सामाजिक विकास मन्त्रालयमा जलेको भवनको सिँढीमै बसेर काम हुँदै

साँढे चार वर्षमा बनेको प्रदेशसभा भवन एकदिनमै ध्वस्त
साझाकुरा
२०८२ भाद्र ३०, सोमबार ११:४०

हेटौंडा-१२ करोड २९ लाखको लागतमा बनेको बागमती प्रदेशसभाको नवनिर्मित भवन जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको छ ।गत साउन २७ गते औपचारिकरुपमा सञ्चालनमा ल्याइएको प्रदेशसभा भवनमा जम्मा ४ वटा बैठकमात्रै सञ्चालन भएको थियो । भवन निर्माण गर्न झन्डै साढे चारवर्ष लागेको थियो । भदौ २३ गतेबाट सुरु भएको जेनजी आन्दोलनको दोस्रोदिन प्रदर्शनकारीले भवनमा तोडफोड र आगजनी गरेका थिए । ठूलो संख्यामा आएका प्रदर्शनकारीले सुरुमा नाराबाजी गर्दै ईंटा र ढुंगा प्रहार गरेका थिए । प्रदर्शन उग्र बन्दै गएपछि आन्दोलनकारी पर्खाल र गेट फोडेर प्रदेशसभा भवनभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । प्रदेशसभाको नयाँ र पुरानो दुवै भवनमा पूर्णरुपमा क्षति पुगेको छ ।

कांग्रेस संसदीय दलको कार्यालयबाहेक अन्य दलका कार्यलयमा आगजनी र तोडफोड गरिएको छ । प्रदेशसभामा मात्रै २५ देखि ३० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रदेशसभाका प्रवक्ता मनोज गुप्ताका अनुसार नयाँ र पुराना दुवै भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १२ करोड २९ लाख लागतमा बनेको नवनिर्मित भवन जलेर नष्ट भएको छ भने एक करोड भन्दा बढीका प्राविधिक संरचना नष्ट भएका छन् । सचिवालयका ५ वटा दुईपांग्रे, ३ वटा गाडी र २ वटा निजी मोटरसाइकल पूर्णरुपमा क्षति भएका छन् । सामाजिक विकास मन्त्रालयको कम्पाउण्डमा सुरक्षित राखिएको प्रदेशसभाका ३ वटा गाडी पनि आगजनीबाट बच्न सकेनन् ।

प्रदेशसभाभित्र रहेका विभिन्न दलका कार्यालय पनि जलेर नष्ट भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीको संसदीय दलका कार्यालयमा रहेका सबै कागजपत्र, फर्निचर र सामग्री खरानी बनेका छन् । नेकपा माओवादी केन्द्र र समाजवादीका दल कार्यालय भने माथिल्लो तलामा भएकाले आंशिक मात्र क्षति भएको छ । प्रदेशसभा सचिवालयका प्रशासन र कार्यव्यवस्थासम्बन्धी सबै कागजपत्र जलेका छन् भने कानून तथा विधेयक शाखामा रहेका विधेयकहरु सुरक्षित रहेको प्रवक्ता गुप्ताले जानकारी दिए ।

२०७७ मंसिर १० गते शिलान्यास गरी १८ महिनामा सम्पन्न गर्नुपर्ने भवन निर्माण व्यवसायीको ढिलासुस्तीका कारण साढे चार वर्षसम्म लागेको थियो । दुईचरणमा ठेक्का लगाएर भवनको काम सम्पन्न गरिएको थियो । निर्माण सम्पन्न भएसँगै भवन २७ साउनबाट सञ्चालनमा आएको हो । २ सय ५० जना अट्ने सभाहल इपिएस स्यान्डविच प्रविधिबाट निर्माण हुने गरी सहरी विकास तथा भवन कार्यालय हेटौंडाको समन्वयमा अर्घाखाँची सगुन पारामाउन्ट जेभीले निर्माण गरेको थियो । बागमती प्रदेशसभाका दुबै भवन क्षतिग्रस्त बनेपछि बैठक अनिश्चित बनेको छ ।

लुटेको सामान फिर्ता गर्न आग्रह

जेनजी आन्दोलनको क्रममा चोरी भएको सामग्रीहरु फिर्ता गर्न बागमती प्रदेशसभा सचिवालयले आग्रह गरेको छ । आईतबार सचिवालयले एउटा सूचना जारी गर्दै सामग्रीहरु बुझाउन अनुरोध गरेको हो । भदौ २४ गते आगजनी र तोडफेडको क्रममा बागमती प्रदेशसभा सचिवालयमा रहेको कम्प्युटर, ल्याप्टप, इन्भर्टर, टिभी, एसीसहित कुर्सी, टेबल, सोफा लगायत सामग्री चोरी भएको थियो । त्यसैगरी कर्मचारीको सवारीसाधनमा आगजनी र तोडफोड गरी लुटपात भएको थियो ।

यी सामग्रीहरु आफूले भेटेमा वा आफूसँग भएमा फिर्ता गरिदिन सचिवालयले अनुरोध गरेको छ । उल्लेखित सामग्रीको सम्बन्धमा कुनै जानकारी भए जानकारी दिने व्यक्तिको परिचय गोप्य राखिने सूचनामा उल्लेख छ । प्रहरीले पनि सामाजिक संजाल, सीसी क्यामेरामा भएका रेकर्डका आधारमा शुक्ष्म निगरानी गरिरहेको बताइएको छ ।सामाजिक विकास मन्त्रालयमा जलेको भवनको सि“ढीमै बसेर काम हु“दैसामाजिक विकास मन्त्रालयले जलेको भवनको सिँढीमै बसेर अत्यावश्यक काम गर्न थालेको छ । हेटौंडा–१० मा रहेको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको संयुक्त भवन पूर्णरुपमा क्षतिग्रस्त बन्दा काम गर्ने स्थान नभएपछि सिँढीबाट अत्यावश्यक काम थालिएको हो ।

भवनभित्र रहेका महाशाखा तथा शाखाका कागजपत्र, अभिलेख र कार्यालय सामग्री जलेर नष्ट भएपछि प्रशासनिक काम ठप्प भएको छ । आइतबार दिनभर मन्त्रालयका कर्मचारीहरु जलेर बाँकी रहेका कागजात बाहिर निकाल्ने, धुलाम्य भएका कोठा, फुटेका सिसा निकाल्ने, सफा गर्ने र संरचनागत क्षतिबारे मूल्यांकन गर्ने कार्यमा व्यस्त रहेका थिए । आगलागीबाट सामाजिक विकास मन्त्री र स्वास्थ्य मन्त्री दुवैको कार्यकक्ष प्रयोग अयोग्य भएको छ । सामाजिक विकास मन्त्रीको कार्यकक्ष काम चलाउने अवस्थामा छैन भने स्वास्थ्य मन्त्रीको कार्यकक्ष पूर्णरुपमा जलेर ध्वस्त भएको छ । सामाजिक विकास मन्त्रालयको कम्पाउण्डभित्र रहेका १४ वटा सवारीसाधन पनि जलेर नष्ट भएका छन् ।

मुख्यमन्त्री कार्यालयका एउटा, प्रदेशसभाका ३ वटा, सामाजिक विकास मन्त्रालयका ५, स्वास्थ्य मन्त्रालयका ३, शिक्षा विकास निर्देशनालयको १ र युएस परियोजनाका एउटा सवारी जलेको सामाजिक विकास मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए । दुबै मन्त्रालयका अधिकांश कार्यकक्ष जलेका छन् । सामाजिक विकास मन्त्रालयको प्रशासनिक शाखाको केही रेकर्ड मात्रै सुरक्षित रहेको बाँकी सबै अभिलेख नष्ट भएको सचिव दर्निले बताए । मन्त्रालयसँगै रहेको प्रदेश विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालय समेत आगलागीमा जलेर पूर्णरुपमा ध्वस्त भएको छ । त्यहाँ रहेका सबै फर्निचर, अभिलेख र उपकरण नष्ट भएको सचिव दर्जीले बताए । भवन र कागजात दुवै क्षतिग्रस्त भएकाले तत्कालै कहाँ बसेर काम गर्ने भन्ने समस्या भएको सचिव दर्जीलले बताए । भदौ २४ गतेको आन्दोलनका कारण बागमती प्रदेशका १४ मन्त्रालयमध्ये ९ वटा मन्त्रालय पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*