राजनीतिक नेतृत्वको गल्तीलाई संविधानको दोष होइनः प्रदेशप्रमुख देवकोटा

साझाकुरा
२०८२ आश्विन ४, शनिबार १२:०४

हेटौंडा- बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले राजनीतिक नेतृत्वको गल्तीलाई संविधानको दोषको रुपमा लिन नमिल्ने बताएका छन् ।संविधान दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारको आयोजनामा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा प्रदेशप्रमुख देवकोटाले संविधान कार्यान्वयनको क्रममा राजनीतिक नेतृत्वले गरेको कमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज नभएको बताए । दलहरुले आफ्नो गल्ती, कमजोरीलाई समयमै चिन्नुपर्ने उनको धारणा छ । ‘कार्यान्वयनको शिलशिलामा हामीले गरेका त्रुटि र कमीकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन’ उनले भने, ‘हामीले आफ्नो अनुहारमा धुलोमैलो भएको अवस्थामा ऐना पुछ्नु आफ्नो गल्ती नचिन्नु हो ।’

संसारमा सबै कुरा गतिशील र परिर्वतनीय भएकोले दलहरुले पनि समय सापेक्ष परिवर्तनलाई अंगीकार गर्नुपर्ने उनको भनाई छ । गल्ती बारम्बार दोहो¥याउनु मुर्खता मात्रै भएको उनको धारणा छ । प्रदेशप्रमुख देवकोटाले युवापुस्ताको चासो र चाहनालाई वर्तमान संविधानको परिधिभित्र रहेर पुरा गर्न सकिने बताए । संविधानको सर्वोच्चता र न्यायमूलक समाजको अपरिहार्यता आजको आवश्यकता भएको उनले उल्लेख गरे ।

प्रदेशप्रमुख देवकोटाले कानुनी राज्यको उपहास हुने क्रियाकलाप कसैले पनि गर्न र गराउन नहुने बताए । स्वाभिमान र स्वाधीनतामा कसैसंग सम्झौता गर्न नहुनेमा पनि उनले जोड दिए । उनले जनताको अभूतपूर्व बलिदानबाट प्राप्त संविधान कानुनी दस्ताबेज मात्र नभएर जनभावना प्रस्फुटन गर्ने सजीव प्राणीसरह भएको उल्लेख गरे । प्रदेशप्रमुख देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता र मौलिक अधिकारको सुनिश्चिततालाई आत्मसात् गरेको वर्तमान संविधान न्यायपूर्ण र समतामूलक समाज,राष्ट्रिय अखण्डता र एकताको पहरेदार भएको बताए ।

कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संवैधानिक सर्वोच्चता र विधिको शासनको मुलमर्मलाई आत्मसात् गर्दैै गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए । आमजनआकांक्षाको सम्बोधन र प्रदेशलाई समृद्धिको दिशामा लैजान संविधानको सफल कार्यान्वयन जरुरी भएको उनको भनाई छ । मुख्यमन्त्री बानियाँले संविधानप्रदत्त संघीय शासन प्रणालीलाई प्रभावकारी र जनमुखीतवरले सञ्चालन गर्नु प्रदेश सरकारको दायित्व भएको बताए । प्रदेश सरकार अन्तर्गतका निकायहरुबाट हुने सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन सरकार प्रतिबद्ध रहेको उनले दाबी गरे । मुख्यमन्त्री बानियाँले प्रदेश सरकारलाई मितव्ययी बनाई नागरिकलाई अधिकतम सेवा प्रदान गर्न सबै निकायको फजुल खर्चलाई कटौती गर्ने प्रक्रिया सुरु भइसकेको बताए ।

प्रदेशसभाबाट पारित भएको संकल्प प्रस्तावको आधारमा बजेट तर्जुमा प्रणालीमा सुधार गरी स्रोतसाधनको वितरणलाई सन्तुलित बनाउने उनले उल्लेख गरे । मुख्यमन्त्री बानियाँले डिजिटल युग र नयाँ पुस्ताको सोचबमोजिम सेवा प्रवाह र निर्णय प्रक्रियालाइ छिटोछरितो र परिणाममुखी बनाउने तयारी आफूले गरेको बताए । आगामी फागुनमा निर्वाचन घोषणा भइसकेकोले यो निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने मुख्यमन्त्री बानियाँको भनाइ थियो ।

मुख्यमन्त्री बानियाँले केहीदिन अघिको आन्दोलनमा भएको क्षतिको पुननिर्माण गरी दैनिक सेवाप्रवाहलाई यथाशीघ्र नियमित गर्ने बताए । प्रदेशका पूर्वमुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले गणतन्त्र विरोधी शक्तिहरुले टाउको उठाउँदा प्रतिनिधिसभा र जननिर्वाचित सरकार विघटन हुन पुगेको बताए । संविधान र व्यवस्था भन्दा बाहिरबाट अन्तरिम सरकार गठन भएको उनको भनाई छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई संविधान र गणतन्त्रले नै नचिन्ने उनले बताए ।

नेता जम्कट्टेलले प्रदेश संरचनामाथि उठेका सवालको विषयमा राजनीतिक दलहरुले समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । आवश्यकताको आधारमा विकासका कामहरु हुन नसक्दा जनताको सबैक्षेत्रमा अझै पनि पहुँच पुग्न नसकेको उनको धारणा छ । नेता जम्कट्टेलले समय हुँदा नै राजनीतिक दलहरुले आपूmलाई रुपान्तरण गर्नुपर्ने बताए । नेता जम्कट्टेलले हालै सडकमा देखिएको युवाको आन्दोलन र जनअसन्तुष्टिको जिम्मेवारी प्रमुख राजनीतिक दलले लिनुपर्ने बताएका छन् । उनले दलहरुले आफैँलाई नसच्याए देशले ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

जेनजी आन्दोलनको क्रममा हिंसात्मक कार्य गर्नेहरुमाथि छानबीन गर्नुपर्ने उनले उल्लेख गरेका छन् । नेता जम्कट्टेलले प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीयस्वरुप हुने गरी संविधान संशोधन गर्नुपर्ने बताए । निर्वाचन प्रणालीको कारण नेपालमा राजनीतिक अस्थिरता ननिम्तिएको उनको भनाई छ । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचारका मुद्दामा जोसुकै भएपनि कारबाही गर्न आँट गर्नुपर्ने बताए ।

राजनीतिक नेतृत्व, कर्मचारी प्रशासनलगायत सबै पक्षले सुशासनको पक्षमा दृढतापूर्वक उभिनुपर्ने र जनताको आवाजलाई सम्बोधन गर्नुपर्ने बेला आएको उनको भनाइ छ । कार्यक्रममा प्रदेशका उपसभामुख अप्सरा चापागाई, प्रदेश सरकारका मन्त्री, प्रदेश सांसद्हरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*