हेटौंडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम बढ्दै : थप दुई उद्योग सञ्चालनको तयारी
हेटौंडा- हेटौंडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम बढ्दै गएको छ । यसैक्रममा औद्योगिक क्षेत्रभित्र थप दुई उद्योग सञ्चालनको तयारीमा छन् ।हिमालय एसीपी बोर्डस् प्रालि (एल्मुनियम बोर्ड बनाउने) र टीका इन्डष्ट्रिज प्रालि (चकलेट उद्योग) केही दिनभित्रै उत्पादन गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । लामो समयदेखि बन्द रहेका दुईवटा उद्योगको सम्झौता रद्द गरी सोही स्थानमा यी दुईवटा उद्योग सञ्चालनका लागि सम्झौता गरिएको सूचना अधिकारी नेपालले बताए । ‘सम्झौता भएलगत्तैबाट उद्योग सञ्चालनको तयारीमा सञ्चालकहरु जुटेका छन्’, उनले भने, ‘एकदुई साताभित्रै यी उद्योग सञ्चालनमा आउँछ ।’
यसअघि गत वैशाखदेखि लक्की पोलि इन्डष्ट्रिजले प्लाष्टिकका सामान उत्पादन र टोटल प्याकेजिङ प्रालि प्लाष्टिकको बोरा उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको थियो । गत २०८१ माघदेखि थ्रि स्टार ग्रुपले र·ीन तथा सादा कर्कटपाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका ससाना बाकस उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको थियो । नेपालका अनुसार औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका १३ वटा उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन अवस्थामा रहेकामध्ये अधिकांश उद्योग निर्माणको अन्तिमचरणमारहेको उनको भनाइ छ ।
यस्तै लामो समयदेखि बन्द रहेको सुप्रिम मेटल उद्योगले पनि फलामको काँटी उत्पादन सुरु गरेको सूचना अधिकारी नेपालले बताए । विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योग सञ्चालनका लागि सञ्चालकसँग सम्पर्क एवम् समन्वय भइरहेको उनले बताए । उनका अनुसार बन्द रहेकामध्ये डाइनेष्टी डिष्टलरी, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्रडक्ट प्रालि पुनः सञ्चालनको तयारी भइरहेको सञ्चालकबाट जानकारी प्राप्त भएको छ ।
अमेरिकी सरकारको आर्थिक सहयोगमा २०२० साल मङ्सिर २० गते स्थापना भएको यो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । कुल तीन हजार २२८ रोपनी क्षेत्रमा फैलिएको यो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेयपदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगकारुपमा सञ्चालनमा छन् । औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौंडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुणनियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण प्रयोगशाला, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड शाखालगायत निकाय सञ्चालनमा रहँदै आएको सूचना अधिकारी नेपालले बताए ।
कुल क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल पाँच सय ९७ रोपनी छ । औद्योगिकिकरणको माध्यमबाट मुलुकको आर्थिक विकासका लागि आवश्यक पर्ने आधारभूत पूर्वाधार जमिन, औद्योगिक भवन, सडक, विद्युत, पानी, ढल तथा अन्य सुविधाहरु एकै स्थानमा उपलव्ध गराउने उद्देश्य राखी अमेरिकी सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा औद्योगिक क्षेत्र निर्माण सुरु गरी बि.स.२०२० मंसिर २० गते हेटौंडा औद्योगिक क्षेत्र स्थापना भएको हो ।
यो औद्योगिक क्षेत्र मुलुकको सबैभन्दा ठुलो व्यापारिक नाका बीरगञ्ज र राजधानी काठमाडौंको मध्यभागमा अवस्थित मकवानपुरको त्रिभुवन राजपथ र पूर्वपश्चिम लोकमार्गसंगै जोडिएको तथा दक्षिणतर्फको चुरे वनक्षेत्रको काखमा रहेको छ । प्रारम्भिक अवस्थामा यस औद्योगिक क्षेत्र परियोजनाका रुपमा नेपाल औद्योगिक विकास निगम अन्तर्गत संचालित रहेकोमा वि.स. २०३१ सालदेखि विकास समितिअन्तर्गत गठित औद्योगिक सेवा केन्द्र र वि.स. २०४५ साउन १ देखि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गत रही उद्योगहरुलाई सेवा प्रदान गर्दै आएको छ । यस औद्योगिक क्षेत्रमा विशेष गरी ठुला तथा मझौला र वहुराष्ट्रिय लगानीमा स्थापित उद्योगहरु संचालन हुँदै आएका छन् ।







