चेपाङ समुदायले मनाए न्वागी पर्व
हेटौंडा- मकवानपुर, धादिङ, चितवन, गोर्खाका चेपाङ समुदायले सामुहिकरुपमा छोनाम अर्थात न्वागी खाने पर्व मनाएका छन् । नेपाल चेपाङ संघको आयोजनामा चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ कालिखोलामा विशेष सांस्कृतिक कार्यक्रमसहित न्वागी पर्व मनाइएको हो । बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले एकपाखे ढ्याङग्रो ठोकेर न्वागी पर्वको उद्घाटन गरे । कार्यक्रममा मन्त्री श्रेष्ठले चेपाङबस्तीलाई पर्यटन हबकारुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताए । ‘यो बस्तीलाई पर्यटनक्षेत्रको रुपमा अघि बढाउन संस्कृति पर्यटन मन्त्रालय निरन्तर लागिरहनेछ,’ मन्त्री श्रेष्ठले भने, ‘हामीले नै आफ्नो भाषा, भेषभूषा र संस्कार जोगाउन सकेनौं भने अस्तित्व नै संकटमा पर्छ ।’
पहिलोपटक न्वागी पर्वमा सहभागी भएको अनुभव सुनाउँदै उनले चेपाङ समुदायको संस्कृति र भाषाको संरक्षणलाई आफ्नो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री श्रेष्ठले प्रदेश सरकारले चेपाङ संस्कृतिलाई विश्वसामु चिनाउन वृत्तचित्र निर्माण गरिरहेको जानकारी पनि दिए । चेपाङ भाषाबारे गरिएको अध्ययनले चेपाङ समुदायका करिब ५० प्रतिशतले मात्रै भाषा बुझ्ने तथ्य देखाएको उनले बताए । ‘जम्मा जनसंख्या ८४ हजार छ । अब हामीले नै यसलाई जोगाउन सकेनौं भने अर्को पुस्ताले यो भाषा र संस्कृति पाउने छैन,’ उनले भने ।
त्यसैगरी मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले न्वागी पर्वलाई राष्ट्रिय सम्पदा भनेर व्याख्या गर्दै डकुमेन्ट्री निर्माण भइरहेको बताए । ‘चेपाङ भाषा, लिपि र संस्कृतिको संरक्षणमा मन्त्रालय निरन्तर सक्रिय छ,’ सुवेदीले भने, ‘चेपाङ बस्तीलाई होमस्टे र सम्पदा अवलोकनमार्फत् पर्यटन हब बनाउने योजना अघि बढाइरहेका छौं ।’ त्यसैगरी कार्यक्रममा नेपाल चेपाङ संघ अध्यक्ष गोबिन्दराम चेपाङले न्वागी पर्व सांस्कृतिक पहिचानसँग जोडिएको बताए । ‘यो केवल पर्व होइन, हाम्रो अस्तित्वको पहिचान हो,’ उनले भने, ‘हिजो बेलुका दीपप्रज्ज्वलन गर्दा हरेक घरमा बत्ती बलेको देख्दा हामी जितको अनुभूति गरेका छौं ।’
उनले नयाँपुस्ताले पनि न्वागीलाई आफ्नै सांस्कृतिक पर्वकारुपमा आत्मसात गरेकोमा उत्साह प्रकट गरे । नेपालका ६ जिल्लामा बसोबास गर्दै आएका चेपाङ समुदायले पालैपालो न्वागी पर्व विशेषरुपमा मनाउँदै आएका छन् । अध्यक्ष गोबिन्दका अनुसार अघिल्लो वर्ष धादिङमा आयोजना भएको न्वागी पर्व यसवर्ष चितवनमा सम्पन्न भएको हो भने अर्को वर्ष मकवानपुरको राक्सिराङमा आयोजना गरिनेछ । चेपाङ समुदायको परम्परा जोगाउने काममा प्रदेश सरकारले सार्वजनिक बिदा दिएर चेपाङ समुदायको सम्मान बढाएको उनको भनाई छ ।
न्वागी पर्वले मौलिक सांस्कृतिक पहिचानलाई झल्काएको छः मुख्यमन्त्री बानिया“
यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पनि न्वागी पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गरेका छन् । उनले चेपाङ समुदायको महत्वपूर्ण पर्व ‘न्वागी (छोनाम) २०८२’ ले मौलिक सांस्कृतिक पहिचानलाई झल्काउने बताए । उनले भनेका छन्, ‘यहाँका प्रत्येक जातजाति र समुदायको आआफ्नै सांस्कृतिक महत्व बोकेको मौलिक परम्परा रहेका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रको रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय सांस्कृतिक पहिचानको रुपमा चेपाङ समुदाय रहेको छ ।’
बानियाँले शुभकामना सन्देशमा चामल, पिठो, निबुवा आदि फलफूलले भरिपूर्ण हुने पृथ्वीलाई भण्डारको रुपमा पूजा गर्ने र नयाँ फलफूल तथा अन्न खानुअघि नै इष्टदेवलाई चढाउने धार्मिक विश्वासका साथ यो समुदायमा ‘न्वागी’ मनाउने गरिएको उल्लेख गरेका छन् । बागमती प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायले यस पर्वलाई विशिष्टीकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मूल्यमान्यताले नयाँ पुस्तालाई जोडेको भन्दै मुख्यमन्त्री बानियाँले प्रशंसा गरेका छन् ।
उनले चेपाङ समुदायको उत्थान र विकासका लागि बागमती प्रदेश सरकारले सदैव सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् । सबैको साथ र सहयोगमा सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरी समाजवादको लक्ष्य हासिल गर्न सबै एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । चेपाङको न्वागीका अवसरमा बागमती प्रदेश सरकारले धादिङ, मकवानपुर र चितवनमा सार्वजनिक बिदा दिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सहप्रवक्ता रविता कार्कीका अनुसार बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय गरिएको हो ।
चेपाङ समुदायको बाक्लो बसोबास भएका जिल्लामा न्वागी पर्वको अवसरमा बिदा दिइएको उनको भनाइ छ । चितवनमा १८ हजार १ सय पुरुष र १७ हजार ५ सय ३७ महिला गरी ३५ हजार ६ सय ३७ चेपाङ बसोबास गर्छन् । त्यस्तै, मकवानपुरमा ११ हजार ९ सय ७२ पुरुष र ११ हजार ६ सय ७८ महिला गरी २३ हजार ६ सय ५० छन् । धादिङमा ८ हजार ६ सय ८७ पुरुष र ८ हजार ४ सय ७३ महिला गरी १७ हजार १ सय ६० जना चेपाङ बसोबास गरेका छन् ।
नयाँ अन्नबाली, फलफूल पाकेपछि चेपाङ समुदायले न्वागी पर्व मनाउने परम्परा रहेको छ । न्वागीमा घैयाँ धानको चामल, पिँडालु, निबुवा लगायत फलफूलले भूमि र पितृलाई पूजा गर्ने परम्परा रहीआएको छ । चेपाङ समुदायमा नयाँ अन्न पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यसै मान्यताका आधारमा, यसपर्वमा झाक्री (पाण्दे) द्वारा ढ्यांग्रो ठटाउँदै कुखुराको भाले काटेर चढाउने परम्परा छ । चेपाङले यसदिनलाई ‘वारना’ को रुपमा पनि मनाउने गर्छन्, जुन कृतज्ञता र समर्पणको प्रतीक हो ।
छोनाम न्वागीको अवसरमा छरछिमेकी र नातागोतालाई निम्त्याई सामूहिक भोजखाने, नाचगान गर्ने र सुखदुःख साट्ने परम्पराले सामाजिक एकतालाई थप बलियो बनाउँछ । चेपाङले यस पर्वलाई ‘पान्देई घ्यासा’ को नामले पनि सम्बोधन गर्ने गर्दछन् । भेलामा ढ्यांग्रो बजाउने, टीका लगाउने र आपसमा आशीर्वाद थाप्ने गर्दछन् ।







