लयमा फर्कने प्रयासमा हेटौंडा उपमहानगरपालिका :महत्वपूर्ण कागजात खरानी हुँदा कार्यसञ्चालनमा चुनौती

साझाकुरा
२०८२ आश्विन १, बुधबार १३:४४

हेटौंडा-जेनजी युवाको प्रदर्शनका क्रममा क्षति पुगेको हेटौंडा उपमहानगरपालिकाले सेवाप्रवाह सुचारु गरेको छ । भदौ २४ गते प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीका कारण क्षति बेहोरेको उपमहानगरपालिका क्रमश लयमा फर्कन थालेको हो । उपमहानगरपालिकाले केही कक्षहरु सरसफाई गरी सोमबारदेखि आंशिक सेवाप्रदान गरिरहेको छ । साथै, फर्निचरलगायत आवश्यक मर्मतकार्य पनि थालिएको छ । उपमहानगरको राजस्व शाखा, जिन्सी शाखा, योजना शाखा, न्यायिक समितिको सचिवालय, स्वास्थ्य शाखा, सूचनाप्रविधि शाखा, नगरप्रमुख तथा उपप्रमुखको कार्यालय, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष पूर्णरुपमा क्षति भएको प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

यसका साथै प्रदर्शनकारीले हेटौंडा उपमहानगर परिसरमा रहेका २४ वटा दुई पांग्रे सवारी साधन, ११ वटा हलुका सवारीसाधन, जेसिबी, टिपर र निजी अटो लगायत पूर्णरुपमा क्षति पु¥याएका छन् । उपमहानगरपालिको १९ वटा वडामध्ये ६ वटा वडा पूर्णरुपमा क्षति पुगेको छ । जनताको दैनिक जीवनसँग उपमहानगरको कार्य जोडिने भएकाले पूर्ण रुपमा सेवाप्रवाह कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताए । क्षतिग्रस्त वडा कार्यालयबाट अत्यावश्यक सेवाप्रवाहको सूची बनाएर कार्यसञ्चालनको तयारी भइरहेको उनले बताए ।

नजिकिँदै गरेको चाडपर्वको समयमा कर्मचारीको तलब सुविधा, भुक्तानी गर्नुपर्ने रकम र त्यसको व्यवस्थापन कसरी गर्ने ? भन्ने विषयमा पनि छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताए । क्षतिको विवरण संकलन गर्न हेटौंडा उपमहानगरको सामाजिक विकास महाशाखाप्रमुख डा. भीमप्रसाद तिमल्सिनाको नेतृत्वमा एक समिति गठन गरिएको छ । यसैबीच हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयले सेवाप्रवाहको लागि आवश्यक सामग्रीको अभावको कारण देखाउँदै तत्कालका लागि सेवाप्रवाह रोकेको छ ।

वडा कार्यालयमा हस्तलिखित सूचना टाँस गर्दै जेनजी आन्दोलनका क्रममा कार्यालयका सम्पूर्ण सामग्री जलाइएकाले नागरिकलाई तत्काल सेवादिन नसकिने व्यहोरा उल्लेख गरिएको छ । वडाअध्यक्ष नवीन सिग्देलले वडा कार्यालयमा सेवाप्रवाहका लागि आवश्यक कुनैपनि सामग्री बाँकी नरहेकोले सेवा स्थगन गर्न बाध्य भएको जनाएका छन् । कार्यालय सञ्चालनका लागि आवश्यक न्यूनतम स्रोतसाधन जुटेपछि सेवा सुचारु गरिने उनले बताए । उनले सार्वजनिक सम्पत्ति जलाउने र तोडफोड गर्ने गिरोहलाई कडा कारबाहीको लागि सरकारसमक्ष माग गरे ।

भदौ २४ गते भएको आन्दोलनका क्रममा वडा नम्बर ४ कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालयभित्र रहेका सामग्री बाहिर निकालेर आगो लगाइएको थियो । यसवडासहित हेटौंडा उपमहानगरका ३, १०, ११, १५ र १९ नम्बर वडा कार्यालय पूर्णरुपमा क्षति भएका छन् भने १३ नम्बर वडामा तोडफोड भएको छ । उपमहानगरको भवनमा आगो लगाउने र तोडफोड गर्नेहरुको सामाजिक सज्जालमा भिडियो सुरक्षित रहेको भन्दै कारवाहीको दायरमा सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको प्रमुख प्रशासकिय अधिकृत भरत गौतमले बताए ।

चाँडो भन्दा चाँडो उपमहानगरवासीलाई भवनवाटै सेवादिनका लागि तयारी गरिरहेको उनले जानकारी दिए । तत्कालका लागि आवश्यक कम्युटर र फर्निचरको व्यवस्था गरेर सोमबारदेखि सेवा सुरु गर्न लागिपरेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए । जेनजी पुस्ताले सुशासनको पक्षमा आन्दोलन गरेको भन्दै उपमहानगरपालिकाबाट दिने सेवा प्रवाहमा समेत सुधार गर्दै जाने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।

‘दोस्रो दिनको आन्दोलनको सुरुवातमा पनि जेनजी युवा उपमहानगर अगाडि आएर भाषण गरेर आन्दोलनको सुरुवात गरेका थिए’, गौतमले भने, ‘दोस्रो दिनको आन्दोलनमा पनि ती युवाले उपमहानगरपालिकामा तोडफोड गर्नु हुँदैन भनेर फर्किएका थिए ।’ तर, जेनजी भन्दा बाहिरका केही युवा आएर दोस्रोपटकमा तोडफोड सुरु गर्दा पनि जेनजी युवाले फर्काएर पठाएका थिए ।

तेस्रोपटकको आक्रमणमा भने ती व्यक्तिहरुले ढुंगामुढा र आगजनी गरेका हुन् । जेनजी प्रदर्शनीमा अराजक समूहले उपमहानगरका महत्वपूर्ण कागजात जलाएर रानी बनाइदिएपछि कसरी सञ्चालन गर्ने चुनौती थपिदै गएको छ । यद्यपी अहिले उपमहानगरका सरसफाइकर्मीले परिसर वरपर सरसफाइका काम गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*