एमसिए–नेपालद्वारा ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका सम्झौता

नेपाली कम्पनी छनोट, उर्जा ब्यापारको ढोका खुल्दै
साझाकुरा
२०८२ आश्विन ११, शनिबार ११:३६

हेटौंडा- मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनको ११७ किमि खण्डको निर्माण सम्झौता गरेको छ । यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको हो । आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौंमा निर्माणाधीन लप्सिफेदी सबस्टेशनबाट नुवाकोटमा निर्माणाधीन रातमाटे सबस्टेशन हुँदै मकवानपुरमा निर्माणाधीन नयाँ हेटौंडा सबस्टेशनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्नेछ ।

अन्तरर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट एमसिए–नेपालले प्रदान गरेको ठेक्का करिब ७६६ दशमलब ५० लाख अमेरिकी डलरको रहेको छ । यस सम्झौताअन्तर्गत ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालन लगायत काम गरिनेछ । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र आशिश–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले शुक्रबार एक समारोहबीच एमसीसी र एमसिए–नेपालका पदाधिकारीको समुपस्थितिमा ठेक्का सम्झौतामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भने, ‘यस सम्झौतामा भएको हस्ताक्षरले नेपाल कम्प्याक्ट कार्यान्वयनमा भइरहेको उल्लेख्य प्रगतिको प्रतिनिधित्व गर्छ ।

यो उपलब्धि यस महत्वपूर्ण प्रसारण लाइनको सफलतापूर्ण निर्माण तथा नेपाली जनताको भावी विकास एवं समृद्धिका लागि एमसिए–नेपालको गहन प्रतिबद्धता तथा लगनशीलताको परिणाम हो ।’एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले भने, ‘आज आशिश–बोज्लर संयुक्त उपक्रमसँग यो सम्झौतामा हस्ताक्षर गरेर एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा एमसिए–नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । विद्युत् प्रसारण आयोजनाअन्तर्गत विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माणसम्बन्धी सम्झौता सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि हो ।

’ एमसिए–नेपालले नुवाकोटमा निर्माणाधीनरातमाटे सबस्टेशनदेखि तनहुँमा निर्माणाधीन नयाँ दमौली सबस्टेशन सम्मको, यो सबस्टेशनदेखि नवलपरासी–बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन नयाँ बुटवल सबस्टेशनसम्मको र त्यहाँदेखि नेपाल–भारत सीमासम्म गरी १९८ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता यसअघि नै गरिसकेको छ ।

यसका अतिरिक्तरातमाटे सबस्टेशन, नयाँ दमौली सबस्टेशन र नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी सम्झौता पनि भइसकेको छ । एमसीसी नेपाल कम्प्याक्ट निजीक्षेत्रबाट लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण सिर्जना गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि प्रदान गरिएको ऐतिहासिक सहायता हो । विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआवद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पु¥याउने उद्देश्य एमसीसी नेपाल कम्प्याक्टले लिएको छ ।

अमेरिकी सरकारबाट पछिल्लो समयमा वैदेशिक सहायता समीक्षा सम्पन्न भएपछि दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसिसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको हो । यो उपलब्धिले नेपालमा सञ्चालन भइरहेका रुपान्तरणकारी पूर्वाधार निर्माण सम्बन्धी साझेदारीमध्ये एक एमसिसी नेपाल कम्प्याक्टको सफल कार्यान्वयनप्रति दुवै सरकारको प्रतिबद्धताको पुष्टि गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी घटाउन काम गर्ने स्वतन्त्र अमेरिकी सरकारी निकाय हो । सन् २००४ मा स्थापना गरिएको एमसिसीले सुशासन, भ्रष्टाचार नियन्त्रण, लोकतान्त्रिक अधिकारप्रति सम्मानलगायत महत्वपूर्ण मापदण्ड पालना गर्ने राष्ट्रलाई समयसीमायुक्त अनुदान र सहायता प्रदान गर्दछ ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) नेपाल सरकारले एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका आयोजनाहरु कार्यान्वयनका लागि वि.स.२०७५ वैशाखमा विकास समिति ऐन, २०१३ अन्तर्गत गठन गरिएको सरकारी स्वामित्वको मान्यताप्राप्त निकाय हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*