हेटौंडा उपमहानगरले चालू वर्षको बजेट ५० करोड कटौती गर्दै

साझाकुरा
२०८२ आश्विन २९, बुधबार १०:००

हेटौंडा–हेटौंडा उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गर्ने भएको छ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा उपमहानगरका संरचनामा भएका क्षतिले कार्यालयको प्राथमिकतामा परिवर्तन आवश्यक देखिएको र राजश्व अनुमानमा लक्ष्यअनुसार प्रगति नहुने आंकलन गर्दै बजेट संशोधनको तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले जानकारी दिए । असोज २३ गते बसेको कार्यपालिका बैठकले विशेष नगरसभाबाट २ अर्ब ९० करोड ३ लाख १० हजारको अनुमानित बजेटको संशोधन प्रक्रिया अगाडि बढाउन निर्णय गरेको छ । उपमहानगरले गत १० असारमा चालू आव लागि २ अर्ब ९० करोडको बजेट विनियोजन गरेको थियो । विनियोजित बजेट गत आर्थिक वर्ष २०८१/८२ को भन्दा १९ प्रतिशतले वृद्धि गरी प्रस्तुत गरिएको हो ।

१७ औं नगरसभामा पेस गरेको बजेटमा नगरस्तरीय पूर्वाधार विकासतर्फ ६२ करोड ३९ लाख ४१ हजार, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३२ करोड २५ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको थियो । आर्थिक विकासतर्फ ४ करोड ६९ लाख ७ हजार रुपैयाँ, शिक्षातर्फ ५ करोड ५१ लाख, स्वास्थ्यतर्फ २ करोड ७८ लाख, युवा तथा खेलकुद विकासतर्फ २ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको हो । यस्तै, खर्च व्यहोर्ने स्रोततर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदान १ अर्ब १९ करोड ५० लाख, प्रदेश सरकारबाट ११ करोड, आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार र नगर विकास कोषबाट ऋण ३ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको थियो ।

उपमहानगरले जेनजी प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनीबाट उपमहानगरको प्रशासनिक भवन, ७ वटा वडा कार्यालय, स्वास्थ्य संस्थालगायत सेवा केन्द्रमा र ११ वटा सानासवारी, दुईपांग्रे सवारी, विद्युतीय उपकरण, फर्निचरमा क्षति पुगेकाले पुनः निर्माणका लागि बजेट संशोधन आवश्यक रहेको औंल्याएको छ । कार्यपालिका बैठकले ३२ करोड ६५ लाख ५५ हजारको क्षति मूल्यांकन समितिको प्रतिवेदन पनि स्वीकृत गरेको छ । उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बजेटको लक्ष्य नै परिवर्तन गर्नुपर्ने देखिएकोले बजेट संशोधन गर्न खोजिएको बताए । उनले बिनियोजित बजेटका अनावश्यक र आगामी वर्षमा पनि कार्यान्वयन गर्दा हुने प्रकृतिका कार्यक्रम कटौती गरिने बताए । ‘तत्काल आवश्यक नदेखिएका योजना काट्छौं । त्यसैले हाम्रो बजेटको आकार नै घट्छ’ न्यौपानेले भने ।

प्रमुख प्रशासकीय अधिकृत गौतमले बजेट पुनःलेखन वा संशोधन गर्नुपर्ने दुईवटा कारण देखाएका छन् । गत असारमा बजेट ल्याउँदा उपमहानगरको प्राथमिकता विकास निर्माणका योजनामा हुनु र हालको परिस्थितिले प्राथमिकता परिवर्तन भएर पुनःनिर्माण रहेका तथा अनुमान गरिएका राजश्व अब नउठ्ने देखिएकोले बजेट संशोधन आवश्यक भएको उनले औंल्याए । अर्को कारण औचित्य पुष्टि नहुने प्रकृतिका अनावश्यक योजना कटौती गर्ने र नगरबासीलाई प्रत्यक्ष राहत दिने कार्यक्रम ल्याउनु रहेको गौतमले बताए । संशोधन हुँदा ५० करोडका कार्यक्रम कटौती हुने भएको छ । संशोधनपछि उपमहानगरको बजेट २ अर्ब ४० करोड हाराहारीको मात्रै हुने गौतमले जानकारी दिए । संघ सरकार र प्रदेशबाट आउने अनुदानहरु पनि घट्छ ।

‘हाम्रो आफ्नै आन्तरिक स्रोत पनि घट्ने देखिएका छन् । पहिला नै बढी बजेट बनाइएको हो । अब ५० करोड नै घटाउँछौं’ गौतमले भने । तालिम, गोष्ठी, सेमिनारलगायतका कार्यक्रम घटाउने तयारी गरिएको छ । बजेटमा गत आवकै ३२ करोड बढी भुक्तानी दायित्वलगायत अनिवार्य दायित्व यथावत रहने भएको छ । विपद् व्यवस्थापनमा बजेट बिनियोजन गरेर जानुपर्ने प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए । जेनजी युवाको आन्दोलनका क्रममा तोडफोड र आगजनी हुँदा हेटौंडा उपमहानगरको भौतिक सम्पत्तिमा ठुलो क्षति पुगेको थियो । उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिनाको संयोजकत्वमा गठित क्षति मूल्यांकन समितिको अनुसार आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट उपमहानगरपालिकामा करिब ३२ करोड ५० लाख ७० हजार रुपैयाँबराबरको क्षति भएको हो ।

समितिका संयोजक तिमल्सिनाका अनुसार उपमहानगरपालिकाको हेटौंडा–२ स्थित मुख्य भवनसहित १, ३, ४, १०, ११, १५ र १९ नम्बर वडा कार्यालयमा क्षति पुगेको छ । उनकाअनुसार ११, १५ र १९ नम्बर वडा कार्यालय भवनमै आगजनी र तोडफोड भएको छ भने अन्य वडामा तोडफोडसहित सामान बाहिर निकालेर जलाइएको छ । यस्तै हेटौंडा– ११ स्थित प्रादेशिक कृषि थोकबजारमा समेत ठुलो क्षति पुगेको छ । प्राविधिक मूल्यांकनअनुसार उपमहानगरको भवनमा मात्रै १६ करोड ३७ लाख ८८ हजार रुपैयाँबराबरको क्षति भएको संयोजक तिमल्सिनाको भनाइ छ । १८ वटा विभिन्न प्रकारका चारपांग्रे सवारीसाधनमध्ये नौवटा पूर्णरुपमा ध्वस्त भएका छन् भने १७ वटा मोटरसाइकल, तीनवटा स्कुटर, एउटा अटो जलेट नष्ट भएका छन् । उपमहानगरपालिकाका सवारीसाधन पूर्णरुपमा क्षतिग्रस्त हुँदा करिब ६ करोड ७३ लाख ४० हजार रुपैयाँबराबरको क्षति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*