नारायणगढ–मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्गमा चाप
हेटौंडा-बारम्बारको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक सडकमार्गमा सवारीको चाप ह्वात्तै बढेको छ । विशेषगरी पूर्वतर्फ र पश्चिमतर्फ जाने साना सवारीसाधन हेटौंडा हुँदै गन्तव्यमा जाने गरेका छन् । सवारीको चाप बढेसँगै ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न भ्याईनभ्याई भएको छ । काठमाडौं जाने ठूला तथा मालवाहक सवारीसाधनलाई भने हेटौंडाको चौकीटोलमा रोकिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–काठमाडौं जोड्ने चारवटै वैकल्पिक मार्ग सुचारु अवस्थामा छन् । कान्तिलोकपथ, त्रिभुवन राजपथ, हेटौंडा–भीमफेदी–सिस्नेरी–दक्षिणकाली र हेटौंडा–कुलेखानी–फाखेल–काठमाडौंमा कुनै अवरोध नरहेको मकवानपुरका प्रहरी प्रवक्ता श्यामु आर्यालले बताए ।
विशेषगरी त्रिभुवन राजपथमा सवारीको अत्याधिक चाप रहेको उनले जानकारी दिए । सडक विभागले पनि नारायणगढ–मुग्लिन सडकको विकल्पका रुपमा यी वैकल्पिक मार्गहरुको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । सामान्य वर्षामै अवरुद्ध हुने यी सडकमार्गमा यात्रु र सवारीको चापलाई मध्यनजर गर्दै, सडक खुलाउनका लागि आवश्यक जेसिबी तथा जनशक्ति तयारी अवस्थामा राखिएको प्रवक्ता आर्यालले बताए । नारयणगढ–मुग्लिन सडक खुल्नु अघि हेटौंडा–काठमाडौं ठूला सवारी साधन त्रिभुवन राजपथ भएर जानु पर्दथ्यो । २०१३ सालमा संचालनमा आएको यो सडकको दुरी एक सय ३२ किमि रहेको छ ।
पूर्व–पश्चिम राजमार्गमा भने हाल पश्चिमबाट मात्रै सवारी साधन आइरहेका छन् । चितवनको तुइनखोलामा खसेको सुक्खा पहिरो पन्छाउने काम बुधबार बिहानैदेखि भइरहेको छ । सडकका दुवैतर्फबाट २÷२ वटा गरी ४ वटा उपकरणले बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताए । आचार्यकाअनुसार अपरान्ह ३ बजेसम्ममा सडकको दुवैतर्फ करिब ६० मिटर मात्रै पहिरो पन्छाइएको छ । मंगलबार अपरान्ह खसेको भयंकर पहिरोले झन्डै १६० मिटर सडक क्षति पुगेको छ भने २० मिटर अग्लो पहाड नै बनेको उनले बताए ।
आचार्यले भने, ‘फिल्डमा ६ वटा उपकरणको व्यवस्था गरिएको छ । तर, एक पटकमा एकातर्फ दुईवटा भन्दा बढी उपकरण चलाउन मिल्दैन । त्यसैले दुवैतर्फ गरी ४ वटा उपकरणले बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ ।’ उनले अगाडि भने, ‘पहिरो पन्छाउँदै जाँदा ठूलाठूला ढुंगाहरु भेटिएको छ । जसका कारण पहिरो पन्छाउन थप कठिनाइ भइरहेको छ । ठूलाठूला ढुंगाका कारण पहिरो पन्छाउने कामले गतिलिन सकेको छैन ।’ थप पहिरो नखसेको अवस्थामा बिहीबार साँझसम्म पहिरो पन्छाउन सकिन्छ कि भन्ने अपेक्षा गरिएको उनले बताए ।
पहिरो पन्छाउन शुक्रबारसम्म लाग्न सक्छ ः डोजर चालक
डोजर चालक कमलेश चौधरी यसैगरी निरन्तर पहिरो पन्छाउने काम भएमा पर्सिसम्म पहिरो पन्छाएर सकिने विश्वास व्यक्तगर्छन् । उनी भन्छन्, ‘पहिरो खस्ने जोखिम उत्तिकै छ । तर, पनि जोखिम मोलेर हामीले पहिरो पन्छाइरहेका छौं । सडकमा अलपत्र परेका यात्रुको दुःख देखेर आफूहरुलाई काम गर्ने हौसला मिलेको छ । आत्मबल बढेको छ ।’ एकपटकमा दुईवटा भन्दा बढी डोजर प्रयोग गर्न नमिल्ने भएका कारण दुवैतर्फ ४ वटा डोजरले पहिरो पन्छाउने काम भइरहेको उनी बताउँछन् । दुईवटा भन्दा बढी डोजर प्रयोग गर्दा जोखिम बढी रहेको उनले बताए ।
वैकल्पिक रुट प्रयोग गर्न प्रशासनको अनुरोध
सुक्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक मंगलबार अपरान्हदेखि पूर्णरुपमा बन्द भएको छ । पहिरोका कारण यो सडकखण्ड प्रयोग गर्ने सवारीसाधनलाई चितवन प्रशासनले सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेकोछ । वैकल्पिक मार्गको रुपमा महोत्तरीको बर्दिवास–सिन्धुली–काठमाडौं, मकवानपुरको हेटौंडाको त्रिभुवन राजपथ, रुपन्देहीको बुटवल, नवलपरासी–बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको हो ।







