जेनजी पुस्ताको भावनाअनुरुप कार्यसम्पादन गर्नुपर्छ : प्रहरीप्रमुख पौडेल

साझाकुरा
२०८२ कार्तिक २, शनिबार १२:२२

हेटौंडा- बागमती प्रदेशका प्रहरीप्रमुख प्रहरी नायवमहानिरीक्षक अरुण पौडेलले जेनजी पुस्ताको भावनाअनुरुप कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।७० औं प्रहरी दिवसको अवसरमा शुक्रबार हेटौंडा–११ थानाभ¥याङस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रहरीप्रमुख पौडेलले गत भदौ २३ र २४ गतेको आन्दोलनबाट गिरेको मनोबललाई उच्च बनाई राष्ट्र र जनताको सेवामा समर्पित भइ कामगर्न निर्देशन दिए । नागरिक र प्रहरीको सहकार्यबाटै अपराध रोकथाम र न्युनीकरण गर्न सकिने उनको भनाई छ । नागरिकको सहयोगबाट नै प्रहरीले गर्ने अनुसन्धानमा सफलता मिल्ने उनले बताए । प्रहरीप्रमुख पौडेलले प्रहरी संगठनको भौतिक संरचना निर्माण र आन्दोलनको क्रममा लुटिएका हतियारहरु जोगाउन नागरिकको ठुलो भूमिका रहेको उल्लेख गरे ।

प्रहरीप्रमुख पौडेलले देशभित्र आपतविपत आइपरेको बेला प्रहरी अग्रपंक्तिमा रहँदै आएको बताएका छन् । द्वन्द्वकाल, महामारीको समयमा समेत उच्चमनोबलका साथ प्रहरी संगठन जनताको सेवामा लागेको उनले उल्लेख गरे ।प्रहरीप्रमुख पौडेलले जनतालाई सर्वोपरी ठान्दै राष्ट्रसेवामा समर्पित हुँदा प्रहरी संगठनले धेरै अपुरणीय क्षति व्यहोर्नुपरेको बताए । सत्य सेवा सुरक्षणम्को मुलमर्मलाई आत्मसात् गर्दै भय र त्रासबाट मुक्तभई निष्पक्ष र पारदर्शी जनसेवाको लागि बागमती प्रदेश प्रहरी तत्पर भएको उनको भनाई छ । कार्यक्रममा प्रहरी संगठनबाट प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा सहादत प्राप्त गर्ने अमरप्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

भीमफेदी गाउँपालिका–५ सुपिङ निवासी अमरप्रहरी प्रहरी नायवनिरीक्षक महेन्द्र रानाको धर्मपत्नी सीता राना, हेटौडा उपमहानगरपालिका–१५ निवासी अमरप्रहरी प्रहरीहवल्दार दिलबहादुर सुनारको धर्मपत्नी बुद्धिमाया सुनार, भीमफेदी– ५ निवासी अमरप्रहरी प्रहरीहवल्दार रामचन्द्र रुचालको भाइ राजेन्द्र रुचाल मगर, हेटौडा उपमहानगरपालिका–६ निवासी अमरप्रहरी प्रहरीहवल्दार रविन्द्र न्यौपानेको बुवा महादेवप्रसाद न्यौपाने, हेटौडा उपमहानगरपालिका–१४ मयुरधाप निवासी अमरप्रहरी प्रहरीहवल्दार गणेश थापाको आमा पार्वती थापालाई सम्मान गरिएको हो ।

हेटौडा उपमहानगरपालिका–१७ निवासी अमरप्रहरी प्रहरीहवल्दार दयाराम श्रेष्ठको भाउजु पदमा श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका–८ लाउरेनीचोक निवासी अमरप्रहरी प्रहरीहवल्दार प्रेमबहादुर थिङको दाइ कान्छा थिंङ, राक्सीराङ गाउँपालिका–५ चैनपुर निवासी अमरप्रहरी प्रहरीहवल्दार शिवनकुमार प्रजाको धर्मपत्नी समिताकुमारी प्रजा, साविक मनहरी गाविस–७ हाल हेटौडा उपमहानगरपालिका–२ सानोपोखरा निवासी अमरप्रहरी प्रहरीजवान रघुनाथ ढकालको बुबा रामप्रसाद ढकाललाई प्रदेश प्रहरीप्रमुख पौडेलले सम्मान गरेका हुन् ।

त्यसैगरी प्रहरीदर्पण कार्यक्रममार्फत सुरक्षित समाज निर्माणमा भूमिका खेलेको भन्दै टिम टेलिभिजन र नेशनल गोल्ड टेलिभिजनलाई प्रशंसापत्र प्रदान गरिएको थियो । दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै बागमती प्रदेश प्रहरी गण हेटौडाका प्रमुख प्रहरीउपरीक्षक भीमकिरण बोगटी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुँयाल, बागमती प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक बुद्धिमान दोङ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत प्रहरी नायवनिरीक्षक दीपेन्द्रकुमार थापा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत प्रहरी सहायकनिरीक्षक मानबहादुर कुमाललाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा ब्याण्ड प्राविधिक प्रहरी वरिष्ठहवल्दार सुरेश परियार, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्राविधिक प्रहरीहवल्दार निरु घलान, बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत प्रहरी सहायकहवल्दार तुलबहादुर मगर, प्रहरी सहायकहवल्दार सुरज भट्टराई, प्रहरी सहायकहवल्दार लिला केसी र प्रहरी जवान बिष्णु खत्रीलाई नगदसहित सम्मान गरिएको थियो । वडाप्रहरी कार्यालय सानोपोखरा मकवानपुरका प्रमुख प्रहरीनिरीक्षक प्रज्वल थपलिया र इलाका प्रहरी कार्यालय मुग्लिङ चितवनका प्रमुख प्रहरीनिरीक्षक प्रतीक सिंहलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीउपरीक्षक सुवासचन्द्र बोहरा, प्रहरी उपरीक्षक डिल्लीराज पाण्डे, ढकेन्द्र खतिवडा, भीमकिरण बोगटी, पूर्वप्रहरी कर्मचारीलगायतको उपस्थिति रहेको थियो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*