आज देशभर फूलपाती भित्र्याइँदै
हेटौंडा- बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजाकोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदैछ । नवदुर्गामध्येकी सातौँ कालरात्रिदेवीको विधिपूर्वक पूजाआराधना पनि गरिँदैछ ।दुर्गापक्षको सातौं दिन कालरात्रिदेवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवतीदेवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता छ । देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्णवर्णको हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवीस्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना, दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी र बाहिरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको हुन्छ । बडादशैंको सातौं दिन आज नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दैछ । फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । यो कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । आजैका दिन गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइँदै छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैंघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहँदै आएको छ । गोरखा दरबारको दशैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट सेनामार्फत् हनुमानढोका पठाउने प्रचलन रहँदै आएको छ ।







