आज उदाउँदो सूर्यलाई अर्घ दिएर छठपर्व समापन गरिँंदै
हेटौंडा- श्रद्धा, भक्ति र शुद्धताको प्रतीक मानिने तराई–मधेशको महत्वपूर्ण पर्व छठ सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर श्रद्धापूर्वक मनाइएको छ । छठपर्वको मुख्यदिन सोमबार षष्ठीतिथिका दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा अनुसार व्रतालुहरु हेटौंडा–१ स्थित राप्तीकिनारमा निर्माण गरिएको छठघाटमा पुगी छठीमाताको पूजाआराधना गरेका हुन् । यस अवसरमा छठघाटलाई पण्डाल, बिजुली बत्ती, टेन्ट र झिलिमिली बत्तीले निकै आकर्षकरुपमा सजाइएको थियो । ब्रतालुहरु जलाशयमा पसी बाँसको चोयाबाट बनेको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अक्षता र पातसहितको मूलालगायत फलफूल तथा प्रसाद राखेर अर्घ दिने परम्परालाई निष्ठापूर्वक पालना गरेका थिए ।
पर्वको विधिवत् समापन भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि हुनेछ । भोलि सोमबार व्रतालुहरु झिसमिसेमै नुहाइधुवाई गरी पूजन सामग्रीसहित छठघाट पुग्नेछन् । विगतका वर्षहरुझैं यसवर्ष पनि संयुक्त मधेशी समाज मकवानपुरले छठपूजाको भव्य आयोजना गरेको छ । समाजका सचिव नन्दलाल दासका अनुसार, यसवर्ष करिब ६ सय ५० फिट लम्बाइ र २० फिट चौडाईको पण्डाल निर्माण गरिएको छ भने २५ वटा व्यावसायिक स्टल र बालबालिकाको लागि विशेष फन पार्कको व्यवस्था मिलाइएको छ ।
आयोजकले यसवर्ष करिब ६० हजार भक्तजन तथा अवलोकनकर्ताको भीड लाग्ने अनुमान गरेको थियो । रातभर जाग्राम बस्ने भक्तजन र सुरक्षाकर्मीहरुको सहजताका लागि आयोजकले निःशुल्क चियापानीको व्यवस्था गरेका छन् । यसवर्ष छठपूजाको कुल अनुमानित खर्च १२ लाख रुपैयाँ रहेको जानकारी दिँदै सचिव दासले हेटौंडा उपमहानगरपालिकाबाट ४ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त हुने र बाँकी खर्च चन्दा संकलन तथा भक्तजनले पूजास्थलमा चढाएको भेटीबाट जुटाइने बताएका छन् । छठपर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
छठको मुख्यदिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुनेछ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँचपाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरेका थिए । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठव्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्बपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरुप रोगमुक्त हुन गएको भन्ने चर्चा छ ।
छठपर्वमा व्रतगरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पाझुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यसपर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा वा चन्दा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । छालासम्बन्धी रोग निदानका लागि, पुत्रप्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरु भक्तिमा लीन भएर नजिकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् ।
छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईजस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।







