सभामुख चयनमा सत्तारुढ दलभित्रै असहमति, प्रदेशसभा बैठक अन्यौल
 हेटौंडा- बागमती प्रदेशमा सभामुख चयन प्रक्रियामा सत्तारुढ दलभित्र सहमति जुट्न नसक्दा प्रदेशसभा बैठक सञ्चालन अन्योलमा परेको छ । प्रदेश सरकारले कात्तिक महिनाको अन्त्यमा प्रदेशसभा सञ्चालन गर्ने तयारी गरेपनि सभामुख चयन प्रक्रियाको विषयमा सत्तारुढ दलभित्र सहमति नजुटेका कारण प्रदेशसभा सञ्चालन अन्योलमा परेको हो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलगत्तै सभामुख भुवनकुमार पाठकलेराजीनामा दिएपछि हाल यो पदरिक्त छ । संविधानतः अब बस्ने प्रदेशसभा बैठकमा उपसभामुख अप्सरा चापागाईँले सभामुख पाठकको राजीनामापत्र पढेर सुनाउनुपर्ने हुन्छ । पत्र पढेर सुनाएको १५ दिनभित्र सभामुख चयन प्रक्रिया पूरा भइसक्नुपर्ने हुन्छ ।
हाल सदनको सबैभन्दा ठुलो दल र सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी रहेको छ । जसको कारण सभामुखको विषयमा सत्तारुढ एमालेसँग सभामुखको विषयमा सहमति भएको छैन । त्यही कारण प्रदेशसभा बैठकको मिति तय नभएको बताइएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक लम्बिएको र बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ सहभागी हुनुपर्ने भएकाले प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री बानियाँले पार्टीको केन्द्रीय समितिको बैठकपश्चात् मात्र प्रदेशसभाको बैठक बोलाउने बताएकाले बैठकको मिति तय हुन नसकेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् ।
प्रदेशसभाको बैठकका लागि उपसभामुख चापागाईंले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग परामर्श गरिरहेको र परामर्शपश्चात् प्रदेशसभाको बैठकको मिति तय हुने सचिव पौडेलले बताए । सम्भवतः कात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढ्ेको उनले बताए । मुख्यमन्त्री बानियाँले बैठकको लागि सभाकक्ष मर्मतकार्य अन्तिमचरणमा पुगेको र काँग्रेस केन्द्रीय समितिको बैठकपश्चात् प्रदेशसभाको बैठक तय हुनेबताए । ‘बैठक बस्नका लागि सभाहल मर्मत अन्तिमचरणमा पुगेको छ । कात्तिकको अन्तिमसम्ममा बैठकको बोलाउने छौँ’, मुख्यमन्त्री बानियाँले भने ।
सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभाको बैठक कात्तिकको २४÷२५ गतेभित्रमा बस्ने गरी तयारी भइरहेको बताए । ‘बैठक बसेको १५ दिनभित्रमा सभामुख चयन प्रक्रिया सम्पन्न गर्ने गरी बस्नेछौँ । त्यसका लागि सरकारले आन्तरिक तयारी गरिरहेको छ’, उनले भने । नेपाली कांग्रेस संसदीय दलको यसअघिको बैठकले सभामुखमा दाबी गर्ने निर्णय गरिसकेको छ । उपसभामुख र प्रदेशप्रमुख नेकपा एमालेको भागमा रहेका कारण सभामुख दाबी कमजोर हुने बुझिएको छ । सदनको तेस्रो दल माओवादी केन्द्रले भने सहमतिमा सभामुख चयन गर्नुपर्ने बताउँदै आइरहेको छ ।
बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेशसभा बैठक तत्काल नबोलाए संघर्षमा उत्रिने चेतावनी दिएको छ । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुखसचेतक रत्नप्रसाद ढकालले सत्ता गठबन्धनभित्रकै अविश्वास र आन्तरिक कलहका कारण प्रदेशसभा बैठक बस्न नसकेको आरोप लगाए ।उनका अनुसार सरकार सभामुख र बजेट कार्यान्वयनजस्ता महत्वपूर्ण विषयमा अल्झिएकाले परिणामस्वरुप सदनलाई बन्धक बनाइएको हो । सत्ता गठबन्धन भित्रको यही विश्वासको संकटले गर्दा प्रदेशको कामकारबाही ठप्प भएको उनको दाबी छ ।
प्रदेशसभाको सभामुख पद माओवादी केन्द्रले पाउनुपर्ने ढकालको दाबी छ । सत्ता गठबन्धनले सभामुख पद प्रमुख प्रतिपक्षीलाई दिएर राजनीतिक सन्तुलन कायम गर्नुपर्ने उनले बताए । अहिलेको परिवर्तित सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुबीच एकता आवश्यक रहेकाले पनि सभामुख पद माओवादी केन्द्रले पाउनु पर्ने उनले बताए । ‘सबैभन्दा ठुलो दल कांग्रेसको मुख्यमन्त्री छ । दोस्रो ठुलो दल एमालेको उपसभामुख छ । अब प्रमुख प्रतिपक्षी दललाई सभामुख दिँदा शक्तिसन्तुलन पनि हुन्छ,’ उनले भने ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण प्रदेशसभाको हेटौंडा–१० स्थित टिसिएनमा रहेको पुरानो र नवनिर्मित सभाहल पूर्णरुपमा जलेर नष्ट भएका छन् । जसका कारण प्रदेशसभाको बैठक राख्न ढिलाइ भइरहेको छ ।प्रदेश सरकारले हेटौंडा–२ स्थित हेटौंडा उपमहानगरपालिकाको कार्यालय पछाडि रहेको सभाहलमा बैठक राख्ने तयारी गरिरहेको छ । यो भवनसमेत जेनजी आन्दोलनको क्रममा आगजनी गरिएको थियो । हेटौंडा उपमहानगरपालिकासँगको सहमतिमा हाल यो भवन मर्मतकार्य अगाडि बढिरहेको छ । केही दिनभित्रमा हल बैठक बस्नका लागि उपयुक्त गरी पुनर्निर्माण गरिने बताइएको छ ।
संसद् बैठक सञ्चालनका लागि आवश्यक कुर्सी, साउन्ड सिस्टमदेखि प्रत्यक्ष प्रसारणका उपकरणसम्मका सामग्री तत्कालका लागि भाडामा लिएर भए पनि बैठक सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।







