अवैधरुपमा ढुवानीको आशंकामा २५ गोरु नियन्त्रण

गौशाला अभावका कारण गढीका किसानलाई पालनपोषणको जिम्मा
साझाकुरा
२०८२ कार्तिक १५, शुक्रबार ११:०५

हेटौंडा- जिल्ला पशुसेवा कार्यालय मकवानपुरले अवैधरुपमा ढुवानी गरिएको आशंकामा २५ वटा गोरु सहितको ट्रक नियन्त्रणमा लिएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत् तनहुँबाट झापा जाँदै गरेको प्रदेश २०–३००१ ख ०७०७ नम्बरको ट्रकलाई नेवारपानीबाट नियन्त्रणमा लिइएको हो । पशुसेवा कार्यालयका टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले जाँच गर्ने क्रममा ट्रकमा अवैधरुपमा गोरु ढुवानी भइरहेको फेला पारेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.ब्रजकिशोर ठाकुरले जानकारी दिएका छन् । गोरु ढुवानीका लागि आवश्यक कागजात नदेखिएको र पशु ढुवानी मापदण्ड २०६४ विपरीत ओसारिएको पाइएपछि २५ वटा गोरु नियन्त्रणमा लिइएको उनले बताए । ट्रकचालक रौतहट चन्द्रनिगहपुर–२ का मिलन केसीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाही अगाडि बढाएको छ ।

नियन्त्रणमा लिइएका गोरु राख्ने गौशालाको अभावका कारण मकवानपुरगढी–५ का स्थानीय किसानलाई पालन–पोषणको जिम्मा दिइएको प्रमुख ठाकुरले बताए । कार्यालयले हालसम्म पशु ढुवानी मापदण्ड विपरीत ओसार–पसारगरिएका दुईसय भन्दा बढी गाईगोरु नियन्त्रणमा लिएर स्थानीय कृषकलाई जिम्मा लगाएको छ । अवैध ओसारपसारमा संलग्न १२ जनामाथि कारबाही गरिएको छ । प्रमुख ठाकुरले गाईगोरु तस्करीका घटनामा विभिन्न राजनीतिक दलका पदाधिकारीदेखि उच्चपदस्थ कर्मचारीसम्मको संलग्नता रहेको आरोप लगाएका छन् । पश्चिमबाट ल्याइएको गाईगोरु काकडभिट्टा हुँदै बंगलादेशतर्फ तस्करी हुने गरेको छ ।

आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिकपशुसेवा कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै यो अवधिमा सम्पन्न भएका कार्यको विस्तृत जानकारी दिएका हुन् । उनका अनुसार कार्यालयले गत आर्थिक वर्षमा प्रशासनिक सेवा शुल्क, दण्ड–जरिवाना, जफत र बेरुजु असुलीमार्फत् कुल तीन लाख तीन हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षमा कार्यालयबाट १ हजार ४ सय २ वटा गाई, २ हजार ३ सय ३ वटा कुकुर र बिरालो, ४ सय ९५ वटा कुखुरा, २ हजार ६ सय २३ वटा बाख्रा र १२ वटा बंगुरलाई डिस्पेन्सरी सेवा प्रदान गरिएको थियो । ५० जना किसानका गाईवस्तुलाई उपचारका लागि भेटनरी अस्पतालसम्म ल्याउनका लागि सेवा प्रदान गरिएको र त्यसबापत कार्यालयले तेल खर्च सहित आउजाउ गरी ६ सय रुपैयाँ एम्बुलेन्स भाडा लिने गरेको जानकारी दिए ।

गतवर्ष मकवानपुरमा ४९ वटा पशुमा सर्जिकल सेवा प्रदान गरिएको छ । प्रयोगशालामा कुल ४ हजार ५ सय ५३ परीक्षण भएका छन्, जसअन्तर्गत ब्याक्टेरियल कल्चर ३ सय १७, आरडीटी ४१, रगत परीक्षण ५४, थनेलो परीक्षण १ सय ८१ र गोबर परीक्षण ३ हजार ९ सय ६० वटा भएको छ । संक्रामक रोगविरुद्ध कार्यालयले ४३ लाख ७ सय डोज खोप लगाएको छ । तीमध्ये पीपीआर तीन लाख डोज, एचएस–बीक्यू ८ हजार, लम्पी स्किन रोगविरुद्ध १५ हजार ९ सय डोज, स्वाइन फिभर ८ हजार डोज र रेबिजका ८ सय खोप लगाइएका छन् । कार्यालयले तीन सय किसानलाई टियोसिन्टी र एक हजार किसानलाई जै घाँस वितरण गरेको छ ।

सामुदायिकस्तरमा आधारित पशुपालन कार्यक्रम अन्तर्गत ९४ वटा गाई र एउटा भैंसी खरिद गरिएको, ६५ वटा गाईगोठ सुधार, १० वटा बाख्राको खोर र १५ वटा खरायोको खोर निर्माण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका तथ्यांक अनुसार मकवानपुर जिल्लामा हाल ९० हजार ६ सय ६१ वटा गाईगोरु, ३५ हजार ७ सय ८१ वटा राँगा–भैंसी र ४ लाख ३८ हजार वटा बाख्रा रहेका छन् । गत आर्थिक वर्षमा कार्यालयले उपलब्ध बजेटको ८५ दशमलव ४१ प्रतिशत खर्च गरेको प्रमुख ठाकुरले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*