आज छठपर्वको मुख्य दिन, सूर्यपूजा गरी मनाइँदै
हेटौंडा-आज छठपर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठपर्वको विशेष रौनक छ । छठको अवसरमा संघीय सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।नेपालको तराई क्षेत्रमा मुख्यपर्वको रुपमा मनाइने छठपर्वको लोकप्रियता पछिल्ला वर्षमा पहाडीभेगमा पनि निकै बढेको छ । धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावलाई सुदृढ पार्ने माध्यम बनेको यो पर्व अब सबै समुदायको साझा उत्सवको रुपमा स्थापित भएको छ । मकवानपुरमा पनि विगत ३५ वर्षदेखि निरन्तररुपमा छठपर्व मनाइँदै आएको छ । यसवर्ष पनि हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्तीखोलाको किनारमा भव्य तयारी गरिएको छ । मकवानपुरमा प्रत्येक वर्ष छठ मनाउनेको संख्या बढ्दै गएको छ ।
विशेषतः मधेशी समुदायले मनाउने छठ पर्व मकवानपुरमा पहाडी समुदायले पनि मनाउन थालेका छन् । छठले मकवानपुरमा मधेशी र पहाडी समुदायबीचको सद्भाव र आपसी सम्बन्ध सुमधुर बन्दै गएको छ । यसवर्ष हेटौंडाको राप्तीतटमा करिव ६० हजार भक्तजन आउने आयोजकको अनुमान छ । सामूहिकरुपमा पूजाका लागि २० फिट चौडा र ६५० फिट लम्बाइका ३५ वटा पण्डाल तयार भइरहेको संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिए ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँचपाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्यपुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठव्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्बपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वाशाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्वसूर्यको आरधनाको फलस्वरुप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठपर्वमा व्रतगरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पाझुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यसपर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
छालासम्बन्धी रोग निदानका लागि, पुत्रप्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरु भक्तिमा लीन भएर नजिकैको पोखरी जलाशय कुण्डमा गई यसदिन छठपूजा गर्दछन् । छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईजस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।
यस्तो छ छठ पर्वको ब्रतविधि
कात्तिक शुक्लचतुर्थीका दिन स्नान गरी एकछाक खाएर बस्ने गरिन्छ । दोस्रोदिन कार्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठिमातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एकछाक फलाहार गरिन्छ ।यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठिका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ दिने विधिविधान छ । षष्ठिका दिन रातभर जागा बसी कात्तिक शुक्लसप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआरधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।
कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अर्घ दिएमा चर्मरोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । वि.सं. २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण
गरेको छ । वि.सं. २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ ।








