आगजनीमा परेका सरकारी कार्यालय सरसफाइ सुरु

साझाकुरा
२०८२ भाद्र २९, आईतवार ११:३२

हेटौंडा- जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका बागमती प्रदेशका मन्त्रालय तथा सरकारी कार्यालयमा सरसफाइको काम सुरु भएको छ । सामान्य अवस्थामा प्रशासकीय काममा व्यस्त हुने कर्मचारी अहिले जलेका मन्त्रालय र कार्यालय सफा गर्न जुटेका छन् । हेटौंडा उपमहानगरपालिका कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयसहित बागमती प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीले जलेर बाँकी रहेका उपकरणको अवस्था जाँचिरहेका छन् । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना अधिकारीका रामप्रसाद गजुरेलका अनुसार कार्यालयमा रहेका ६० हजारभन्दा बढी फाइल जलेका छन् । बागमती प्रदेशअन्तर्गतका ३२ सय ३० सहकारीका फाइल जलेका छन् ।

तिमध्ये करिब २७ सय सहकारीका फाइल अनलाइन प्रविष्ट भएका कारण सुरक्षित रहेका छन् । समस्याग्रस्त घोषित गरिएका सबै सहकारीका फाइल भने सुरक्षित
रहेको सहकारी महाशाखाले जनाएको छ । मन्त्रालयको तल्लोतला पूरै जलेको छ भने अन्य तलामा आंशिक क्षति पुगेको छ । बागमती प्रदेशका १० वटा मन्त्रालय पूर्णरुपमा जलाइएको छ । यातायात व्यवस्था कार्यालयभित्रका महत्वपूर्ण कागजपत्र, फर्निचर र अन्य सामग्री काम लाग्ने अवस्थामा छैनन् । जेनजी समूहको आन्दोलनका क्रममा मकवानपुरका ४० भन्दा बढी सरकारी कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।

कुन–कुन कार्यालय ध्वस्त भए ?

आन्दोलनका क्रममा हेटौंडा–१० मा रहेको प्रदेशसभा सचिवालय, बागमती प्रदेशको भवन, आन्तरिक राजस्व कार्यालय मकवानपुर, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, हेटौंडा उपमहानगपालिका १० नम्बर वडा कार्यालय जलेका छन् ।हेटौंडा–१ स्थित ४ वटा मन्त्रालय रहेको भवन ध्वस्त भएको छ, जसमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, खानेपानी तथा ऊर्जा सिंचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय थियो ।

हेटौंडा–२ मा रहेका आर्थिक मामिला तथा योजना मन्त्रालय, लोकसेवा आयोग हेटौंडा कार्यालय, उच्चअदालत पाटनको हेटौंडा इजलास, जिल्ला अदालत मकवानपुर, सरकारी वकिल कार्यालय, मुख्यमन्त्रीको सरकारी निवास, बागमती प्रदेश प्रमुखसचिवको निवास, मालपोत कार्यालय, नापी कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हेटौंडा उपमहानगरपालिकाको कार्यालय, सहरी विकास तथा भवन कार्यालय, कोष तथा लेखानियन्त्रण कार्यालय हेटौंडा, कर्मचारी सञ्चयकोष हेटौंडा, नापी कार्यालय मकवानपुर जलेका छन् ।

भाटभटेनी सुपरमार्केट समेत आन्दोलनको क्रममा जलाइएको छ । हेटौंडा–११ मा रहेका सहकारी तथा गरिबी निवारण मन्त्रालय, यातायात सेवा कार्यालय, प्रदेश आपतकालीन आपूर्ति केन्द्र र ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ । बकैया गाउँपालिका कार्यालय, मनहरी गाउँपालिका कार्यालय, हटौंडा उपमहानगपालिका वडा नम्बर ३ को कार्यालय भवन, वडा नम्बर ४ को कार्यालय, प्रदेश लोकसेवा आयोग हेटौंडा, सञ्चार रजिष्टारको कार्यालय हेटौंडामा क्षति पुगेको छ । जिल्ला समन्वय समितिको सवारीसाधन जलाइएको र भवन तोडफोड भएको छ ।

मुख्यमन्त्री कार्यालयमा आंशिक क्षति

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने खासै क्षति व्यहोर्नु परेन । कार्यालयको चमेनागृहका केही सिसामा क्षति पुगेपनि प्रशासकीय भवनमा क्षति पुगेको छैन ।प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय मकवानपुरसँगै रहेको मुख्यमन्त्रीको कार्यालयमा क्षति पु¥याएका छैनन् । प्रशासन कार्यालयको सुरक्षाका लागि बाक्लो मात्रामा खटिएका प्रहरी र सेनाको टोलीले भवनलाई सुरक्षा प्रदान गरेका थिए । पटकपटक प्रशासन कार्यालय र मुख्यमन्त्री कार्यालय तोडफोडका लागि आक्रामकरुपमा अघि बढेका प्रदर्शनकारीलाई रोक्न सुरक्षाकर्मी सफल भएका थिए । सोही कारण मुख्यमन्त्री कार्यालयको कम्पाउन्डभित्रै रहेको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय सुरक्षित रहेको छ ।

जिल्ला अदालतमा शुक्रबार सरसफाई
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको मकवानपुर जिल्ला अदालतमा शुक्रबार सरसफाइ गरिएको छ ।अदालतका कर्मचारी तथा कानुन व्यवसायीले संयुक्तरुपमा सरसफाई गरेका हुन् । उनीहले जलेर बाँकी रहेका कागजात, तोडफोड भएका कार्यालय सामग्री तथा फर्निचर व्यवस्थापन गरेका थिए । सरसफाइसँगै क्षति मूल्यांकन गर्ने काम पनि सुरु भएको छ ।

अदालत परिसरमा आगजनी र तोडफोडले करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । भवनको तल्लोतलामा श्रेष्तेदार कक्ष र सुपरीवेक्षण कक्ष पूर्णरुपमा जलेको छ भने माथिल्लो तलामा आंशिक क्षति पुगेको छ । विभिन्न कानुनी अभिलेख, फर्निचर, कम्प्युटर तथा विद्युतीय उपकरण जलेका छन् । अन्य सेवा पुनः सुरु गर्न केही समय लाग्ने भएपनि बन्दी प्रत्यक्षीकरणको कार्य आइतबारदेखि सुरु गर्ने तयारी अदालतले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*