भीमफेदी कारागारबाट २६० कैदीबन्दी भागे, २३० फर्काइए

कारागारबाट कुख्यात अपराधी निस्किएपछि सुरक्षामा चुनौती
साझाकुरा
२०८२ भाद्र २६, बिहीबार १२:०९

हेटौंडा-देशका धेरै कारागारबाट कैदीबन्दी भागेका छन् । नख्खु कारागारबाट कैदीबन्दी बाहिरिएपछि सुरु भएको कैदीबन्दी बाहिरिने क्रम निरन्तर चलेको हो ।नख्खुबाट झन्डै १ हजार ३ सय जना कैदीबन्दी मंगलबार राति नै भागेका थिए । यस्तै सुन्धारामा रहेको कारागारबाट पनि झन्डै ३ हजार ३ सय जना कैदीबन्दी गएराति नै भागेका छन् । डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई भने सेनाले रोकेको छ । भाग्न खोजेकाहरुलाई सेनाले अन्यत्र लगेपछि भाग्न नचाहनेहरु त्यहीँ छन् । डडेल्धुरा कारागारबाट भागेका ८५ कैदीबन्दीमध्ये ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको कारागारबाट भागेका ३ सय ३७ कैदीबन्दीमध्ये ४० जना पक्राउ परेका छन् ।

वीरगञ्ज, धादिङ, काभ्रेलगायतका कारागारबाट भाग्न खोज्नेहरुलाई सेनाले रोक्न प्रयास गर्दा कतिपय ठाउँमा गोली चलेको छ । सोलुखुम्बु, कास्की, सुनसरी, रौतहट, मकवानपुर, म्याग्दीलगायत जिल्लाबाट पनि कैदीबन्दी भागेका छन् । सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला कारागारमा रहेका कैदीबन्दी भागेका छन् । मंगलबार बिहानको विवरण अनुसार देशभरका कारागारमा झन्डै ३० हजार कैदीबन्दी थिए । तीमध्य १३ हजार पाँचसय कैदीबन्दी हाल फरार रहेका छन् ।

जिल्लागत विवरण अनुसार अहिलेसम्म झन्डै एक तिहाइबढी कैदीबन्दी भागिसकेको अनुमान छ । तर, अहिलेसम्म भागेको र कारागारमै रहेका कैदीबन्दीको यकिन विवरण कारागार विभागमा प्राप्त भएको छैन । देशका विभिन्न कारागारबाट कैदीबन्दी निस्किएपछि सुरक्षा चुनौती बढेको छ । जेलबाट निस्कनेमा कुख्यात अपराधीहरुसमेत छन् । नख्खु, कैलाली कारागारबाट निस्केका केही कैदीहरुले अदालत र सरकारी वकिल कार्यालयलाई लक्षित गरी आक्रमणको प्रयास गरेका छन् । यस्तै निजी सम्पत्ति लुटपाट र आगजनीको जोखिमसमेत बढेको छ ।

भीमफेदी कारागारबाट २६० कैदी भागे, २३० फर्काइए

मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन् । कारागारको ‘क’ ब्लकमा रहेका केदीबन्दीहरुले तीनवटा गेट फुटाएर बाहिर निस्किन खोजेका थिए । यो ब्लकका २६० जना कैदीबन्दीले कारागारको पश्चिमतर्फको पर्खाल भत्काएर भागेको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिए । ब्लकमा ५ सय भन्दा बढी कैदीबन्दी रहेकोमा करिब २३० जनालाई नियन्त्रणमा लिएर फर्काइएको उनले बताए ।

सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप भएको कारागार प्रमुख पौडेलले जानकारी दिए । झडपमा सेनाले चलाएको गोली लागेर दुईजना कैदीबन्दी घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । कारागारको गाडी लिएर भाग्ने क्रममा टायरमा गोली चलाउँदा कैदीबन्दीलाई लाग्न पुगेको पौडेलले जनाए । कैदीबन्दीहरूले कारागारमा तोडफोड र आगजनी गरेका छन् । सेनाले स्थिति नियन्त्रणमा लिन २०० हवाई फायर गरेको थियो ।सशस्त्र प्रहरीले पनि २ राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । कारागारको अर्काे ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रमुख पौडेलले जानकारी दिए ।

सुधारगृहका ७२ जना बालक भागे

बालसुधारगृह मकवानपुरमा रहेका ७२ जना बालकहरु भागेका छन् । सुधारगृहमा रहेका ९४ बालकमध्ये ७२ जना भागेका छन् भने २१ जनालाई नियन्त्रणमा राखिएको छ । हेटौंडा–११ स्थित बालसुधारगृहमा रहेका बालकहरुको अभिभावकले नाराबाजीसहित गेट तोडफोड गरेर बालकहरुलाई भगाएका थिए । अभिभावकले सुधारगृहको बाहिरबाट नाराबाजी गरेर गेट भत्काएका थिए । सो क्रममा सुरक्षाकर्मी र सुधारगृहका बालक तथा अभिभावकबीच झडपको स्थिति बनेको थियो । सुरक्षामा खटिएका प्रहरीले अवस्था नियन्त्रण लिन नसकेपछि उनीहरु भाग्न सफल भएका थिए ।

सुधारगृहका प्रमुख प्रदीप गौतमका अनुसार ४०÷४५ जनाको समूहमा रहेका अभिभावकले गेट बाहिरबाट ढुंगामुढा गरेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । १० मिनेटको समयअवधिभित्र सबै घटना सकिएको उनले बताए । बुधबार दिउँसो ३ः१० बजेदेखि ३ः२० बजेको समयमा घटना भएको उनले बताए । राति नै व्यागप्याक गरेर बसेका उनीहरुले टिभीमा देखेर भाग्ने योजना बनाएको र यो कार्यमा अभिभावकले सहयोग गरेका थिए । भाग्नेहरुमा अधिकांश बालकहरु लागूऔषध मुद्दामा रहेको प्रमुख गौतमले बताए ।

लामो समय सजाय तोकिएका र पूर्पक्षमा रहेकाहरु भागेको र २२ जनाले स्वस्फुर्तरुपमा आफूहरु नभाग्ने भनेर बसिरहेको उनले बताए । सुधारगृहमा रहेका २२ बालकको सजाय अवधि कम रहेको उनले बताए । १४ वर्षदेखि २३ वर्षसम्मका युवक रहेको सुधारगृहमा ८ जना सुरक्षाकर्मीले सुरक्षा दिँदै आएका थिए । घटनाको केही समयमा जिल्ला प्रहरीबाट २ गाडीमा सेना र प्रहरी पठाएपनि बालक भागिसकेका थिए । हाल सुधारगृहको बाहिर १५ जना प्रहरी परिचालन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*