नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

साझाकुरा
२०८२ भाद्र २८, शनिबार ०८:४६

हेटौडा – राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराएका छन् । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उनले पद तथा गोपनीयताको सपथ लिएकी हुन् । राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षाअनुसार, राजनीतिक दल र सरोकारवालाको परामर्शमा उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन्।

नेपालको संविधानबमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उनलाई नियुक्त गरिएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित रहेको थियो ।

जेनजीले उठाएका मागका विषयमा सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । नवनियुक्त प्रधानमन्त्री कार्कीले सानो मन्त्रिमण्डल गठन गर्ने र उक्त मन्त्रिमण्डलले गर्ने सिफारिशका आधारमा सरकारका प्राथमिकताका थप काम अघि बढाइनेछ ।

जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व र निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको  सञ्चालनको माग राख्दै आयोजना गरिएको प्रदर्शन र त्यसपछिका घटनामा ५१ जनाको मृत्यु भएको थियो । उक्त घटनापछि तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उक्त आन्दोलनको माग अनुरूप पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो ।

न्यायालयभित्र प्रष्ट विचार, खरो स्वभाव र इमान्दार छवी बनाएकी उनको नेतृत्वको सरकारले प्राप्त समयाधिभित्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराई नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*