जनप्रिय क्याम्पसको पहिलो क्याम्पससभा सम्पन्न

आगामी दशकमा नेपालकै उत्कृष्ट क्याम्पस बनाइने
साझाकुरा
२०८२ भाद्र २२, आईतवार ११:२८

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाद्वारा सञ्चालित हेटौंडा–१६ चिसापानीस्थित हेटौंडा जनप्रिय क्याम्पसको पहिलो क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । संघीय संसदको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंह एवम् क्याम्पस सञ्चालक समितिकी अध्यक्ष तथा हेटौंडा उपमहानगरप्रमुख मिनाकुमारी लामाको सभाध्यक्षतामा क्याम्पससभा भएको हो । हेटौंडा उपमहानगरपालिका र हेटौंडा क्याम्पसबीचको सहकार्यमा सामुदायिक क्याम्पसको रुपमा वि.सं २०८० सालमा स्थापना भएको हेटौंडा जनप्रिय क्याम्पसले २०८२ सालमा पूर्वाञ्चल विश्व विद्यालय विराटनगरबाट सम्बन्धन प्राप्त गरेको हो । नगरप्रमुख लामाले क्याम्पसको आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् ।

यस क्याम्पसलाई आगामी १० वर्षभित्र नेपालकै उत्कृष्ट क्याम्पसका रुपमा विकास गर्ने लक्ष्यकासाथ कार्य अघि बढाउने उनले बताइन् । क्याम्पसले आधुनिक र उद्यमशीलतामा आधारित स्नातकोत्तर तह (एमएस्सी कृषि) कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ । समाज र बजारमुखी कृषिशिक्षालाई मजबुत पार्दै आत्मनिर्भरता र दिगोपन प्रवद्र्धन गर्नु क्याम्पसको मुख्य लक्ष्य रहेको छ । अत्याधुनिक प्रयोगशाला, नमूना फार्म स्थापना, वार्षिकरुपमा कम्तिमा ६ अनुसन्धान परियोजना सञ्चालन गरी स्थायी र राष्ट्रिय समस्या समाधानमुखी अनुसन्धानलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको छ ।

१० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्ने र ३० प्रतिशत भन्दा बढी स्नातक विद्यार्थीलाई कृषि उद्यमी बनाउने लगायत योजना रहेको नगरप्रमुख लामाले बताइन् । बिएस्सी एजी (कृषि) कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ आवश्यक ऐन कार्यविधि निर्माण गरी क्याम्पसको स्थापना गरिएको उनले जानकारी दिइन् । हाल जनप्रिय क्याम्पसमा बिएस्सी एजी कार्यक्रमका लागि ४८ सिटमध्ये ४७ जना विद्यार्थीले फाराम भरिसकेको उनले बताइ्न । यस क्याम्पसको स्थापना कृषिलाई विशेष प्राथमिकता दिएर गरिएको उनको भनाई छ ।

कार्यक्रमका प्रमुखअतिथि सभापति सिंहले मकवानपुर जिल्लालाई शैक्षिक हबको रुपमा विकास गर्दै लैजानु पर्नेमा जोड दिए । उनले आफू जनप्रतिनिधिकारुपमा निर्वाचित भएपछि शिक्षाक्षेत्रलाई उच्चप्राथमिकता दिएको दाबी गरे । उनले विद्यालयले केवल श्रमशक्ति मात्र नभई विभिन्न क्षेत्रका लागि गुणस्तरीय जनशक्ति र विज्ञ उत्पादन गर्ने खालको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । मकवानपुर क्षेत्र नं. १ का सांसद् एवम् सभापति सिंहले आफू शाहीकालमा जिल्ला विकास समिति सभापति हुँदा यस क्याम्पसको लागि ३ लाख रुपैयाँ सहयोग गरेको र अहिले यसक्षेत्रको सांसदको हैसियतमा सभाहल निर्माणका लागि तीन करोड बजेट उपलब्ध गराएको बताए ।

उनले क्याम्पसको समग्र विकासका लागि आवश्यक रकम राज्यको तर्फबाट उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताए । हेटौंडा उपमहानगरको अथक प्रयासबाट स्थापना भएको क्याम्पसले आफ्नो लक्ष्य पूरा गर्न सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए । सभापति सिंहले चुनावको बेलामात्र राजनीति गर्न सबै राजनीतिक दललाई आग्रह गरे । अघिल्लो चुनावमा पूmलेको जुंगा हेरेर कांग्रेस र एमालेले भोट दिएको बताउँदै शिक्षालाई राजनीतिकरण गर्न नहुने उनको धारणा थियो । सभापति सिंहले शिक्षाको विकासमा सबैले उत्तिकै दायित्व लिनुपर्ने धारणा राख्दै, यस क्याम्पसलाई उत्कृष्टताको केन्द्र बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

क्याम्पसका निमित्तप्रमुख देवचन्द्र मानन्धरले उपमहानगरपालिकाको पहलमा सञ्चालन हुने बिएस्सी एजि कार्यक्रम शैक्षिक उपलब्धी मात्रै नभई सामाजिक र आसर्थक रुपान्तरणको प्रमुख आधार बन्ने विश्वास व्यक्त गरे । यस कार्यक्रमले स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा अध्ययन गर्ने अवसर दिनुका साथै कृषिक्षेत्रमा नयाँ प्रविधि, अनुसन्धान र व्यवसायीकरणको विकास हुने उनले बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, नेकपा माओवादी केन्द्रका संयोजक भीम पाख्रिनलगायतले मन्तव्य राखेका थिए । चालु आर्थिक वर्ष २०८२÷८३ मा क्याम्पसको कुल बजेट ९८ लाख ८ हजार ८ सय १८ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*