बागमती सरकारको ‘क्विक रेस्पोन्टस टिम’को सक्रियता
हेटौंडा, २२ असोज÷ बागमती प्रदेश सरकारले गठन गरेको द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम) को सक्रियतामा असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीका सडक खण्डहरु २४ घण्टाभित्र सञ्चालनमा आए ।बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत् रहेको टोलीले सक्रियता देखाउँदै भीमफेदी–कुलेखानी–फाखेल र भीमफेदी–कुलेखानी–सिस्नेरी खण्डमा भएको अवरोध २४ घण्टाभित्रै हटाएर सडक पूर्णरुपमा सञ्चालनमा ल्याएको हो ।
विपत् प्रतिकार्य टोलीको पहलमा सडक खुलाइएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक नवीनकुमार सिंहले बताए । सिंहका अनुसार स्थानीय प्रशासन र सुरक्षाकर्मीको समन्वयमा फाखेल सडकखण्ड तीन घण्टाभित्रै अर्थात् शनिबार साँझ ४ बजेदेखि सञ्चालनमा ल्याइएको थियो । सिस्नेरी खण्डमा भने वर्षा रोकिएलगत्तै एक्स्काभेटर सहितको टोली परिचालन गरी सोमबार बिहानदेखि आवागमन पूर्णरुपमा खुलाइएको हो ।
लगातारको वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोलानजिकै खसेको पहिरो र सिस्नेरी बजारको डोडारे खोलामा आएको बाढीले सडक कटान गर्दा हेटौंडा–काठमाडौं सम्पर्क टुटेको थियो । सुरक्षाको कारण राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज १८ गते अत्यावश्यक बाहेकका सवारीसाधनलाई तीनदिनका लागि यो सडक भएर काठमाडौं प्रवेशमा रोक लगाएको थियो ।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले १८ गते शनिबार आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीको संयोजकत्वमा युनिफाइड टिम गठन गर्दै विपत् न्यूनीकरण र प्रदेश मातहतका सडक अवरुद्ध भए तत्काल अवरोध हटाउन निर्देशन दिएका थिए । मुख्यमन्त्री बानियाँले प्राकृतिक विपतका वेला सर्वसाधारणको जिउधनको सुरक्षा प्रदेशको मुख्य जिम्मेवारी भएकाले प्रदेश सरकार मातहतका निकायलाई सतर्क अवस्थामा बस्न निर्देशन दिएका थिए । भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले दसैँ मनाएर फर्कने यात्रुलाई कुनै असुविधा नहोस् भनेर द्रुतगतिमा काम गरेको बताए ।
सम्भावित अवरोधलाई तत्काल सम्बोधन गर्न विभिन्न चार प्रमुख स्थानमा उपकरणसहितका टोली ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएको पनि उनले जानकारी दिए । मन्त्रालयका सचिव ईश्वरचन्द्र महराका अनुसार बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै भीमफेदी–कुलेखानी–फाखेल, भीमफेदी–कुलेखानी–सिस्नेरी, मातातीर्थ र भैंसे–भीमफेदी गरी चार स्थानमा जेसिबी, एक्स्काभेटर लगायत उपकरणसहित टोली तयारी अवस्थामा राखिएको छ ।
विशेषगरी भीमफेदी–कुलेखानी–फाखेल र भीमफेदी–कुलेखानी–सिस्नेरी सडक हजारौँ सवारीसाधनको प्रमुख वैकल्पिक मार्ग भएकाले यसको सञ्चालनमा प्रदेश सरकार तयारी अवस्थामा रहेको उनले बताए । हाल बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जानका लागि त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, भीमफेदी–कुलेखानी–सिस्नेरी र कान्तिलोकपथ पूर्णरुपमा सञ्चालनमा आएका छन् । तर, सुरक्षा र जोखिम न्यूनीकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार रातिदेखि अर्को सूचना नभएसम्मका लागि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ ।
पाँच करोड ४० लाख बजेट निकासा
मनसुनजन्य विपतको पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारले पाँच करोड ४० लाख रुपैयाँ बजेट निकासा गरेको छ । अविरल वर्षाबाट उत्पन्न विपतको व्यवस्थापनलाई लक्षित गर्दै प्रदेश सरकारले बजेट स्थानीय तहमा उपलब्ध गराएको हो ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपत् व्यवस्थापन महाशाखा प्रमुख सुरेश खनालका अनुसार प्रदेश विपत् व्यवस्थापन परिषद्को निर्णयअनुसार २१ वटा स्थानीय तहलाई दुई करोड १० लाख र १६ वटा स्थानीय तहलाई दुई करोड ६५ लाख रुपैयाँ पूर्वतयारी तथा जोखिमयुक्त क्षेत्र संरक्षणका लागि निकासा गरिएको हो ।
प्रत्येक जिल्ला विपत् व्यवस्थापन समितिलाई पाँच लाखका दरले ६५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । खनालका अनुसार मनसुन पूर्वतयारी अन्तर्गत प्रदेशका १६ पालिकामा विपत् उद्दार सामग्रीसहितका गोदामघर समेत निर्माण गरिएको छ ।
असोज १८ को वर्षाबाट बागमतीमा ३५ विपद्का घटना, एकको मृत्यु
मन्त्रालयको विवरण अनुसार असोज १८ गतेको वर्षाबाट प्रदेशभर ३५ वटा विपद्का घटना भएका छन् । ती घटनाबाट १६२ परिवार प्रभावित भएका छन् भने काभ्रेपलाञ्चोकमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । यस्तै, रसुवामा बाढीका कारण चारजना बेपत्ता भएका छन् । ललितपुरमा पहिरोमा परी दुईजना र मकवानपुरमा चट्याङ लागेर एकजना घाइते भएका छन् ।
यी घटनाबाट करिब चार लाख ५० हजार रुपैयाँबराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । अविरल वर्षाका कारण अवरुद्ध सडकमा फसेका १०३ जना आपतकालीन यात्रु र पर्यटकलाई उद्दार गरिएको बागमती प्रदेश यातायात निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक इन्जिनियर नवीन सिंहका अनुसार १८ असोज राति १० बजे महालक्ष्मी खोलामा खसेको पहिरो पन्छाई १५ वटा सवारीसाधनलाई सुरक्षितरुपमा काठमाडौं पठाइएको थियो ।







