आन्दोलनमा मारिनेहरुको सम्मानमा राष्ट्रिय शोक मनाउने
हेटौंडा- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।सोमवार बिहान नवनियुक्त मन्त्रीहरु कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोनपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्री कार्कीले आईतवार घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास, अर्याललाई गृह र कानून तथा संसदीय मामिला र खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।
जेनजी पुस्ताको आन्दोलन उग्र भएपछि प्रधानमन्त्री केपी शर्माओलीले पदबाट राजीनामा दिएका थिए । जेनजीको प्रश्तावमा राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुले सोमवार नै पदभार ग्रहण गरेका छन् । सरकारले जेनजी आन्दोलनको क्रममा मारिएकाहरुको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ ।
गृह तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अर्यालले सोमवार सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेलगत्तै यो निर्णय गरेका हुन् । त्यसैगरी मन्त्री अर्यालले काजकिरिया खर्चबापत मृतकका परिवारलाई एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको बताए । त्यसैगरी मृतकको शव व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन र दुर्गम क्षेत्रका लागि हेलिकप्टर उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
‘प्रर्दशनकारी र सुरक्षा निकायका कर्मचारीको सम्मानस्वरुप राष्ट्रिय शोकको रुपमा मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने भन्ने एउटा निर्णय छ । मृतकहरुको परिवारलाई काजकिरियावापत प्रतिमृतक १ लाख रुपैयाँ उपलब्ध गराउने, त्यसका लागि रकमको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने निर्णय भएको छ । परिवारका सदस्यहरुको आग्रह बमोजिम मृतकको शव व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन एवम् दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने निर्णय गरेका छौं’ उनले भने ।यसैगरी गृहमन्त्री अर्याले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानवीन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताए ।
जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानूनी राज्यको प्रत्याभूति दिलाउन पनि सरकारले आन्दोलनका क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानवीनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको गृहमन्त्री अर्यालको भनाई थियो । उनले जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यसक्रममा भएका भएका जनधनको क्षतिलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने बताए । गृहमन्त्री अर्यालले नयाँ पुस्ताको मागअनुसार अघि बढन पनि कर्मचारीलाई निर्देशन दिए ।
डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न निर्देशन
त्यसैगरी नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकलाई स्थायित्व र विकासतर्फ अघि बढाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए ।सिंहदरबारमा सम्बन्धित मन्त्रालयका कर्मचारीसँगको छलफलमा उनले मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अघि बढाउन आफू कटिवद्ध रहेको बताए । मन्त्री घिसिङले जेनजी पुस्ताले अपनाएको हिंस्रक बाटो छोडेर समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले विगतका कमजोरीलाई नदोहो¥याउन आग्रह गर्दै जिम्मेवारी लिने संस्कृतिको विकास गर्न सबैलाई आग्रह गरे ।
‘अब हिंसा होइन समाधान हाम्रो बाटो हो । हामीले जे ग¥यौं त्यसलाई अब रोकौं । अब हामीले पुनः निर्माणतिर लाग्नुपर्ने हुन्छ । देशलाई एउटा समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेछ । राजनीतिक स्थिरता पनि ल्याउनु पर्नेछ । देश रहेमात्र हामी रहन्छौं । उडेर मात्रै हुँदैन अब सही अवतरण गर्नुपनि हाम्रो दायित्व हुनेछ । जिम्मेवारी लिने हो भाग्ने होइन । जिम्मेवारी लिएर अगाडि बढ्नुपर्छ । मुलुकलाई सही दिशामा अगाडि बढाउने काम तपाईहरुको सहयोगबिना सम्भव छैन’ उनले भने ।
यसअघि पदभार सम्हाल्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका थिए । उनले आफू प्राधिकरणको कार्यकारी निर्देशक हुँदा वक्यौता असुल्ने प्रयास गरेका थिए । तर, तत्कालीन सरकारले यसमा रोकावट मात्र गरेन बरु उल्टै घिसिङलाई पदच्युत गरी ओलीसरकारले हितेनद्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने
यसैगरी अर्थमन्त्री मन्त्री खनालले पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् । उनले भने, ‘अबको प्राथमिकता युवाका मागपूरा गर्नुछ, निर्वाचन गर्नुछ,त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’ अर्थमन्त्री खनालले करिब १०० जना युवाको ज्यानको बलिदान पछि ठूलो परिवर्तनको अवस्था आएको भन्दै यो नासोलाई पूरा गर्ने जिम्मेवारी हामी सबैको काँधमा आएको बताए । उनले भने, ‘६०÷७० जनाको अनुहार चिनिरहेको छु, अहिले हामी अर्कै भूमिकामा छौं, यो करिब १०० जना युवाले ज्यान दिएर यो अवस्था आएको हो । विध्वंस त भयो तर, ठूलो परिवर्तनका लागि यो भएको हो । युवाले यो जिम्मेवारी हामीलाई सुम्पिएका हुन् । हामीले लिएको यो नासो पूरा गर्ने हामी सबैको जिम्मेवारी हो ।’
अब सिंहदरबार सहित सार्वजनिक र अन्य सम्पत्तिको पुनर्निर्माणमा लाग्नुपर्ने उनले बताए । सार्वजनिक सम्पत्तिको बीमा नहुने भन्दै उनले धेरै खर्च सरकारले नै व्यहोर्नुपर्ने उनले बताए । ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक थिए । गृहमन्त्री अर्याल काठमाडौं महानगरपालिकाको कानूनी सल्लाहकार रहेका थिए । अर्थमन्त्री नियुक्त खनाल पूर्व राजश्वसचिव हुन् ।







