बागमती प्रदेशसभाको बिजोग : एकातिर सभामुखको राजीनामा, अर्कातिर संरचना ध्वस्त

साझाकुरा
२०८२ आश्विन ३, शुक्रबार १०:२७

हेटौंडा- बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले औपचारिकरुपमै पदबाट राजीनामा दिएका छन् ।जेनजी आन्दोलन चर्किए पछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामापत्र बुझाएका हुन् । उनले यसअघि नै राजीनामा घोषणा गरेपनि कानुनी प्रक्रिया पूरा गर्न अनुकूल नभएको पत्रमा उल्लेख गरेका छन् । ‘नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम बागमती प्रदेशसभाको सभामुख पदबाट राजीनामा गरेको छु,’ पत्रमा भनिएको छ ।

उनले राष्ट्र रोएको बेला नेपाली जनताको चाहाना र युवापुस्ताको भावना विपरीत पदमा बसिरहन उचित नलागेको बताएका छन् ।राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा रप्रदेशसभा सदस्यहरुले भदौ २४ गते सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् घोषणा गरेका थिए । पाठक राप्रपाबाट बागमतीको सभामुख बनेका थिए । बागमती प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार सभामुख पाठकले उपसभामुखलाई सम्बोधन गरी राजीनामा बुझाएसँगै बैठकको अध्यक्षता उपसभामुखले गर्ने र नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । प्रदेश सभाको अधिवेशन अन्त्य नभइसकेकाले उपसभामुख चापागाईले मिति तोकेर बैठक आह्वान गर्न सक्ने उनले बताए ।

पौडेलका अनुसार सोही बैठकमा सभामुखको राजीनामापत्र पढेर सुनाइनेछ र नयाँ सभामुख निर्वाचनको मिति तय गर्न सक्ने अवस्था छ । ‘संविधानको धारा १८२ को उपधारा (१) मा प्रत्येक प्रदेशसभाको पहिलो बैठक बसेको पन्द्र दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । कुनै कारणवश पदरिक्त भएमा पनि प्रदेशसभा नियमावलीको नियम ७ को उपनियम ८ अनुसार सोही कार्यविधिबमोजिम निर्वाचन गरी पदपूर्ति गरिने उल्लेख छ । सभामुखको राजीनामा स्वीकृत भएपछि सूचना प्रकाशन गरिने र त्यसपछिको पहिलो बैठकबाट निर्वाचन प्रक्रिया अगाडि बढाइने कानुनी व्यवस्था छ,’ सचिव पौडेलले भने ।

एकातिर सभामुख पाठकले राजीनामा दिएका छन् भने अर्कोतिर प्रदेशसभा भवन र सचिवालयलगायत संरचना आगलागीका कारण ध्वस्त हुँदा सभा सञ्चालनमा चुनौती थपिएको छ । १२ करोड २९ लाख लागतमा बनेको प्रदेशसभाको नवनिर्मित भवन जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको हो । आन्दोलनकारी पर्खाल र गेट फोडेर प्रदेशसभा भवनभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । प्रदेशसभाको नयाँ र पुरानो दुवै भवनमा पूर्णरुपमा क्षति पुगेको छ ।

कांग्रेस संसदीय दलको कार्यालयबाहेक अन्य दलका कार्यलयमा आगजनी र तोडफोड गरिएको छ । प्रदेशसभामा मात्रै २५ देखि ३० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नयाँ र पुराना दुवै भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १२ करोड २९ लाख लागतमा बनेको नवनिर्मित भवनसमेत जलेर नष्ट भएको छ भने एक करोड भन्दा बढीका प्राविधिक संरचना नष्ट भएका छन् । सचिवालयका ५ वटा दुईपांग्रे, ३ वटा गाडी र २ वटा निजी मोटरसाइकल पूर्णरुपमा क्षति भएका छन् । सामाजिक विकास मन्त्रालयको कम्पाउण्डमा सुरक्षित राखिएको प्रदेशसभाका ३ वटा गाडी पनि आगजनीबाट बच्न सकेनन् ।

प्रदेशसभाभित्र रहेका विभिन्न दलका कार्यालय पनि जलेर नष्ट भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीको संसदीय दलका कार्यालयमा रहेका सबै कागजपत्र, फर्निचर र सामग्री खरानी बनेका छन् । नेकपा माओवादी केन्द्र र समाजवादीका दल कार्यालय भने माथिल्लो तलामा भएकाले आंशिक मात्र क्षति भएको छ । प्रदेशसभा सचिवालयका प्रशासन र कार्यव्यवस्थासम्बन्धी सबै कागजपत्र जलेका छन् भने कानून तथा विधेयक शाखामा रहेका विधेयक सुरक्षित रहेको सचिवालयले जनाएको छ ।

क्षतिको पूर्णविवरण संकलनको काम तत्काल सुरु गरिने र त्यसपछि सरसफाइ र पुनर्निर्माणको काम अगाडि बढाइने सचिव पौडेलको भनाइ छ । तत्काल बैठक बस्नुपर्ने अवस्था आएमा कहाँ बस्ने भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए । ‘अस्थायी विकल्पकारुपमा परिसरभित्रकै पुरानो ग्यारेजलाई मर्मत गरेर बैठक सञ्चालन गर्न सकिने वा सुरक्षित रहेका संसदीय दलका कार्यालय प्रयोग गर्ने विषयमा विचारविमर्श भइरहेको छ,’ पौडेलले भने, ‘यद्यपि, बैठक सञ्चालनका लागि माइक, रेकर्डिङ र इन्टरनेटजस्ता प्राविधिक सामग्री भाडामा लिनुपर्ने अवस्था छ ।’ जेनजी आन्दोलनका क्रममा सचिवालयका तीनवटा गाडी, ६ वटा मोटरसाइकल र केही निजी सवारी साधनसमेत जलेर नष्ट भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*