगायत सूचक निर्धारण गरिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*