थाहामा बसपार्क तयार, कार्तिक १९ देखि सञ्चालन

साझाकुरा
२०८२ कार्तिक १४, बिहीबार ११:१४

हेटौंडा- स्थानीय युवाको निरन्तर दबाव र सक्रिय पहलपछि थाहा नगरपालिका–४ नार्खुढाँडमा थाहा बसपार्क संचालनमा आउने भएको छ । दामनपालुङ उपत्यकाको बीचभागबाट मुलुककै जेठो राजपथ संचालनमा आएको ७ दसक बितिसक्दा पनि बसपार्क निर्माण हुन सकेको थिएन ।थाहा–४ किटेनीका युवाले निरन्तर दवाव दिँदै आएका कारण थाहा नगरपालिकाले बसपार्क संचालनका लागि आवश्यक तयारी तीव्र पारेको हो । बुद्धचोक थानाबजार बजार व्यवस्थापन समितिका सचिव ज्ञानेन्द्र अधिकारीका अनुसार बसपार्कमा बिजुली जडान, खानेपानी, शौचालय र यात्रु बस्ने कुर्सी लगायत आधारभूत पूर्वाधारको व्यवस्था भइसकेको छ । उनका अनुसार कार्तिक १९ गतेदेखि बसपार्कबाट यात्रुबाहक बस, सुमो, इभीलगायत सवारीसाधन छुट्ने गरी तयारी पूरा भइसकेको छ ।

यसअघि कार्तिक ७ गते स्थानीयले सांकेतिक विरोध प्रदर्शन गरेका थिए । त्यसपश्चात् ८ कार्तिकमा स्थानीय युवा, थाहा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षलगायतको टिमबीचको छलफलपछि बसपार्क संचालन गर्ने सहमति भएको हो । निर्माणाधीन बसपार्कको काउन्टरमा ग्रील तथा यात्रु प्रतीक्षालय, बस्ने टेबल निर्माण गर्न नगरप्रमुख विष्णुबहादुर विष्टले निर्देशन दिएका छन् । त्यस्तै बसपार्क तत्काल सञ्चालन हुनेगरी आधारभूत आवश्यकताको लागि बिजुली जडान र खानेपानीसहित शौचालय, सफाइ कार्य थाल्ने गरी प्रक्रिया अघि बढाइएको छ ।

स्थानीयसँगको छलफलमा नगरप्रमुख बिष्ट, उपप्रमुख भरत गोपाली र बसपार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर ४ का अध्यक्ष नारायण लामा सहभागी थिए । छलफलपश्चात् प्रतिक्रिया दिंदै अध्यक्ष लामाले भने–‘अबको केहीदिनमा बसपार्कबाटै यात्रुबाहक बस, सुमो तथा इभीलगायत सवारीसाधन छुट्नेछन्, हामी पानी, बिजुली तथा अन्य आधारभूत कुरा व्यवस्थापन गर्दैछौं ।’ वि.सं. २०७८ सालको १३ चैत्रमा बसपार्क सञ्चालनका लागि स्थानीयले तत्कालीन नगरप्रमुख लवशेर विष्टलाई ध्यानाकर्षण गराएका थिए । टोलीलाई जवाफ दिदै तत्कालीन नगरप्रमुखले बसपार्क सञ्चालनमा ल्याउने जनाएका थिए ।

थाहा–४ थानाबजारको नार्खुढाँडमा वि.सं. २०७५ सालदेखि निर्माण सुरु गरेको थियो । हाल बसपार्कसम्म पुग्ने सडक पक्की ढलान निर्माण भएको छ । टिकट काउन्टर, शौचालय निर्माण भइसकेको छ । बसपार्क सञ्चाल भएपछि हाल शिखरकोटमा रहेको टिकट काउण्टर वरपरको सवारी भीडभाड व्यवस्थापन हुने अपेक्षा गरिएको छ । यसअघि पनि वि.सं. २०८० वैशाख १८ गते स्थानीयले बसपार्क सञ्चालनका लागि नगरपालिकालाई दबाव दिएका थिए । उनीहरुले दबाव स्वरुप स्वस्फुर्तरुपमै थाहा बसपार्क व्यवस्थापन समिति गठन गरेका थिए ।

स्थानीय रामराजा केसीको अध्यक्षतााम सञ्चालक समिति गठन गरेर बसपार्क सञ्चालनका लागि उनीहरुले दबाव दिएका थिए । स्थानीयले थाहानगरको गौरवको आयोजना बसपार्कमा बनेको संरचना संरक्षण नहुँदा भत्किइसकेको तथा बसपार्क संचालन गर्न आवश्यक संरचना तयार हुँदा समेत बसपार्क संचालनमा नगरपालिकाको ध्यानाकर्षण नभएको भन्दै बसपार्क संरक्षण र संचालनको निम्ति व्यवस्थापन समिति गठन गरेर दबाव दिएका थिए । नाखूंढाँडमा पहिलोपटक वि.सं. २०७४ मा निर्वाचित जनप्रतिनिधिले विधिवत रुपमा २०७५ मंसिर ९ गतेबाट बसपार्क निर्माण प्रक्रिया अघि बढाएका हुन् । वि.सं. २०७४ मा निर्वाचित भएपछि प्रतिनिधिले यस योजनालाई नगरकै गौरबको योजनाको रुपमा अघि बढाएका थिए ।

थानाबजारनजिकै रहेको ४८ रोपनी क्षेत्रफलमा बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइको थियो । बसपार्क निर्माणका थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा ३० लाख, मकवानपुर प्रतिनिधिसभा–२ का तत्कालीन सांसद विरोध खतिवडा मार्फत संचालन हुने स्थानीय पूर्वाधार साझेदार कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँ विनियोजन गरेर बसपार्कको निर्माण प्रारम्भ गरिएको थियो । थाहा बसपार्क निर्माण थालिएको ५ वर्षपछि शिलान्यास भयो । थाहा बसपार्कमा आधुनिक टर्मिनल भवनको जग पूजा गरेर वि.सं. २०८० कार्तिक २० गते थाहा नगरपालिका उपप्रमुख भरत गोपालीले शिलान्यास गरेका थिए ।

पहिलोचरणको कार्यक्रममा साढे सात करोडको लगानीमा टर्मिनल भवन, बगैंचा, रेष्टुरेन्ट, सपिङ स्टल, अपा·मैत्री शौचालय, सवारीचालकलाई आराम गर्ने कक्ष, ग्यारेज, प्रहरी बिट पक्की सडक, सडकबत्ती सहितका संरचना निर्माण गर्ने गरी ठेक्का भएको योजनाको शिलान्यास भएको थियो । सि एण्ड ब्रदर्स कन्स्ट्रक्शनले ठेक्का पाएको थियो ।नेपाल सरकार सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना चितवनको एकीकृत सहरी पूर्वाधार विकास अन्तर्गत ७ करोड २१ लाख लागत रहेको यो कार्य २०८१ भदौ २० गते सम्पन्न गरिसक्नुपर्ने गरी २०७९ चैत २१ गते सम्झौता भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*