तराई र पहाडलाई जोड्दै छठपर्व
हेटौंडा- हेटौंडामा छठपर्वको तयारी अन्तिम चरणमा पुगेको छ । तराई मधेश सहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठपर्वको धमाधम तयारी भएको हो ।हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्तीखोलाको तटमा छठपर्वका लागि नदीकिनार सिंगारिएको छ । संयुक्त मधेशी सेवा समाज नेपाल छठपूजा समारोह समितिका अनुसार नदीकिनारमा व्रतालु बस्न मिल्ने गरी टेन्ट निर्माण भइरहेको छ । पूजागर्ने ठाउँमा सरसफाई गर्ने, बगर सम्याउने काम गरिएको छ । हेटौंडा बजारक्षेत्रको राप्तीरोडदेखि राप्ती पुलसम्म झिलिमिली बत्ती, नदी छिर्न मूल गेट, सहायक गेट निर्माण गरिएको छ । तराईमा मात्रै मूलरुपमा मनाउँदै आएको यस पर्व हाल पहाडीक्षेत्रमा पनि भव्यरुपमा मनाउन थालिएको छ ।
मकवानपुरमा प्रत्येक वर्ष छठ मनाउनेको संख्या बढ्दै गएको छ । विशेषतः मधेशी समुदायले मनाउने छठपर्व मकवानपुरमा पहाडी समुदायले पनि मनाउन थालेका छन् । छठले मकवानपुरमा मधेशी र पहाडी समुदायबीचको सद्भाव र आपसी सम्बन्ध सुमधुर बन्दै गएको छ । यसवर्ष हेटौंडाको राप्तीतटमा ५० देखि ६० हजार भक्तजन आउने आयोजकको अनुमान छ । सामूहिकरुपमा पूजाका लागि २० फिट चौडा र ६५० फिट लम्बाइका ३५ वटा पण्डाल तयार भइरहेको संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिए ।
छठपर्वका लागि व्रतालुले आवश्यक सामग्रीको जोहो गर्न सुरु गरिसकेका छन् । कात्तिक ८ गतेबाट छठको पहिलो दिन व्रतालु खरना गर्दैछन् । दोस्रो दिन नहायखाय
गरिन्छ । तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन वर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिएर व्रत समाप्त हुने छठ पूजा समारोह २०८२ का संयोजक रविरंजनकुमार कलवारले जानकारी दिए । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व मनाउने प्रचलन छ ।
छठपर्व नेपाल र भारतका हिन्दू धर्मावलम्बीले मनाउने एक महत्वपूर्ण पर्व हो । सूर्य उपासनाको पर्व छठ ४ दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । नेपालको विशेषगरी तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यसपर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रुपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।
परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउकिनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । मानव सभ्यताको शुरुदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्निपुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा चैते छठपर्व मनाइन्छ ।
सूर्य उपासनासँग सम्बन्धित छठपर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइन्छ । व्रत बस्नेहरु स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खरना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा, भुसुवा, कसारसहित अर्घ दिन्छन् । व्रतालु भक्तजन राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्कन्छन् । तर, शुद्धााशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरु सजग हुन्छन् । शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीको विश्वास छ ।
त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छन् । षष्ठीको भोलिपल्ट ब्रह्ममुहूर्तमा मानिसहरु पूजासामग्री लिएर नदीकिनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ ।
छालासम्बन्धी रोग निदानका लागि, पुत्रप्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरु भक्तिमा लीन भएर नजिकैको पोखरी जलाशय कुण्डमा गई यसदिन छठपूजा गर्दछन् । छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाई जस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई विनाकुनै भेदभाद समान शक्ति, तापर किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।








