जेनजी आन्दोलनको क्रममा ६ करोड बराबरको क्षति : भौतिक मन्त्रालय सहरी विकास कार्यालयको भवनमा सारियो

साझाकुरा
२०८२ आश्विन ५, आईतवार ११:४४

हेटौंडा-जेनजी आन्दोलनका क्रममा पूर्णक्षति भएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई अस्थायीरुपमा सहरी विकास तथा भवन कार्यालयको नयाँ भवनमा सारिएको छ ।मन्त्रालयको बैठककक्षका फर्निचर र प्रयोग गर्न सकिने सामानहरु प्रयोग गरेर कार्यालय सञ्चालनमा ल्याइएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार, आन्दोलनका क्रममा तोडफोड भएको सहरी विकास तथा भवन कार्यालयको नयाँ निर्माणाधीन भवनलाई मर्मत गरी सेवा सञ्चालनमा ल्याइएको हो । हाल मन्त्रालयका लागि आवश्यक कार्यालय व्यवस्थापनको कार्य जारी छ । मन्त्रालयको जल्नबाट बाँकीरहेका फर्निचर तथा कागजातमार्फत् काम भइरहेको छ । कर्मचारीका लागि आवश्यक कक्ष निर्माण भइरहेको छ ।

सचिव मरहठ्ठाले मन्त्रालयसहित मातहतका ५ वटा कार्यालयमा तोडफोड र आगजनी भएको जानकारी दिएका छन् । मन्त्रालयसहित पूर्वाधार कार्यालय चितवन, सहरी विकास तथा भवन कार्यालय मकवानपुर, पूर्वाधार विकास कार्यालय ललितपुर र प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना हेटौंडा रहेका छन् । आन्दोलनका क्रममा मन्त्रालय तथा मातहतका कार्यालय अन्तर्गतका ४० वटा दुईपांग्रें सवारी साधनमा क्षति पुगेको छ । ५ वटा चारपांग्रे गाडीमा आगजनी गरिएको छ भने एउटा गाडी तोडफोड गरिएको सचिव मरहठ्ठाले बताए ।

प्रारम्भिक अनुमान अनुसार, भौतिक पूर्वाधार मन्त्रालयको मात्र करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । मन्त्रालयले प्रादेशिक कार्यालयको क्षति विवरण संकलन तथा भवनको मापदण्ड निर्धारणका लागि समिति गठन गरेर काम थालेको छ । मन्त्रालयअन्तर्गतको कार्यालयहरु सदस्य रहने गरी प्रदेशका १३ जिल्लाका प्रादेशिक कार्यालयको क्षति मूल्यांकन तथा मापदण्ड जाँचका लागि समिति गठन गरिएको हो । समितिमा विज्ञ समूहका २ जना सदस्य रहने व्यवस्था रहेको छ ।

प्रदेशमा रहेका स्रोत साधनको अधिकतम उपभोग गर्ने र अतिआवश्यक अवस्थामा मात्र विज्ञ तथा अन्य स्रोतबाट सहयोग लिने गरी समितिले अध्ययन थालेको बताइएको छ । समितिको सदस्यमा मन्त्रालयको आवास तथा भवन पूर्वाधार महाशाखाका प्रमुख रहने व्यवस्था रहेको छ । समितिले १३ जिल्लाका प्रादेशिक कार्यालयको पूर्वाधारतर्फको क्षति संकलन गरेर भवनहरु बस्न वा प्रयोग गर्न अनुकुल भए नभएको जाँचसहित प्रतिवेदन तयार गर्नेछ । समितिको प्रतिवेदन ७ दिनमा पेश गर्ने गरी निर्देशन गरिएको छ भने प्रतिवेदनका आधारमा प्रदेशको सचिवस्तरीय बैठकले माग गरे अनुसारको प्रतिवेदन तयार गरी पुनः निर्माणका लागि पेश हुनेछ ।

हेटौंडा–१ स्थित चौकीटोलमा रहेको मन्त्रालय जेनजी युवाको आन्दोलनको क्रममा प्रदर्शनकारीले आगो लगाउँदा जलेर नष्ट भएको थियो । आगलागीका कारण मन्त्रालयको ४ वटा कोठा बाहेक सबै जलेको हो । एउटै भवनमा रहेका ४ मन्त्रालय जलेर नष्ट हुँदा सोही भवनमा साढे २ तलामा रहेको भौतिक मन्त्रालय पनि जलेर नष्ट भएको हो । भुइँतलाको आधार तथा पहिलो र दोस्रो तलामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको अधिकांश कोठा र कागजात जलेको छ । यो मन्त्रालयको दक्षिणतर्फको २ र पूर्वतर्फको एक कोठा मात्रा जल्नबाट जोगिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार बसेको मन्त्री परिषद् बैठकले जेनजी आन्दोलनबाट पुगेको क्षतिको पुनर्निर्माण र प्रशासनिक सुधारका लागि सरकारले दुईवटा छुट्टाछुट्टै उच्चस्तरीय समिति गठन गरेको छ । क्षतिग्रस्त भएका मन्त्रालय र अन्य सरकारी निकायको तत्काल पुनस्र्थापना र सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाको संयोजकत्वमा समिति गठन गरिएको हो । मन्त्री डा. देवकोटाको संयोजकत्वमा रहेको समितिमा अर्थमन्त्री प्रभात तामाङ, श्रम रोजगार तथा यातायातमन्त्री जयराम थापा, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ सम्बन्धित मन्त्रालयका सचिवहरु सदस्य रहेका छन् ।

आपतकालीन अवस्थालाई ध्यानमा राख्दै समितिले खरिद प्रक्रियाको झन्झटविना तत्काल काम अघि बढाउने मन्त्री तामाङले बताए । त्यसैगरी, बैठकले अनावश्यक प्रशासनिक संरचना खारेज गर्ने तथा खर्च कटौतीका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेकोछ । प्रदेशको प्रशासनिक खर्च घटाउन र संरचनालाई चुस्त बनाउन कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*