बागमतीका क्षतिग्रस्त भवन एक महिनाभित्र मर्मत गरिने
हेटौंडा-जेनजी आन्दोलनका क्रममा भदौ २४ मा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बागमती प्रदेश सरकारको अधिकांश मन्त्रालयका भवन एक महिनाभित्र मर्मतसम्भार गरी पुनः प्रयोगमा ल्याइने भएको छ ।प्रदर्शनकारीले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसहित १० मन्त्रालयको भवनमा तोडफोड तथा आगजनी गरी क्षतिग्रस्त बनाएका थिए । क्षतिग्रस्त मन्त्रालयका भवनको प्राविधिकटोलीले गरेको अध्ययनका क्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालय बाहेक सबै मन्त्रालयको भवनमर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याउन सकिने प्रतिबेदन तयार गरेपछि प्रदेश सरकारले ती भवनहरुको तत्काल मर्मत सम्भारको काम अघि बढाउने प्रक्रिया सुरु
गरेको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।
उनकाअनुसार क्षतिग्रस्त मन्त्रालय भवनको मर्मतसम्भार गर्ने र ती मन्त्रालयलाई तत्काल अन्य भवनमा अस्थायी व्यवस्थापन गरेर मन्त्रालयको काम सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ । ‘तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएकामध्ये सहकारी तथा गरिबी निवारण मन्त्रालय बाहेक धेरैजसो मन्त्रालयको भवनलाई मर्मतसम्भार गरी सञ्चालन गर्न सक्ने प्राविधिकबाट मूल्यांकन भएको छ’, उनले भने, ‘क्षतिग्रस्त मन्त्रालयका भवनको मर्मतसम्भारको काम तत्काल अघि बढाइसकेका छौँ, छिट्टै काम सुरु हुन्छ ।’
हेटौंडा–१ चौकीटोलस्थित एउटै भवनमा सञ्चालनमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको भवन मर्मत सम्भारको काम अघि बढाइसकेको मन्त्री तामाङले बताए । यस्तै हेटौंडा–१० स्थित एउटै भवनमा सञ्चालित स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयको भवन पनि मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सक्ने प्राविधिक मूल्यांकन भएकोले ती भवनको मर्मतसम्भारको काम अघि बढाउने प्रक्रिया सुरु गरिने मन्त्री तामाङले बताए ।
उनकाअनुसार क्षतिग्रस्त आन्तरिक मामिला तथा कानुन मन्त्रालयको भवन पनि तत्काल मर्मतसम्भार गरेर पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ । क्षतिग्रस्त मन्त्रालय भवन एक महिनाभित्र मर्मतसम्भार गरी पुनः तीनै भवनबाट मन्त्रालय सञ्चालन गर्नेगरी काम अघि बढाइएको र भवन मर्मत नभएसम्म ती सबै मन्त्रालय अस्थायी रुपमा अन्य भवनमा व्यवस्थापन गरेर सञ्चालन गर्ने तयारी भइरहेको मन्त्री तामाङले जानकारी दिए । त्यसमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि नवनिर्मित सहरी विकास तथा भवन कार्यालयको नयाँ भवनबाट नियमित कामकाज सञ्चालनको तयारीगरेको छ ।
यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेटौंडा उपमहा नगरपालिका–१ को चाइवाक्वाटरमा रहेको आफ्नो मातहतको कृषि विकास निर्देशनालय र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको दुईवटा भवनमा स्थानान्तरण गरी अस्थायी रुपमा सञ्चालनको तयारी भइरहेको मन्त्री तामाङको भनाइ छ । यस्तै स्वास्थ्य मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडा–४ हुप्राचौरस्थित स्थानीय तहको भवनमा, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको भवनमा र सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उद्योग मन्त्रालयको भवनमा स्थानान्तरण गरेर अस्थायी रुपमा सञ्चालन गर्ने तयारी भएको मन्त्री तामाङले बताए ।
जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट क्षति पुगेका बागमती प्रदेशका सरकारी संरचनाहरुको भौतिक पूर्वाधार विकास मन्त्रालय र विज्ञ समूहको संयुक्त टोलीले प्राविधिक परीक्षण सुरु गरेको छ । प्रशासनिक खर्च कटौती गरी चुस्त रुपमा मन्त्रालयको कार्यसम्पादन गर्ने तयारीमा प्रदेश सरकार अगाडि बढिरहेको बताइएको छ ।







