भाइटीकाको उत्तम साइत ११ः३९ बजे

साझाकुरा
२०८२ आश्विन ३०, बिहीबार १०:००

हेटौंडा–नेपाल पञ्चा· निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए ।

कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चरबेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभसाइत दिइएको समितिका सदस्य प्रा. देवमणि भट्टराईले जानकारी दिए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन’, उनले भने । यसवर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीपदान सुरु गरिन्छ । धनत्रयोदशी र धनतेरसपर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार कागतिहार परेको छ । यसैदिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।

कात्तिक ३ गते सोमबार बिहान नरकस्नानसहित कुकुरतिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसैदिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो २ः५२ बजेसम्म कात्तिककृष्णचतुर्दशी र त्यसपछि आँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँशीतिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मंगलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ४ः२९ बजेसम्म औँशीतिथि रहेको समितिले जनाएको छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीनपात्रो (पञ्चा·) नेवार समुदायका पञ्चा·कारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चा·कारले पनि कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने उल्लेख गरेका छन् । यसैदिन यसवर्ष नेपालसंवत् अनुसार नयाँवर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँवर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताए । यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ ।

शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाइलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । प्रत्येक वर्ष कात्तिक कृष्णत्रयोदशीदेखि कात्तिक शुक्लद्वितीयासम्म यमपञ्चक भनिने तिहारपर्व मनाइन्छ ।

यसपर्वमा कात्तिक कृष्णत्रयोदशीको साँझदेखि कात्तिक शुक्लद्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको संख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यसअवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतकारुपमा मीठा परिकार खान दिएर खुशी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*