तिहारपछि बागमती प्रदेशसभा बैठक बस्ने तयारी

दलहरु आन्तरिक तयारीमा व्यस्त
साझाकुरा
२०८२ कार्तिक ३, आईतवार १२:२३

हेटौंडा-गत भदौ २३ र २४ को जेनजी आन्दोलनबाट बागमती प्रदेशसभा भवन क्षतिग्रस्त भएसँगै अवरुद्ध प्रदेशसभाको बैठक तिहारपछि सञ्चालन गर्ने तयारी थालिएको छ । प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री सभाहलमा बैठक राख्ने तयारी गरिएको हो । प्रदेशसभाको भवन क्षतिग्रस्त भएपछि तत्कालका लागि हेटौँडा उपमहानगरपालिका कार्यालय पछाडिको भवनमा अस्थायी रुपमा बैठक सञ्चालन गर्नका लागि मर्मतसम्भार कार्य भइरहेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालनको तयारी गरेको हो । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको भवनको अधिकांश भाग जलेका छन् ।

अल्मोनियम र युपिभिसी प्रोफाइलबाट निर्माण गरिएको भवनको सरसफाइ र विद्युतीकरणको काम गरेर बैठक चलाउने तयारीमा सरकार अघि बढेको हो ।सहरी विकास तथा भवन कार्यालयले सभाहलको व्यवस्थापनको काम गरिरहेको छ । जलेका भाग हटाएर रंगरोगन गर्ने र अस्थायी प्रकृतिको व्यवस्थापनमा कार्यालयले काम गरिरहेको हो । कार्यालयका प्रमुख सुबोध अधिकारीका अनुसार यो भवनमा जलेका स्थानमा सफा गरेर रङ लगाउने र विद्युतीकरणको काम गरिरहेको छ । ‘तिहारअघि भवनको मर्मतसम्भारको काम सकिने छ’ कार्यालयप्रमुख अधिकारीले भने । प्रदेशसभा सचिव रामकुमार पौडेलले पनि उपमहानगरपालिकाको क्षति भएको हललाई मर्मतसम्भार गरेर प्रदेशसभाको बैठक बस्ने तयारी गरिएको जानकारी दिए ।

‘सहरी विकास तथा भवन कार्यालय मकवानपुरले सभाहलको प्रारम्भिकचरणको मर्मत, सरसफाइ, विद्युत् जडान र रङरोगनको काम गरिरहेको छ, त्यही हलमा प्रदेशसभाको अस्थायी बैठक बस्ने तयारी भएको छ’ उनले भने, ‘दलहरुको आन्तरिक तयारी पूरा नहुँदा प्रदेशसभाको बैठक बस्न सकेको छैन । आन्दोलनपछि दसैँमा बैठक बस्ने भनिए पनि दलहरुबीचको आन्तरिक तयारी अझै जुट्न सकेको छैन ।’

जेनजी समूहको आन्दोलन पश्चात् सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका थिए । प्रदेशसभा नियमावली २०७४ को नियम १८४ बमोजिम सभामुखले दिएको राजीनामा प्रदेशसभाको बैठकमार्फत् वा सूचनापत्रमार्फत् उपसभामुखले जानकारी गराउनुपर्ने प्रावधान रहेपनि सभाको बैठक बस्न नसक्दा कार्य अधुरै रहेको छ । अब बस्ने प्रदेशसभाको बैठकमा सभामुखको राजीनामा टुंग्याउने र नयाँ सभामुखको निर्वाचन प्रव्रिmयामा जाने तयारी रहेको छ । सभामुखका लागि कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै दलले दाबी गरेका छन् ।

बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धन सरकार भएपनि दुवै दलले सभामुखको दाबी गर्दा सहमति जुट्न सकेको छैन । कांग्रेसले प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकोले सभामुख पदमा आफ्नो दाबी स्वभाविक रहेको तर्क गरेको छ । यता, सत्ता साझेदार नेकपा एमालेले पनि सभामुख पदमा आफूले दाबी गर्ने निर्णय गरेको छ । एमालेले सरकारको नेतृत्व कांग्रेसले गरिरहेकोले उपसभामुख अप्सरा चापागाईंलाई सभामुख बनाएर अघि बढ्न सकिने प्रस्ताव प्रस्तुत गरेको छ । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पनि सभामुख पदमा दाबी गरेको छ । माओवादी केन्द्रले सदनको निष्पक्ष सञ्चालनका लागि सरकार बाहिरको दललाई सभामुख दिनुपर्ने तर्कसहित दाबी गरेको हो । प्रदेशसभाको यो दोस्रो कार्यकाल हो । प्रदेशसभाको पहिलो कार्यकालमा एमालेका सानुकुमार श्रेष्ठले पाँच वर्ष सभामुखको भूमिका निर्वाह गरेका थिए ।

४ विधेयक छलफलको क्रममा
प्रदेशसभामा हाल चार विधेयक छलफलका क्रममा रहेका छन् । चिठ्ठा विधेयक दुई वर्षअघि प्रदेशसभामा दर्ता भएको थियो । यो अन्तिमचरणमा रहेको छ । प्रदेश चलचित्रसम्बन्धी बनेको विधेयक छलफलको चरणमा रहेको छ । प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा बनेको विधेयक दर्ता भएको प्रदेशसभा सचिव पौडेलले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा १२ करोड रुपैयाँमा निर्मित नयाँ भवन र पुरानो हलसहितको भवन पूर्णरुपमा क्षति भएको छ ।

पुरानो हलसहितको भवन २०७२ सालको भूकम्पमा पनि क्षति भएको थियो । आन्दोलनका क्रममा आगलागी हुँदा लेखा, प्रशासन र कार्य व्यवस्थाको कागजात जलेर नष्ट भएको छ । प्रदेशसभा मात्रै करिब ३३ करोडको क्षति भएको दाबी गरिएको छ । प्रहरी मुचुल्कापश्चात् क्षति भएको सवारीको विवरण र भौतिक पूर्वाधार विकास मन्त्रालयले भवनको अवलोकन र नापजाँचपश्चात् यहाँको क्षतिको विवरण संकलन गरेर लगेको प्रदेशसभा सचिव पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*